ad ad

खेल


नेपाल टी२० लिग : स्पट फिक्सिङ प्रकरणबाट पन्छिन सक्दैन क्यान

अध्यक्ष चन्दको तर्क : हामीले सुरुबाटै रोक्ने प्रयास गरेका थियौँ
नेपाल टी२० लिग : स्पट फिक्सिङ प्रकरणबाट पन्छिन सक्दैन क्यान

नेपाल टी२० लिगअघिको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चन्द र भारतीय कम्पनीका प्रतिनिधि। तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
माघ ११, २०७९ बुधबार १८:४५, काठमाडौँ

नेपाल टी२० लिग सुरु भएलगत्तै म्याच फिक्सिङ र स्पट फिक्सिङको विवाद आएको थियो। लिगका कमेन्टेटरमध्ये एक सचिन तिमल्सिनाले लिगमा स्पट फिक्सिङको शंका लागेको खुलाएका थिए। 

त्यसपछि उनले नेपाल टी२० लिगबाट अलग भएको घोषणा गरे। उनको घोषणापछि सम्भावित फिक्सिङले सञ्चारमाध्यम तताएको थियो। 

तर घरेलु क्रिकेटको कार्यकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) यो विवाद ढाकछोपमा लाग्यो। ‘क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैल्याइएका अनेक भ्रामक तथा मिथ्या सूचनाका विषयमा ध्यानाकर्षण भएको छ,’ क्यानले निकालेर भनेको थियो।

तर अहिले त्यही क्यानका अध्यक्ष चतुरबहादुर चन्दको बोली फेरिएको छ। लिगमा म्याच वा स्पट फिक्सिङ नभएको दाबी गरेका उनी यतिबेला उल्टै प्रश्न गर्छन्, ‘क्यान फिक्सिङमा संलग्न छ?’ 

चन्दले यसबारेमा विभिन्न पक्षले अनुसन्धान गरिरहेको बताए।

‘क्यानले रिपोर्ट हैर्दैछ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्दैछ, त्यही रिपोर्टको आधारमा कारवाही गर्ने हो। जुन दिन हामीले भनेका थियौँ, त्यसअघि पनि शंकाको घेराका धेरै मान्छेलाई हटाइएको थियो। खेलबीच त्यस्तो कुरा आउँदा प्रतियोगिता भाँडिने चिन्ता थियो’, उनले भने, ‘त्यहीबेलादेखि आइसीसी, एन्टी करप्सन युनिट र सीआइबीले हेरिरहेका थिए। हामीले शंका भए गोप्य रुपमा क्यान, एसियुमा रिपोर्ट गरिदिनु भन्ने हो। हामीसँग नोटेट थिएन, एसीयुले रिपोर्ट दिएको थिए। सीआईबीको अनुसन्धानले फिक्सिङ पुष्टि भएको छ। सीआईबीले आरोपित बनाएकाहरु दोषी करार हुनेबित्तिकै कारवाही हुन्छ।’

सरकारले फिक्सिङको कुरा सार्वजनिक भएपछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो। 

सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै लिगमा ४ नेपालीसहित १० जना सलंग्न भएको दाबी गरेको छ। लिग खेलेका मोहम्मद आदिल आलम स्पट फिक्सिङमा संलग्न भएको सीआईबीले अनुसन्धानमा खुलेको बताएको छ। 

पूर्व क्रिकेटर मेहबुब आलमले स्पट फिक्सिङका लागि प्रस्ताव गरेको सीआईबीले जनाएको छ। मेहबुबले फिक्सिङ प्रस्ताव गरे पनि अन्य ३ खेलाडीले अस्वीकार गरेको पनि सीआईबीको भनाइ छ। नेपालमा सट्टेबाजीलाई गैरकानुनी मानिए पनि लिगको मुख्य प्रायोजक भारतको बेटिङ कम्पनी नै थियो। 

क्यान आयोजक रहेको पहिलो लिग नै विवादमा परेपछि घरेलु क्रिकेट फेरि संकटमा पर्ने चिन्ता बढेको छ। फिक्सिङमा राष्ट्रिय टोलीका वर्तमान र पूर्व खेलाडीको संलग्नता रहेको भन्दै पक्राउ नै परेपछि क्यानमाथि नैतिक प्रश्न खडा भएको छ। 

देशमा एउटा मात्रै लिग हुनुपर्छ भन्ने तर्कका साथ विगतका ३ फेन्चाइज लिगलाई क्यानले रोकेको त्यसपछि भारतीय कम्पनीसँग मिलेर यो लिग क्यान आफैँले आयोजना गरेको थियो। यो प्रतियोगिता गर्न क्यानले बिनाटेण्डर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग स्ट्रयाटिजिक र कर्मसियल पार्टनरको सम्झौता गरेको छ। 

त्यसमा ८ वर्षका लागि ३३ करोड रुपैयाँको सम्झौता छ। तर यो सम्झौता सुरुवातबाटै विवादमा परेको थियो। अहिले भारतीय कम्पनीका मालिकको संलग्नतामै फिक्सिङ भएको खुलेपछि क्यानको सम्झौतामाथि प्रश्न उठेको हो। विवादबीच सम्झौताबारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले अलग्गै समिति बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग भइरहँदा फिक्सिङको कुरा आएपछि सेभेन थ्री स्पोर्टस्का मालिक जतिन आलुवालिया सम्पर्कविहीन भएका थिए। लिगमा सहभागी ६ मध्ये अधिकांश टोलीले खेलाडीलाई पारिश्रमिक नदिएको र स्पट÷म्याच फिक्सिङको चर्चा हुँदा भारतीय कम्पनीका मालिक भागेको कुरामा क्यानका पदाधिकारी नै बचाउमा उत्रिएकाका थिए। 

प्रतियोगिता घोषणाका क्रममा क्यान र भारतीय कम्पनीका अधिकारी। तस्बिर : सरोज नेपाल/नेपालखबर

नेपालखबरको प्रश्नमा क्यान अध्यक्ष चन्दले भनेका थिए, ‘सीआईबी र आइसीसीबारे क्यान जानकार छ। मलाई लाग्छ पेरिमिटरभित्र गम्भीर घटना भएको छैन। जिम्मेवार मिडियाहरुले अनुमानका भरमा लेखिदिनुभयो, तपाईहरुसँग कुनै प्रमाण छ भने क्यान र आइसियुलाई भन्न सक्नुहुन्छ।’ 

चन्दले त्यतिबेला यसअघि आयोजना गरेकासाढे ४ सयभन्दा बढी एक दिवसीय र टी २० लिगमा पनि फिक्सिङ नभएको भन्दै अहिले नि त्यस्तो नहुने जिकिर गरेका थिए। 

चन्दले लिग सुरु हुनुअघि पनि त्यस्तो कुनै विवादको विषय नभएको दाबी गरेका थिए।  ‘सीआईबीलाई सहयोग गरिरहेका छौँ। त्यसैले अन्दाजको भरमा स्पट फिक्सिङ र म्याच फिक्सिङ भन्नु लिगलाई बदनाम गराउनु हो’, उनले भनेका थिए, ‘म्याच फिक्सिङ हुन्छ भनेर १५ दिन अगाडि कसरी थाहा पाउनुहुन्छ? तपाईं फिक्सर हो? 

फिक्सिङको नभएको दाबी गर्ने चन्दको बोली अहिले फेरिएको छ। ‘लिगमा फिक्सिङको स्थिति आउन नदिन हामीले प्रतियोगिताअघि नै सीआईबीसँग छलफल गरेका थियौँ,’, आफ्नो बचाउ गर्दै उनी भन्छन्, ‘सीआइबीलाई सोध्नुस्, त्यति गर्दा गर्दै मान्छेको नियत नै खराब छ, चोरी गर्छ भने कारवाही गर्नु पर्छ। 

नेपाली क्रिकेटमा उत्पन्न परिस्थितिबारे नैतिक जिम्मेवारी क्यानले लिने–नलिने प्रश्नमा अध्यक्ष चन्द भन्छन्, ‘नैतिक जिम्मेवारी के? फिक्सिङ गराउन बोर्ड सहभागी भए नैतिक जिम्मेवारी होला, हरेक प्रतियोगितामा बाहिरी तत्वहरुको एप्रोच आउँछ। बाहिरी तत्वहरुले प्रतियोगितालाई भ्रष्ट बनाउन हरेक ठाउँमा गतिविधि गर्छन्। त्यसलाई आयोजकले रोक्ने हो, सुरुदेखि यसलाई रोक्न प्रयास गर्ने हो।’ 

सेभेन थ्री स्पोर्टस्सँगको सम्झौताबारे अध्यक्ष चन्दले बचाउ गरे। ‘उसलाई देशको कानुनले नै अयोग्य बनाइसक्यो। हाम्रो पेमेन्टको कुरा मात्रै हो, ऊसँग अरु केही छैन। केही पेमेन्ट बाँकी छ’, उनले भने, ‘बाँकी कुरा सम्झौताको रह्यो, सम्झौता जसले फ्रिज गर्‍यो, त्यति बेला खारेज हुन्छ। हामी कारवाहीप्रक्रिया बढाउँछौ, पैसा माग्छौँ, नभए अरु उपाय निकाल्छौँ।’

लिग सकिएको दुई सातापछि सीआईबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले पत्रकार सम्मेलनमा फिक्सिङमा ४ नेपाली र ६ जना विदेशी संलग्न रहेको बताएका छन्। उनका अनुसार तीमध्ये सेभेन थ्री स्पोर्टस्का मालिक जतिन आलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सकलानीकै मुख्य योजनामा फिक्सिङ भएको खुलेको छ।  

क्यान आयोजक रहेको लिगमै फिक्सिङ भएपछि स्वभाविक रुपमा नैतिक प्रश्न खडा भएको छ। फिक्सिङ नभएको विज्ञप्ति निकाल्न हतार गर्ने क्यान सीआईबीले खेलाडी पक्राउ गरिसक्दा पनि आश्चर्यजनक मौनता साँधेर बसेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .