नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत काठमाडौंमा सुरु पुरुष क्रिकेट प्रतियोगितामा एनआरएनए एकेडेमीले विजयी सुरुवात गरेको छ।
बिहीबार भएको खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो। वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ६ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि खडक बोहोराले बनाएको १२ रन नै सर्वाधिक रह्यो। कप्तान राजु रिजालले ११ र वसन्त खत्रीले १० रन थपे।
एनआरएनएका आशिष पोखरेल र दिपक क्षत्रीले समान ३ विकेट झारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ७४ रनको योगफल तयार पारेको थियो।
खेलको प्लेयर अफ दि म्याच बनेका सागर पुन ४६ रनमा नटआउट रहे। पुनले १९ बलमा ३ चौका र ३ छक्का हाने। कप्तान सुनम गौतमले २४ रन थपे।
११ बलको सामना गरेका गौतमले ३ चौका र १ छक्का हाने। दिपक क्षत्री २ रनमा नटआउट हुँदा अन्य तिन खेलाडीले खाता खोल्न सकेनन्।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान २ विकेट लिए।
Shares
प्रतिक्रिया