यूएई भ्रमण नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि सुखद् रहेन। एकातिर, त्रिकोणात्मक एकदिवसीय सिरिजअघि वेष्ट इण्डिजसँगको ऐतिहासिक सिरिजले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको झिल्को देखाएको थियो। अर्कातिर, विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग र यूएईसँग खेलेको खेलहरूले ती सम्भावनालाई ओझेलमा पार्यो।
नेपालले टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो खेल कौशल देखाए पनि एकदिवसीय छनोटमा भने लय नै हरायो। ब्याटिङ कमजोर, बलिङ अनियमित, र फिल्डिङमा थुप्रै गल्ती यसपटक दोहोरिए।
त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हारसँगै नेपाल पुनः लिग-२ को कठिन यात्रामा धकेलिएको छ। यो सिरिजमा कप्तानदेखि मौका पाएका खेलाडीसम्मको प्रदर्शन बिर्सिनलायक बनेको हो।
अमेरिकाविरुद्धको दोस्रो खेलमा टोलीको कमजोर फिल्डिङ हारको कारण बन्यो। सुरुवाती खेलको तुलनामा ब्याटिङमा सुधारिएको प्रर्दशन गरेको नेपाली टोलीको मध्यक्रम कमजोर देखियो। पावर प्लेमा टिक्न नसक्नु र डेथ ओभरमा आक्रमक पारी खेल्न नसक्नु नेपाली टोलीको हारको प्रमुख कारण बन्दै आएको छ।
जारी सिरिजमा आशा गरिएका ललित राजवंशी विकेट विहीन छन् भने कुशल भुर्तेल रन र विकेट दुवैमा संकटमा छन्। उता टोलीका अनुभवी खेलाडी करण केसी, सोमपाल कामीको प्रर्दशन प्रशंसा योग्य छैन।
व्यक्तिगत प्रर्दशनमा कप्तान रोहित पौडेलले यूएईविरुद्ध शतक प्रहार गर्दै ओडीआईमा दुई शतक बनाउने पहिलो खेलाडी बने। यद्यपि सो खेलमा पनि नेपालले जित हात पार्न सकेन।
लिग-२ मा १९ खेल खेलिसकेको नेपालले मात्र ५ खेलमा जित निकाल्दा १२ खेलमा हार भोगेको छ। २ खेलमा भने अंक बाँडेको छ। ५ खेलको जित र २ खेलमा अंक बाँडेपछि नेपाली टोली १२ अंकमा तालिकाको सातौँ स्थानमा छ।
अर्थात पुछारबाट नेपाली टोली दोस्रो स्थानमा छ। नेपालसँगै समान १९ खेल खेलेको यूएई ४ खेलमा जित र १४ खेलमा हार भोग्दै ८ अंकमा अंक तालिकाको पुछारमा छ। १८ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३६ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
यूएईमा जारी सिरिजमा लगातार तीन खेलमा हार भोगेपछि नेपाललाई सिधै विश्वकप छनोट खेल्न र एक दिवसीय मान्यता जोगाउन पनि कठिन पर्ने देखिएको छ।
यसअघि पनि नेपालको ओडीआई मानयता संकटमा परेको समयमा मोन्टी देसाई मुख्य प्रशिक्षकको रुपमा आएर नेपाललाई नयाँ बाटो देखाएका थिए। देसाईको बिदाइ र स्टुआर्ट लको आगमनपछि नेपाली टोलीको आगामी यात्रा सहज बन्ने देखिए पनि लिग-२ यात्रा थप कठिन बन्दै गएको छ।
लिग-२ मा नेपालले अब १७ खेल खेल्न बाँकी छ। अंक गणितीय हिसाबलाई हेर्ने हो भने नेपालको ओडीआई मान्यता जोगाउनका लागि आगामी यात्रामा भर पर्नेछ। तर टेस्ट टोलीको सपना पछ्याइरहेको नेपाली टोलीको अहिलेको प्रदर्शनले भने नेपालको ओडीआई मान्यता पनि संकटमा पर्ने देखिएको छ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो। अमेरिकासँग कै दोस्रो खेलमा ४ विकेटको हार व्यहोरेको थियो। यूएईसँग पहिलो खेलमा ५ विकेटको हार भोगेको नेपालले सिरिजको अन्तिम खेल बुधबार खेल्दैछ। सो खेलपछि नेपालको यूएई भ्रमण सकिनेछ। लिग-२ मा नेपालले कुल ३६ खेल खेल्नेछ।
विश्वकप लिग-२ मा नेपालको यात्रा
विश्वकप लिग-२ २०२३-२४-२७ यात्रा नेपालले घरेलु मैदानबाट सुरु गरेको थियो। घरेलु मैदानमा नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेदरल्यानड्सलाई ९ विकेटले हराएको नेपालले सिरिजको तेस्रो खेलमा नामिबियासँग २ विकेटले हार भोगेको थियो।
सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो। ओमान र क्यानडासम्मिलित सिरिजमा नेपाल क्यानडासँग १ सय ३ रनले तथा दोस्रो खेलमा ५ विकेटको हार व्यहोरेको थियो। ओमानसँग पहिलो खेलमा १ विकेटको हार भोग्दा दोस्रो खेलमा भने अंक बाँड्यो।
अमेरिकाको डालासमा भएको स्कटल्यान्ड र अमेरिका सम्मिलित सिरिजको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तेस्रो खेलमा अमेरिकासँग ३७ रनले पराजित हुँदा स्कटल्यान्डसँग अंक बाँडेको थियो।
स्कटल्यान्डको डुन्डीमा भएको नेदरल्यान्डसम्मिलित सिरिजमा नेपालले घरेलु टोलीलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले तथा स्कटल्यान्डलाई २ रनले पाखा लगाएको थियो। अन्तिम खेलमा भने डच टोलीलाई १६ रनले हराएको थियो।
Shares

प्रतिक्रिया