ad ad

खेल


नयाँ बजेटमा खेलकुद पूर्वाधारलाई प्राथमिकता, कहाँ कति मागियो?

नयाँ बजेटमा खेलकुद पूर्वाधारलाई प्राथमिकता, कहाँ कति मागियो?

लक्ष्मी जि.सी
जेठ १३, २०८१ आइतबार १४:४८, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको छ।

सोहीअनुसार खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट प्रस्ताव गरेको छ। राष्ट्रिय खेलकुद परिषद्ले पठाएको प्रस्तावमा हेरफेर गर्दै खेलकुद मन्त्रालयले अर्थमा मन्त्रालयको प्रस्ताव पठाएको हो। 

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि दशौँ र ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारसहित अन्य प्रदेशका खेलकुद पूर्वाधारका लागि १७ करोड रुपैयाँ बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ। 

मन्त्रालयले आर्थिक वर्षमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदलाई मुख्य प्राथमिकतामा राखेको छ। 

मधेश प्रदेशमा प्रस्तावित ११ औँ राष्ट्रिय खेलकुद आयोजनामा लागि पूर्वाधार निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गर्न प्रस्ताव गरेको छ। 

मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण गर्न प्रदेश सरकारका लागि ८ करोड ५५ लाख रुपैयाँ मात्र बजेट सीमा प्राप्त भए पनि संघीय बजेटबाट ८ करोड ४५ लाख थप गरी कर्णाली प्रदेशलाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्न एकमुष्ट ८ करोड रुपैयाँ विनियोजन गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ। 

यस्तै बाँकी ५ प्रदेशका लागि खेलकुद पूर्वाधार निर्माण र मर्मतसम्भारका लागि १ करोड बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ। 

मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा समेटिएका मूलपानी क्रिकेट एकेडेमी तथा रंगशाला निर्माण, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला विराटनगर १९, बैजनाथपुर मोरङलाई मुख्य प्राथमिकतामा राखेको छ। 

यस्तै कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडान, धनगढी प्रादेशिक रंगशाला तथा कभर्डहल निर्माण तथा मर्मत, कैलाली, कोहलपुर क्रिकेट रंगशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण बाँके, पोखरा क्रिकेट स्टेडियम, बहुउद्देश्यीय कर्भडहल स्तरोन्नति तथा सवलीकरण त्रिपुरेश्वर, सातदोबाटोमा खेलाडी फिटनेस सामग्री खरिदका लागि पनि बजेट माग भएको छ।  

यस्तै दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर र लैनचौर कभर्डहल मर्मत सम्भारका लागि बजेट विनियोजन गर्न प्रस्ताव पठाएको छ। 
मूलपानीका लागि ५० करोड, मोरङका लागि १० करोड, पोखराका लागि १ करोड ५ लाख रुपैयाँ माग गरेको छ। 

यस्तै टीयूको फ्लड लाइट जडानका लागि २० करोड, पोखरा रंगशाला स्तरोन्नतिका लागि १ करोड ५ लाख रुपैयाँ विनियोजनका लागि प्रस्ताव गरेको छ। 

प्रदेश सरकारबाट कार्यान्वयन गरिने आयोजनाहरुमा जुम्ला र कर्णालीको पातारासी हाइ अल्टिच्युट तालिम केन्द्र निर्माण तथा दोलखा–वागमतीका तेक्वान्दो हाइ अल्टिच्युट कर्भडहल निर्माण कामलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ। 

स्थानीय तहअन्तर्गत महिला फुटबल एकेडेमी पूर्वाधार निर्माण, रौतहट, सुनकोशी फुटबल मैदान, कपिलवस्तु रगंशाला, पालुङटार रंगशलाा, इटहरी क्रिकेट मैदान, पालुङटार रंगशाला निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। 

कार्यक्रमतर्फ दशाँ राष्ट्रिय खेलकुद आयोजना तथा व्यवस्थापन, प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना, पेरिस ओलम्पिक (पारा ओलम्पिक) सहभागिता व्यवस्थापन, एसियाली इ–स्पोर्टस्, खेलकुद दशक तयारी घोषणा र स्पोर्टस् कन्क्लेभ लगायतका कार्यक्रम मन्त्रालयले आगामी आर्थिक वर्षका लागि समेटेको छ। 

यस्तै भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्सदेखि मार्सल आर्टससम्मका कार्यक्रमलाई बजेटमा समेटिएको छ। 

खेलाडी सम्मान, ओलम्पियन खेलाडी भत्ता, खेलाडी तन्दुरुस्ती तथा प्रशिक्षक पुनर्ताजगी कार्यक्रम, राष्ट्रिय खेलाडी दुर्घटना बीमा, खेलाडीलाई सहुलियतका लागि परिचय पत्र  वितरणका लागि बजेट विनियोजनका लागि मन्त्रालयले अर्थ मन्त्रालयलाई बजेट प्रस्ताव गरेको छ। 

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत सशर्त अनुदान पठाएका स्थानीय तहमध्ये प्रगति प्रतिवेदन प्राप्त नभएका २ सय ४८ स्थानीय तह तथा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिकाबाहेकका ४ सय ८५ वटा स्थानीय तहलाई प्रत्येक स्थानीय तहमा १२ लाख ६० हजारका दरले सशर्त जम्मा ६१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .