ad ad

खेल


लिग २ फाइनलका ‘हिरो’ गुलशन भन्छन् : त्यसबेला मेरो ध्यान हुटिङमा होइन, स्कोरबोर्डमा थियो

क्रिजका पार्टनर आरिफ र कोचले हौस्याइरहे
लिग २ फाइनलका ‘हिरो’ गुलशन भन्छन् : त्यसबेला मेरो ध्यान हुटिङमा होइन, स्कोरबोर्डमा थियो

नेपाली क्रिकेट टोलीका सदस्य गुलशन झा। तस्बिर : सरोज नेपाल/नेपालखबर


जयन्त ठाकुर
चैत ७, २०७९ मंगलबार ८:१२, जनकपुरधाम

नेपाली क्रिकेट टोली अहिले एसिसी प्रिमियर लिग र आईसीसी विश्वकप क्रिकेटको छनोट चरणको प्रतियोगिताको तयारीमा जुटेको छ। 

एसिसी प्रिमियर लिगको विजेता भए भारत, पाकिस्तान जस्तो टेस्ट मान्यता प्राप्त क्रिकेट टिमसंग प्रतिस्पर्धा गर्न पाउनेछ। 

त्यस्तै विश्वकप क्रिकेट छनोट चरणमा दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बाब्वे लगायतको क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

यिनै प्रतियोगिताहरुलाई ध्यानमा राखेर नेपाली क्रिकेट टोली त्यसको तयारीमा जुटेको हो। 

केही दिनअगाडि मात्रै नेपालले यूएईलाई डिएल मेथोडबाट ९ रनले पराजित गर्दै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्न सफल भयो। 

नेपालका लागि त्यो म्याच गर या मरको स्थितिमा थियो। यूएईले सो म्याचमा नेपाल सामु ३ सय ११ रनको विशाल लक्ष्य दियो। 

अहिलेसम्म नेपालले २ सय ८५ भन्दामाथिको योगफल एकदिवसीय क्रिकेटमा बनाउन सकेको थिएन। 

तर त्यो म्याचमा नेपाली टोलीले समेत शुरुवाती झट्का खाएर पनि सम्हालिएर प्रदर्शन गरेर जित निकाल्न सफल भयो। 

डिएल मेथोडबाट यूएईविरुद्धको जित निकालेको त्यो म्याचको नायक बन्न सफल भए गुलशन झा। त्यो म्याचको ४२औँ ओभरमा २० रन बनाएर गुलशनले टिमलाई जितको मुखसम्म पुर्‍याए। 

४२औँ ओभरभन्दा पहिले आरिफसँगै मैदानमा रहेका गुलशन क्रिजमा टिक्न डट बल खेलिरहेका थिए। उनले डट बल खेलिरहँदा मैदान बाहिर नेपाली क्रिकेटका प्रशंसकहरुले गुलशनविरुद्ध हुटिङ भइरहेको थियो। 

टोलीका सहकर्मीहरुसँग गुलशन झा

यता प्रकाश पनि मैदानमा कम हुँदै गइरहेको थियो। यता यूएईले जानी जानी ढिलो ओभर गर्नुका साथै स्पिन बलिङ नलगाएर समय बर्बाद गर्न लागिरहँदा नेपाली टिममाथि दवाब बढिरहेको थियो। 

नेपाल डिएल मेथोडमा पछाडि परिरहेको थियो। यूएईको तीव्रगतिका बलरहरुको ओभर बाँकी नरहँदा अन्त्यमा समय खेर फाल्नकै लागि यूइएका कप्तान मोहम्मद वासिम ४२औँ ओभरमा आफैँ बलिङमा आए। 

त्यही ओभर यूएईको हारको कारण बन्न पुग्यो। त्यो ओभरमा गुलशनले २० रन बनाएपछि डिएल मेथोडमा समेत यूएई पछाडि परेको थियो। 

त्यसअघि गुलशनविरुद्ध घरेलु मैदानमै हुटिङ भइरहँदा उनले आफूलाई खेलमा फोकस गरेको प्रतिक्रिया दिए। 

'विश्वकपको छनोटमा पुग्नका लागि त्यो खेल जित्नै पर्ने स्थिति थियो', गुलशनले भने, ‘मैदान बाहिर दर्शकहरुले के गरिरहेका छन् भन्दा पनि खेलमा मेरो ध्यान केन्द्रित थियो।’

उनले आरिफ शेखले आफूमाथिको दबाब हटाउन भूमिका खेलिदिएको पनि बताए। 

'क्रिजमा आउँदा शुरुमा म बिट भइरहेको थिएँ। यद्यपि मसँगै पिचमा रहेका दाइ आरिफले ममाथिको दबाब हटाउन सहयोग गर्नुभयो,’ उनले अगाडि भने, ‘दाइले डट बलमा ध्यान नदेऊ, तिमीले नै जित दिलाउँछौँ भन्दै हौसला बढाइ रहनुभयो।’ 

आरिफकै कुरा सुनेर गुलशन मैदानमा डटेर टिमलाई जित दिलाउन सफल भए। 'कोच सर (मोन्टी देसाई) ले मैदान बाहिर र आरिफ दाइले पिचमा खेल र स्कोरबोर्डमा मात्रै ध्यान दिन प्रत्येक बलमा भनिरहनु भएको थियो। मैले उहाँहरुकै कुरालाई फलो गरेँ।’ 

यूएई टिमले खेलमा ढिला गर्न गरिरहेको नाटकतर्फ आफूहरुको ध्यान नदिएको पनि उनले बताए। 

'यस्ता म्याचहरुमा दबाब हुनु स्वभाविकै हो। चाहे जति ठूलो खेलाडी भए पनि दबाब पर्छ। तर कोच सर हामीलाई जस्तोसुकै स्थितिमा मेन्टली मजबुत रहनु भन्नु हुन्छ', गुलशनले भने ‘यूएईले ५० ओभरमा ३ सय १० रनको स्कोर खडा गरे पनि ड्रेसिङ रुममा हामीमाथि कुनै दबाब दिनु भएन। आफ्नो स्वभाविक खेल खेल्न र म्याच फोकस रहन भन्नुभयो।’ 

प्रशिक्षकले नै यूएईको त्यो स्कोर पनि हामी चेज गर्न सक्छौँ भन्ने विश्वास खेलाडीहरुमा जगाएको पनि उनले सुनाए।

यूएईको विशाल स्कोर देखे पनि जित्न सक्छौँ भन्ने विश्वासको मूल कारण ब्याटिङ पिच र सानो खेल ग्राउण्ड पनि थियो', उनले भने, 'त्यसैले हामी सबैमा यो रन पनि चेज गर्न सक्छौँ भन्ने विश्वास थियो।'

नेपाल संकटमा परिरहँदा गुलशन ३२औँ ओभरमा क्रिजमा आएका थिए। ४१औँ ओभरसम्म गुलशन ३६ बलमा २५ रन बनाएर खेलिरहेका थिए। 

४४औँ ओभरमा खेलको नतिजा आउँदा गुलशन ४८ बलमा ५० रन बनाएर अविजित रहे। त्यसबीचको ४२ औँ ओभरमा उनले हानेको २० रन नै नेपालको पक्षमा परिणाम ल्याउने टर्निङ पोइन्ट बनेको थियो।

'यो जित मेरो वा टिमको मात्रै नभएर पूरै देशको  हो', उनले भने, 'पूरै नेपाल र नेपाली जनतालाई जितको मुस्कान दिलाउन पाउँदा धैरै खुशी लाग्यो।'

अब आउने दिनमा नेपाली टोली एसीसी प्रिमियर लिग र विश्वकप क्रिकेटको छनोट चरण खैल्न लागेको छ। त्यहाँ टेस्ट मान्यता प्राप्त क्रिकेट टोलीसँगसमेत नेपाली टोली भिड्नेछ। 

त्यसकै तयारीमा नेपाली टोली जुटिरहेको छ। 'अहिले कोच सर हाम्रो खेलमा निखार ल्याउँदै मेन्टल्ली मजबुबत बनाउन लागिरहनु भएको छ', उनले भने। 

सन्दीपसँग गुलशन झा

गुलशनको करिअर
यूएईविरुद्धको खेलमा नेपाली टोलीलाई जित दिलाउने गुलशनको जन्म सर्लाहीको मलंगवा नगरपालिका-८ स्थित सामन्य परिवारमा भएको हो। 

सानै उमेरदेखि खेलमा अभिरुचि राख्ने गुलशन पारिवारिक सहयोगको बलमा नेपाली क्रिकेटको चम्किलो तारा बनिसकेका छन्। 

बुवा अखिलेश कुमार र आमा अञ्जुले आफूमा खेलप्रतिको लगन देखेर खेलमा भविष्य बनाउन अभिप्रेरित गरेको गुलशनले बताए। 

गुलशनमा क्रिकेटप्रतिको लगाव देखेर बुवाले औपचारिक अभ्यासका लागि भारतको राँची पठाए। त्यही ४ वर्ष रहेर गुलशनले क्रिकेटको प्रशिक्षण लिए। 

केही वर्षअगाडि कोरोना महामारीको संक्रमण बढ्दा उनी घर फर्किए। सर्लाही फर्किएर उनले त्यहाँ मेयरकपमा भागमा लिए। 

मेयरकपमा उनको उत्कृष्ट प्रदर्शनबाट प्रभावित भएर क्यानले अण्डर १९ टिममा स्थान मात्रै दिएर क्याप्टेन पनि बनायो। 

अण्डर १९ मा समेत उनको प्रदर्शन राम्रै थियो। त्यसपछि उनलाई विश्वकप क्रिकेटको लिग २ खेलिरहेको नेपाली सिनियर टिममा स्थानमा दिइयो।

सुरुवाती केही म्यचामा सम्झनलायक उनको प्रदर्शन नरहे पनि पनि यूएईविरुद्ध जितको नायक बनेर उनले आफूलाई सावित गर्न सफल भए। 

अहिले गुलशनको ध्यान आगामी म्याचहरुमा केन्द्रित छ। गुलशनले भने, ‘आगामी म्याचहरु टेस्ट मान्यताप्राप्त राष्ट्रहरुसँग खेल्नु छ, त्यसका लागि तयारीमा प्रत्येक खेलाडी जुटिसकेका छौँ तर हाम्रो ध्यान आगामी योजनाभन्दा हामी वन म्याच एट ए टाइम फोकस हुन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .