विश्वकप छनोटमा साविक विश्वविजेता अर्जेन्टिना कोलम्बियासँग हारेको छ।
बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले जितेको हो।
जारी छनोटमा अर्जेन्टिनाको यो दोस्रो हार हो भने कोलम्बिया अपराजित छ।
तर समान ८ खेलमा अर्जेन्टिना १८ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको कोलम्बियाको १६ अंक छ।
कोलम्बियालाई अपराजित राख्ने क्रममा खेलको २५औँ मिनेटमा यरसन मोस्केराले अग्रता दिलाए।
दोस्रो हाफको सुरुमै अर्जेन्टिनाका निको गोन्जालेजले गोल गर्दै खेल बराबरीमा फर्काए।
तर ६०औँ मिनेटमा कोलम्बियाले पेनाल्टी पायो। जसमा कप्तान जेम्स रोड्रिग्वेजले गोल गर्दै जित सुनिश्चित गरे।
अर्जेन्टिनाको टोलीमा कप्तान लियोनल मेस्सी भने थिएनन्। उनी चोटका कारण टोलीबाहिर छन्। यो जितसँगै कोलम्बियाले विश्वकप खेल्ने सम्भावना बलियो बनाउँदै लगेको छ।
Shares
प्रतिक्रिया