खेल


तीन दिने खेलकुद प्रदर्शनी सुरु

तीन दिने खेलकुद प्रदर्शनी सुरु

नेपालखबर
साउन १९, २०८३ मंगलबार २०:२२, काठमाडौँ

नेपाली खेलकुद इतिहास र उपलब्धिलाई संरक्षणका साथै प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन दिने खेलकुदसम्बन्धी प्रदर्शनी सुरु भएको छ।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम)ले आयोजनामा नेपाल आर्ट काउन्सिलमा मंगलबारबाट सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे।

पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता र तेक्वान्दोका सफल पूर्वखेलाडी दीपक बिष्टलगायतले खेलकुद प्रदर्शनको अवलोकन गरे। ‘बियोन्ड मेडल, प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ नाम दिइएको उक्त प्रदर्शनी तीन दिनसम्म हुनेछ।

प्रदर्शनीमा नेपालको खेलकुद इतिहास झल्काउने करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरू राखिएको छ।

विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री, जर्सी, खेल सहभागी हुँदाका कार्ड र अन्य ऐतिहासिक स्मृतिचिन्हहरू प्रदर्शनमा राखिएको ओलम्पिक संग्रहालय (एनओएम) की अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिइन्।

नेपाल ओलम्पिक संग्रहालय (एनओएम) नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ।

मन्त्री पोखरेलले संग्रहालयको व्यवस्थापनमा छलफल गरी सरकार अघि बढ्नेमा ढुक्क हुन आश्वासन दिए।

संग्रहालयकी अध्यक्ष सन्सीले आफ्ना पिताले खेलाडी र संघसंस्थाहरुबाट संकलन गरी ल्याएका तस्बिर, ट्रफी, पदकलाई नेपालमै पहिलो पटक प्रदर्शनी गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन्।

संस्थाको ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न भएको हो। वरिष्ठ खेलकुद पत्रकार क्षितिजअरुण श्रेष्ठले नेपाल ओलम्पिक संग्रहालय (एनओएम) को स्थापना गरेका हुन्।

उनै क्षितिज अरुण र दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोकी स्वर्ण विजेता मञ्जु तुलाधारको योगदानप्रति श्रद्धाञ्जलि अर्पण गर्न उक्त प्रदर्शनी भएको हो। क्षितिज अरुण र मञ्जुको गत वर्ष निधन भएको थियो। सन्सी उनीहरूकै सन्तान हुन्।

तीन दिने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad