सन्तोषी श्रेष्ठ कक्षा ६ मा पढ्थिन्। उनले पढ्ने गीतामाता मावी, स्वयम्भूमा दौड प्रतियोगिता हुने भो। अरु केटी साथीसहित उनी पनि प्रतिस्पर्धामा भाग लिने भइन्।
उनीहरुले सहभागिताका लागि नाम लेखाए। तर ती विद्यार्थीहरुले पछि थाह पाए कि जुत्ता नलगाई त दौड्न नपाइने नियम रहेछ। उनीहरुसँग जुत्ता थिएन। पछि उनीसहित केहि साथिहरुले प्रतिस्पर्धीहरुको सूचीबाट आफ्नो नामै कटाउने निधो गरे।
उनी नाम कटाउन जाँदा त्यसअघि नै धेरैले नाम कटाइसकेका रहेछन्।
अन्तिममा १० जना मात्र दौड्न तयार भएपछि शिक्षकले झनै कडा अर्को नियम बनाए। ‘सरले नाम कटाउनेहरुले २ सय रुपैयाँ जरिवाना दिनुपर्छ भन्नुभयो,’ उनले ६२ सालको घट्ना सम्झिन्। अब २ सय रुपैयाँ दिनुभन्दा त दौड्नुपर्छ भनेर सन्तोषीले फेरि अरु साथीहरुलाई समेत उक्साइन्।
घरमा २ सय रुपैयाँ माग्ने स्थिती थिएन। ६ कक्षामा पढ्ने ती कलिला केटीहरुलाई दौड्ने रहर पनि मरेको थिएन। शिक्षकहरुलाई पनि धेरै प्रतिस्पर्धी चाहिएको थियो।
मध्यमार्गी उपाय निस्क्योः चप्पल लगाएर दौड्न पाउने।
‘दशैमा मलाई किनिदिएको नयाँ चप्पल लगाएर १५ सय मिटर दौडिएँ र जितेँ पनि,’ उनको जीवनकै ‘टर्निङ प्वाइन्ट’ बनेको त्यो घट्नाबारे उनले नेपालखबरसँग भनिन्। ‘जितपछि मैले भाईलाई र भाईले मलाई हेरिरह्यौं किनकी यो हामीले सोचेकै थिएनौँ।’
आफ्नै क्षमता थाह पहिचान
त्यतिबेला शिक्षकहरुले त्यो नियम बनाएकै कारण आफू दौडेको र कलिलै अवस्थादेखि नै आफ्नो क्षमताबारे आफूलाई थाह भएको बताइन्। त्यसलाई निरन्तरता दिँदा अहिले मुलुककै लागि ऐतिहासिक पदक जित्न सफल भएको बताइन्।
‘विपिन सर र धिरज सरले तिमीहरु नदौड्ने भए २ सय रुपैयाँ तिर्नुपर्छ भनेर नभनेको भए सायद म दौड्ने थिईन होला र मेरो क्षमताको बारेमा मलाई नै त्यसरी बेलैमा थाह हुँदैन थियो,’ उनको जीवनकाे बाटाे नै दौडतर्फ मोडिएको सो प्रसंगबारे भनिन्।
उनै सन्तोषी हालै सम्पन्न १३औं दक्षिण एसियाली खेल (साग) प्रतियोगितामा एथलेटिक्सतर्फ नेपालका लागि स्वर्ण जित्ने पहिलो महिलाको रुपमा इतिहास लेखेकी छिन्।
सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण मात्र जितिनन्, नेपालको ईतिहासमै अन्तर्राष्ट्रिय स्वर्ण जित्ने पहिलो महिला धाविका समेत बनिन्।
‘मलाई दौड्न पर्छ भन्ने मात्र थियो। दौडिएँ र जितेँ पनि,’ उनले भनिन्।
सागमा स्वर्ण जितेपछि उनलाई लाग्यो, कुनैपनि व्यक्तिको क्षमताबारे सबैभन्दा पहिले आफैँलाई थाह हुनुपर्छ। ‘स्कुल होस् वा पसल जाँदा जहिले कुदेरै जाने गर्थें । हजुर आमाले यो छिटो आउँछे भन्नुहुन्थ्यो। म झन् फुर्केर दौडेरै छिटो पुग्ने गर्थे,’ उनले बाल्यकालमा आफूले थाहै नपाई दौडमा लत बसेको बारे स्मरण गरिन्। ‘सायद त्यो नै मेरो प्रारम्भिक प्रशिक्षण भयो। अहिले त दौडमैं पुरै तल्लिन छु।’
दौडले आफूलाई यो दूरी र उचाईसम्म पुर्याउला भन्ने चाहिँ उनले नसोचेको बताइन्।
धादिङमा जन्मेर काठमाडौंमा हुर्केकी सन्तोषीको ६ कक्षादेखि दौडमा प्रारम्भिक रुची जागेको हो। उनले ठूला प्रतिस्पर्धामा भाग लिन थालेको भने ९ वर्ष भयो।
२०७५ मा नेपालगञ्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार मिटरमा स्वर्ण, १० हजार मिटरमा कास्य, १५ सयमा रजत जितेर आफूलाई राष्ट्रियस्तरमा अब्बल स्थापित गरेकी सन्तोषीले सागमा नै स्वर्ण जितेर नयाँ इतिहास रचेकी हुन्।
स्वर्ण जित्दाको फिल्मी क्षण
सागमा स्वर्ण जितेपछिको समय उनी आफैँलाई कुनै फिल्मीकथा जस्तो लागेको छ।
‘मैले फिल्ममा सेलिब्रेटीलाई बाटो छेकेको मात्र देख्थेँ। स्कटिङ गरेर बाटो छेकेर लान्थे। साग जित्नासाथ मलाई त्यस्तै लाग्यो। आँखा अगाडी क्यामरा नै क्यामरा छन्। विश्वास नै गर्नै गार्हाे। आफैंलाई सामान्य अवस्थामा फर्काउन गार्हाे,’ उनले स्वर्ण जितेपछिको क्षण सम्झिन्। ‘जुन सपना मैले सोचिरहेको हुन्थेँ त्यो सपना आज आएर पुरा भएको छ। अहिले आफ्नै वास्तविक जीवन फिल्म जस्तो लागिरहेको छ।’
उनले कमाईको स्रोतको रुपमा ट्युसन पढाउँथिन तर उनका दाजुले दौडमैं प्रोत्साहित गर्नका लागि ट्युसन पढाउने कामबाट छुटाए। ‘त्यसपछि म दौडमा एकचित्त भएर लागेँ,’ उनले भनिन्। ‘सफल खेलाडी बन्नको लागि आर्थिक रुपमा सम्पन्न हुनुपर्छ नै भन्ने छैन। मेहनत गर्याे भने अभावबीच पनि सफल हुन सकिन्छ।’
सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषीले ५ हजार मिटरमा भने उनले सोचे जस्तो गर्न सकिनन्।
‘पहिलो दौडमा म जसरी दौडिएँ त्यसरि अर्कोमा सकिन। दोस्रो दौडका लागि पर्याप्त आराम गर्न पनि पाइएन। म भन्दा श्रीलंका र भारतका खेलाडीहरु शारिरिक रुपमा धेरै बलिया थिए। मैले उनीहरुलाई पछी पार्न प्रयास गरेँ तर सकिन,’ उनले भनिन्।
प्रशिक्षकका नजरमा सन्तोषी
उनलाई प्रशिक्षण दिइरहेका रघुराज वन्तले सन्तोषीलाई ५ वर्षअघि नेपालको सम्भावित एथ्लेटिक्स स्टारको रुपमा पहिचान गरेका हुन्। ‘५ वर्षअघि जब मैले सन्तोषीलाई नोटिस गरेँ त्यतिबेला उनले दौडमा केहि गर्न सक्छिन् भन्ने सोचेको थिएँ। त्यो अहिले उनले पुरा गरिन्,’ प्रशिक्षक वन्तले भने।
वन्तले उनको पढाई समेत नबिगारी बीचबीचमा मात्र प्रतियोगितामा सहभागी हुन लगाउँने गरेका थिए। ‘काठमाडौको यो उचाईमा दौडनु गाह्रो काम हो। त्यसमा पनि ऐतिहासिक स्वर्ण नै हासिल गर्नु ठूलो उपलब्धी हासिल भएको छ,’ वन्तले भने।
Shares
प्रतिक्रिया