ad ad

खेल


पहिलो सिजनमै चर्च ब्वाइजले चुम्यो ए डिभिजन लिगको उपाधि

पहिलो सिजनमै चर्च ब्वाइजले चुम्यो ए डिभिजन लिगको उपाधि

पहिलो सिजनमै उपाधि जितेपछि चर्च ब्वाइजका खेलाडी। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
जेठ २३, २०८० मंगलबार १७:१, काठमाडौँ

नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेलअगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। 

मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ। 

यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो। 

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो। 

चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गोलरहित बराबरी खेल्दै चर्च ब्वाइजले उपाधि आफ्नो पक्षमा पार्दा थ्रीस्टार भने रेलिगेसनबाट बच्न संर्घष गरिरहेको छ। 

चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाउँदै लिग च्याम्पियन बनेको हो। चर्च ब्वाइजले २५ खेलमध्ये १२ मा जित, ९ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ। 

दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको २४ खेलमा १० मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ३९ अंक बनाएको छ। 

मछिन्द्रले बाँकी दुइ खेल जितेपनि शीर्ष स्थानाम रहेको चर्च ब्वाइजलाई अंक तालिकामा भेट्ने छैन। 

२५ खेलबाट थ्रीस्टारले ६ खेलमा जित, ११ खेलमा बराबरी र ८ खेलमा हार भोग्दै २९ अंक बनाएको छ। 

लिग च्याम्पियन बनेपनि चर्च ब्वाइजले आगामी सिजनको एएफसी क्लब च्याम्पियनसिप खेल्न भने पाउने छैन। 

चर्च ब्वाइजसँग एफसी क्लब लाइसेन्स नभएको कारण उसको स्थानमा मछिन्द्र फुटबल क्लबले एएफसी क्लब च्याम्पियनसिप खेल्नेछ। 

एफसी क्लब लाइसेन्सबिना कुनै पनि क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउँदैन। नेपालमा मछिन्द्र, आर्मी र एपीएफ मात्रै क्लब लाइसेन्स लिग सफल भएका छन्। 

लाइसेन्स लिएका टोलीमध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहेको टोलीले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न पाउने आधारमा मछिन्द्रले यो अवसर पाउन लागेको हो। 

यसअघि मछिन्द्र २०७६ मा लिग च्याम्पियन बनेपनि एएफसी क्लब लाइसेन्स नभएका कारण उसको स्थान आर्मीले लिएको थियो। 

त्यो समयमा दोस्रो स्थानमा रहेको आर्मीसँग मात्र क्लब लाइसेन्स थियो। ए डिभिजनका १४ मध्ये ११ क्लबसँग अझै एएफसी क्लब लाइसेन्स छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .