भारतीय महिला लिग (आईडब्ल्यूएल) को यो सिजनको फाइनल खेलेका राष्ट्रिय महिला फुटबल टोली एवं एपीएफका तीन खेलाडी बिहीबार स्वदेश फर्किएका छन्।
आई लिग विजेता गोकुलम केरला एफसीमा आबद्ध सावित्रा भण्डारी साम्बा तथा उपविजेता टोलीका सरु लिम्बु र रेनुका नगरकोटे बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्। आइतबार भएको फाइनलमा गोकुलमले किकस्टार्ट एफसीलाई ५–० ले हराएको थियो।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालखबरसँग कुरा गर्दै साम्बाले चोटमुक्त भएर पुनरागमन गरेपछि पहिलो उपाधि जित्न पाउँदा खुसी लागेको बताइन्।
उनले भनिन्, घुँडाको चोटपछि पुनरागमन गरेपछिको पहिलो उपाधि हो त्यसैले खुसी लागेको छ।
उनले आफ्नो नजर योपटक उपाधिमा भन्दा पनि आफ्नो पुनरागमनमै रहेको सुनाइन्।
दुई फरक क्लबबाट तीनपटक आईडब्ल्यूएलमा उपाधि उचालेकी साम्बा लिगकै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। यो सिजन २९ गोल गरेकी साम्बाले आईडब्ल्यूएलकै सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा गरिन्। साम्बाले सेथुबाट एक सिजन र गोकुलमबाट दुईपटक उपाधि जितिन्।
यस्तै आईडब्ल्यूएलकै पहिलो सहभागितामा फाइनल खेलेका सरु लिम्बु र रेनुका नगरकोटेले टोलीको प्रर्दशनबाट खुसी भएको बताए।
पहिलोपटक नै फाइनल खेल्दा उत्साहित रहेको सुनाउँदै रेनुकाले नेपाल र भारतको लिगको तुलना गर्न नमिल्ने बताएकी छन्। उनले भविष्यमा राष्ट्रिय टोलीका अन्य खेलाडीले पनि आई लिगमा खेल्ने सम्भावना बढ्ने विश्वास व्यक्त गरिन्।
सरुले पहिलो पटक आई लिग खेल्दा खुसी लागेको बताउँदै फाइनल सम्म पुगेर किकस्टार्टलाई उपाधि दिलाउन नसक्दा दुःख लागेको सुनाइन्। एन्जिला तुम्बापो सुब्बा, अनिता बस्नेत रेखा पौडेलले पनि यो सिजन फरक क्लबबाट लिग खेलेका थिए। अनिताको लर्डस् एफए समूह चरणबाट बाहिरिएको थियो भने रेखा आबद्ध स्पोर्टस उडिसा क्वार्टरफाइनल र एन्जिला सम्मिलित सेथु सेमिफाइनल पुगेको थियो।
प्रतिक्रिया