साइतेजा मुक्कमल्ल र मिलिन्द कुमारको कीर्तिमानी साझेदारी र रुसिल उग्राकरको घातक बलिङमा अमेरिकाले आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा यूएईमाथि २ सय ४३ रनको फराकिलो जित दर्ता गरेको छ।
अमेरिकाले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको यूएई २२.१ ओभरमा ४९ रन बनाउँदा अलआउट भयो। अमेरिकाविरुद्ध युएईका जुनैद सिद्दीकीले १० रन बनाउन बाहेह अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
यूएईलाई कम स्कोरमा रोक्न रुसिलले ८.१ ओभरमा एक मेडन राख्दै मात्र २२ रन दिएर ५ विकेट झारे। सौरभ नेत्रावल्करले ८ ओभरमा ४ मेडन राख्दै मात्र ४ रन दिदा ३ विकेट झारे। शुभम रन्जाने र मिलिन्द कुमारले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९२ रनको योगफल तयार पारेको थियो।
सातौ ओभरमा २८–३ को अवस्थामा रहेको अमेरिकाका लागि चौथो विकेटका लागि साइतेजा र मिलिन्दले २ सय ६४ रनको कीर्तिमानी साझेदारी गरे।
१ सय ४९ बलमा साइतेजाले १० चौका र ३ छक्का सहयोगमा १ सय ३७ रनको उत्कृष्ट पारी खेले। मिलिन्दले १ सय २५ बलमा ११ चौका र १ छक्का सहयोगमा १ सय २३ रनमा अविजित रहे।
त्यसअघि कप्तान मोनांक पटेल १५ रनमा क्याच आउट भए। ओपनर स्मिथ पटेल ५ र सयान जहाजिर २ रनमा क्याच आउट भए।
Shares

प्रतिक्रिया