चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने बताएका छन्।
चर्च ब्वाइजले आगामी साउन २९ गते घरेलु मैदान दशरथ रंगशालामा भुटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दै छ।
दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पछिल्लो दुई अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा हुन सकेको थिएन। अहिले अन्तर्राष्ट्रिय मान्यता फर्किएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन लागेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै चर्च ब्वाइजका प्रशिक्षक महर्जनले आफ्नो टोलीले प्रारम्भिक चरणको खेलमा राम्रो प्रदर्शन गर्ने बताए। उनले अधिकांश नेपाली सिनियर राष्ट्रिय टोलीमा रहेका खेलाडलाई क्लबमा आबद्ध गरिएको उल्लेख गर्दै टिम कम्बिनेसन पनि राम्रो भइरहेको दाबी गरे।
आफ्नो टिमप्रति सन्तुष्ट रहेको भन्दै उनले लामो समयदेखि सँगै खेलेका खेलाडी एउटै टोलीबाट खेल्दा राम्रो हुने आशा पनि व्यक्त गरे। छोटो तयारीका बाबजुद आफ्नो टोलीले तयारी राम्रो गरिरहेको उनको भनाइ थियो।
च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दै छन्। नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानको लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय भएको छ।
दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन्। अघिल्लो सिजनमा नेपालको क्लब मच्छिन्द्रले पाराले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो।
यद्यपि, यसपटक एएफसीले प्रारम्भिक चरणमा जति पनि विदेशी खेलाडी राख्न पाउने नियम ल्याएका कारण केही कठिन हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जनको भनाइ छ । पारोले अधिकांश विदेशी खेलाडी राखेको उनले बताए।
यद्यपि, आफ्नो क्लबमा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको महर्जनको आशा छ। घरेलु मैदान, लामो समयसम्म खेलिरहेका खेलाडीका कारण राम्रो नतिजा दिने उनको विश्वास छ।
यस्ता छन् टोली
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा चर्च ब्वाइजले खेल्दै छ। एरिक विष्ट (उपकप्तान), अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडीलाई चर्च ब्वाइजले अनुबन्धित गरिसकेको छ।
लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनिषकुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करिम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना) टोलीमा छन्।
चर्च ब्वाइजमा तीन विदेशी खेलाडी छन्। पारो एफसीले जापानबाट तीन विश्वकप खेलिसकेका केसुकी होन्डालाई अनुबन्धित गरेको छ।
युरोपियन क्लब एसी मिलान लगायतबाट खेलिसकेका ३८ वर्षे होन्डाले सन् २०१८ देखि २०२३ सम्म कम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षण समालेका थिए। तर यस सिजनमा उनी दक्षिण एसियाको कमजोर राष्ट्र भुटानको क्लबमा खेलाडीका रूपमा अनुबन्धित भएका छन्।
पारोले उनीबाहेक सर्बियाका गोलकिपर मिलोस सुपिच, जापानिज विंगर कोकी नारितासँगै सर्बियाका अन्य दुई खेलाडी, नेपालबाट उत्कृष्ट प्रदर्शन गरिसकेका विलियम ओपोकीसहित घानाका तीन खेलाडीलाई टोलीमा समावेश गरेको छ। त्यसैले पारो एफसी बलियो प्रतिद्वन्द्वी हुने चर्च ब्वाइजका प्रशिक्षक महर्जन बताउँछन्।
प्रशिक्षक महर्जनले नेपालबाट खेलिसकेका विदेशी खेलाडीलाई टोलीमा समावेश गरिएको बताए। करिब तीन-चार महिनादेखि लिग खेलिरहेकाले यसपटकको पारो एफसी धेरै बलियो रहेको उनको बुझाइ छ।
अहिले भुटानको लिगमा पनि पारो एफसी शीर्ष स्थानमा रहँदा राम्रो प्रदर्शन गरिरहेको छ। राम्रा विदेशी खेलाडी र राष्ट्रिय टोलीका सदस्यले भरिएको टोलीबाट राम्रो नतिजा ल्याउने क्लबको लक्ष्य छ।
पारोसँगको खेलका लागि जनरल प्यारापिटतर्फ दुई र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
Shares
प्रतिक्रिया