जर्मनीका चर्चित मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्याश लिएका छन्।
सन् २०१४ को विश्वकप विजेता टोलीका सदस्य ३४ वर्षीय उनले बुधबार एक विज्ञप्ति जारी गर्दै फुटबल करिअरलाई विश्राम दिएको बताएका छन्।
आर्सनलका पूर्वमिडफिल्डर पछिल्लो समय टर्कीको शीर्ष लिगको क्लब इस्तानबुल बासाकेसियरबाट खेलिरहेका छन्। यही सिजन इस्तानबुल आउनुअघि उनी अर्को टर्किस क्लब फेनेरेबाचेमा थिए।
तर पछिल्लो समय राजनीतिक कन्ट्रोभर्सी र इन्जुरीका कारण उनी तनावमा थिए। 'मैले मेरो जीवनको १७ वर्ष व्यवसायिक फुटबलरका रुपमा बिताएँ। मैले यो अवसरका लागि आफूलाई गौरवान्वित ठानेको छु। मलाई यहाँसम्म ल्याउने सबैलाई धन्यवाद!'
उनले केही महिनायता घाइते भएकाले सोचेअनुसार खेल देखाउन नसकेको स्वीकार्दै फुटलबाट विश्राम लिने यो सही समय भएको पनि उल्लेख गरेका छन्।
ओजिल सन् २०२१ मा इङ्लिस क्लब आर्सनलबाट टर्की पुगेका थिए। प्रशिक्षक मिकेल अर्टेटासँग तीव्र विवाद भएपछि उनी सिजनको बीचमै टर्की लागेका थिए।
उनले आफू यसअघि आवद्ध साल्के, वेर्डेर बेर्मेन, रियल मड्रिड, आर्सनल, फेनेरबाचे, बासाकेसियर व्यवस्थापनलाई धन्यवाद दिएका छन्।
सन् १९८८ मा जन्मिएका ओजिल समकालीन फुटबलका एक उत्कृष्ट मिडफिल्डर हुन्। उनले आफ्नो फु्टबल करिअरमा आफूलाई एक उत्कृष्ट अनि सफल प्लेमेकरका रुपमा चिनाए।
उनले मैदानमा आफूलाई आक्रामक मिडफिल्डरको रुपमा स्थापित गराए। सन् २००९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ८० बढी अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका छन्।
सही पास र उत्कृष्ट प्रहार गर्ने क्षमताका कारण उनको खेललाई फ्रान्सेली लेजेन्ड जिनेदिन जिदानसँग तुलना गर्ने गरिन्छ।
प्रतिक्रिया