नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन आजको मितिले ठ्याक्कै एक महिना बाँकी छ।
राष्ट्रिय गौरवको प्रतियोगिता मानिने नवौँका लागि केही खेलका खेलाडी बन्द प्रशिक्षणमा व्यस्त हुँदा फेन्सिङका खेलका लागि भने संघले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेको छ।
कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागेका हुन्।
शाहीले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्- नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ। गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालेँ। खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्फिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ, हिसाब पारदर्शी हुने बाचा गर्दछु। गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ।
नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट २४ जना खेलाडीहरु छानिएका छन्। नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने तालिका छ। नवौं राष्ट्रिय खेलकुदका लागि सरकारले भने ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
Shares
प्रतिक्रिया