साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले आज साविक विजेता भारतको सामना गर्दै छ।
घरेलु मैदानमा हुने खेल साँझ साढे ५ बजे हुनेछ। यसअघि सन् २०१६ मा भएको हारको बदला लिने योजनामा हुनेछ।
साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।
सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो। तत्कालीन समयमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नै थिए।
यही हिसाबमा पनि नेपालको लागि इतिहास बनाउने मौका छ। नेपालका लागि आजको खेल एक अवसरका रुपमा पनि रहेको छ। राष्ट्रिय टोली र प्रशिक्षक कुमार थापा नयाँ इतिहास बनाउने योजनामा रहँदा बलियो भारत पुनः नेपालका लागि तगारो बन्ने डर पनि नेपाली टोली सामु छ। तर घरेलु मैदानको फाईदा उठाउँदै नेपाल भारतलाई हारको स्वाद चखाउन आतुर छ।
नेपाल समूह बीको विजेताका रुपमा अन्तिम ४ मा पुगेको हो। उता भारत भने बंगालदेशसँग पराजित हुँदै समूह ए को उपविजेताका रुपमा नेपालसँगको भेट पक्का गरेको थियो।
आजै हुने पहिलो सेमिफाइनल खेलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदै छ। पछिल्लो समय बलियो बनेको बंगलादेशलाई उपाधि दाबदारका रुपमा समेत हेरिएको छ।
समूह चरणमा भारतलाई हराएको बंगलादेश उच्च मनोबलमा छ। उता साफ इतिहासमा नै पहिलोपटक सेमिफाइनल पुगेको भुटान पनि उत्साहित छ। यो खेल दिउँसो १ बजे हुनेछ।
Shares
प्रतिक्रिया