आगामी साता दोस्रो ओलम्पियन पूर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम हुने भएको छ। आगामी जेठ १८ देखि २१ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नेपाल ओलम्पियन संघले उक्त सम्मान लगायत विभिन्न कार्यक्रम अयोाजना गर्न लागेको हो।
संघको आयोजनामा पहिलो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो।
उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपटक पोखरामा आयोजना गर्न लागिएको जनाइएको छ।
‘सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराइन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको हो,’ ओलम्पियन संघले विज्ञप्तिमार्फत भनेको छ, ‘पहिलो पूर्नमिलन तथा सम्मान कार्यक्रम सफल भएबाट पनि हामी दोस्रो संस्करणको कार्यक्रम आयोजनाका लागि उत्साहित भएका छौं।’
पोखरामा आयोजना हुने उक्त सम्मान कार्यक्रममा ५० बढी ओलम्पियनहरूको सहभागीता हुने विश्वास लिइएको छ।
कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको छ।
प्रतिक्रिया