अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ए डिभिजन लिग १४ महिनापछि मात्रै गर्ने भएको छ। सोमबार संघको सचिवालयमा बसेको क्लबसहितको बैठकले २०८३ पुसमा मात्रै ए डिभिजन लिग गर्ने निर्णय गरेको तालिका सार्वजनिक गरेको हो।
आगामी ए डिभिजन लिग होम एण्ड अवे प्रणाली अनुसार हुने एन्फाले जानकारी दिएको छ। ए डिभिजन लिगमा रहेका १४ वटा क्लवहरु पनि यो निर्णयमा सहमती भएको एन्फाको दाबी छ। घरे फुटबलका गतिविधि शून्य भएको भन्दै विरोध भइरहेका बेला एन्फाले १४ महिनापछिलाई प्रमुख लिगको तालिका सार्वजनिक गरेको हो।
एन्फाले आगामी मंसिर २९ गते नियमावली प्रकाशन गर्ने भएको छ। माघदेखि चैतसम्म सहभागी १४ वटा क्लबहरुको होम ग्राउण्ड चयन गर्ने र चैत मसान्तसम्ममा कागजी प्रक्रिया पूरा गर्ने भएको हो।
जेठ ३ गते लिगका लागि क्लबहरुलाई पत्राचार गर्ने, साउन ३ गते सहभागी क्लबहरुको टिम इन्ट्री गर्ने, साउन ५ गते सहभागी क्लबहरुको होमग्राउण्ड निरीक्षण गर्ने र भदौ ३ गते आवश्यक जनशक्तिका लागि प्रशिक्षण गर्ने एन्फाले जनाएको छ।
कात्तिक ३ गते म्याच फिक्सिङ रोक्न गोष्ठि सञ्चालन गर्ने, मंसिर १ गतेदेखि एन्फामा खेलाडी दर्ता सुरु हुने भएको छ। मंसिर ३ गतेदेखि पुस २ गतेसम्म प्रिसिजनका प्रतियोगिताहरु सञ्चालन गर्ने र मंसिर ३ गते खेल तालिका सार्वजनिक गर्ने एन्फाले जनाएको छ। पुस एक गते म्याच कोर्डिनेशन बैठक बसेर पुस ३ गतेबाट खेल सञ्चालन गर्ने तालिका एन्फाले सार्वजनिक गरेको छ।
तत्कालै भने राष्ट्रिय लिग सञ्चालन हुने भएको छ। पुस ९ गतेदेखि राष्ट्रिय लिग सञ्चालन गर्ने भएको हो। यहि कात्तिक १९ गतेदेखि एन्फा प्रेसिडेन्ट लिग सञ्चालन हुने भएको छ। त्यसबाट उत्कृष्ट चार वटा टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछन्।
बाँकी ६ वटा टोली ए डिभिजनका शीर्षस्थानमा रहेन टोलीहरु सिधै छनोट हुनेछन्। यस आधारमा चर्च ब्वाइज, मछिन्द्र, नेपाल पुलिस, जावलाखेल, सातदोबाटो र एनआरटी सिधै छनोट हुनेछन्। आगामी मंसिर १९ गते राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक हुने भएको छ। राष्ट्रिय लिगकै बिजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागी हुन पाउने भएको छ। यसअघि ए डिभिजनको विजेता टोली सहभागी हुँदै आएको थियो।



Shares

प्रतिक्रिया