सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग– तत्कालीन साफ) को आठौं संस्करण आयोजना गरेको थियो। सो प्रतियोगितामा ३१ स्वर्ण पदकसहित नेपालले पहिलो पटक दक्षिण एसियाली खेलकुदको पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो।
पहिलो पटक सागमा समावेश तेक्वान्दो र करातेले समान १४ स्वर्ण पदक जित्दा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो। कृष्णप्रसाद भट्टराई नेतृत्वको तत्कालीन सरकारले स्वर्ण पदक विजेतालाई घडेरी दिने घोषणा गर्यो। तर, पदक विजेताले घडेरी पाएनन्।
पछि स्वर्ण पदक विजेतालाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिइयो। त्यतिबेला सुदूरपश्चिमका दीपक विष्ट काठमाडौँमा डेरामा बस्थे। पुरस्कारमा पाएको ३ लाखमा १ लाख थपेर उनले शंखमुलमा ३ आना ३ पैसाको घडेरी बैना गरेका थिए। त्यसपछि नवौं, दशौं र एघारौँ सागमा पनि दीपकले स्वर्ण पदक जिते। नवौंको पुरस्कार राशीबाट अलिकति ऋण तिरे। दशौँको पुरस्कारबाट ऋण मुक्त भए। वर्षौँपछि सोही घडेरीमा घर बनाए। अहिले उनी त्यहीँ बस्छन्।
दुई दशकपछि नेपालले फेरि सागको आयोजना गर्यो। मंसिरमा भएको १३ औं सागमा नेपालले आठौंको भन्दा पनि ठूलो सफलता हासिल गर्यो। जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्यका साथ २ सय ७ पदक जितेको थियो। पौडीकी गौरिका सिंहले एकै सागमा ४ स्वर्ण पदक जित्दै इतिहास रचिन्।
तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक जित्दै देशको नाम उँचो पारे। साग सकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई आफ्नो निवासमा डाकेर स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँको घोषणा गरे। ५ महिना कुरेपछि खेलाडीले सो रकम पाए। २ भन्दा बढी स्वर्ण पदक जित्नेको हकमा भने सरकारले प्रतिस्वर्ण पदक ११ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। जसअनुसार गौरिकाले ४४ लाख रुपैयाँ प्राप्त गर्दा आयशा, मण्डेकाजी र सुवासको बैंक खातामा समान २२ लाख रुपैयाँ जम्मा भएको थियो।
आठौँको तुलनामा १३ औँ सागका स्वर्ण विजेताले तीन गुणा बढी रकम प्राप्त गरे। तर, पछिल्लो दुई दशकमा भएको पैसाको अवमूल्यनका कारण अहिलेको ९ लाखभन्दा उसबेलाकै ३ लाख ठूलो ठहरिएको छ। २१ वर्षअघि स्वर्ण जितेर दीपकले घडेरीको बैना दिने अवस्था थियो भने अहिले उनकी पत्नी आयशाले २२ लाख रुपैयाँ प्राप्त गर्दा पनि शंखमुलमा एक आना जग्गा आउँदैन।
१३ औं सागका स्वर्ण पदक विजेता खेलाडीहरुले पुरस्कार रकम कसरी खर्च गरे भनेर नेपालखबरले बुझ्ने प्रयास गरेको छ।
केही रकम राहतमा खर्च भयोः आयशा शाक्य
दुई सन्तान जन्माएपछि खेलमा पुनरागमन गरेकी तेक्वान्दोकी आयशा शाक्यले सुखद् पुनरागमन गरिन्। आयशाले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन्। उनले सन् २०११ को सागमा स्वर्ण पदक जितेकी थिइन्।
दुई वटा स्वर्ण जितेपछि उनले २२ लाख रुपैयाँ पाइन्। पुरस्कारवापतको केही रकम उनले लकडाउन भएपछि राहत वितरणमा खर्च गरिन्। आयशाले कीर्तिपुर नगाउँमा बस्ने ३५ जना दृष्टिविहीनलाई खाद्यान्न सहयोग गरेकी थिइन्। यस्तै बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई पनि खाद्यान्न वितरण गरिन्। समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरहेका छन्। यस्तै सुदुरपश्चिममा पीसीआर मेसिन खरिदका लागि पनि सहयोग गरेकी थिइन्। पुरस्कारकै रकमबाट उनले घरको ऋण समेत तिरिन्।
प्रशिक्षणमा खर्च गर्ने गौरिकाको योजना
जलपरीको उपाधि पाएकी गौरिका सिंहले सागमा ४ वटा स्वर्ण पदक, २ रजत र ३ कास्य पदक जितिन्। सबैगरी उनले ६२ लाख रुपैयाँ प्राप्त गरिन्। गौरिका सागमा पदकबाट सबैभन्दा धेरै रकम पाउने खेलाडी हुन्। गौरिका विगत १४ वर्षदेखि बेलायतमा बस्दै आएकी छिन्। उनले प्रशिक्षण लगायतका काम उतै गर्छिन् भने प्रतियोगितामा सहभागी हुन मात्र नेपाल आउँछिन्।
‘पहिला प्रशिक्षणका लागि मेरो सबै खर्च परिवारले गर्थ्यो, अब म आफैँ गर्नेछु,’ उनले भनिन्, ‘प्रशिक्षण धेरै महंगो हुन्छ। एउटा प्रतियोगितामा प्रयोग गरेको स्वीमिङ कस्ट्युम अर्कोमा काम लाग्दैन त्यसैले धेरै गाह्रो हुन्छ। दिनमा ९ सेसन सम्म प्रशिक्षण गर्ने गौरिका भन्छिन् अब प्रशिक्षणमा आफ्नै रकम खर्च गर्नेछु।’
आमाबुबाको लागि घर बनाउने सुवासको सपना
सुवास तामाङले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास बनाए। सागको गल्फमा नेपालले स्वर्ण पदक जितेको यो पहिलो पटक हो। सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरेका थिए।
कमजोर आर्थिक अवस्थाका ललितपुरका सुवासको सपना छ– आमाबाबुका लागि घर एउटा बनाउने। गल्फ संघले पनि उनको घर बनाउनका लागि सघाउने घोषणा गरेको छ। उनले पुरस्कार राशी बैंकबाट निकालेका छैनन्।
‘पुरस्कार रकम अहिलेसम्म चलाएको छैन। बैंकमा नै राखेको छु,’ उनले भने, ‘आमाबुवाका लागि घर बनाउनुपर्छ। त्यसैले पैसा चलाउने कुरै आउँदैन नि।’
घडेरी किन्ने निमाको तयारी
निमा घर्तीमगरले उसुमा पहिलो पटक १२औं सागमा स्वर्ण पदक जितेकी थिइन्। स्वदेशमा पनि उनले समर्थकलाई निराश पारिनन्। लगातार दोस्रो पटक स्वर्ण पदक जितिन्। थाउलोको महिला नान्दोमा कुल १८-९१ अंक जोडेर उनले स्वर्ण पदक जितेकी थिइन्।
सरकारले उनलाई पुरस्कारमा ९ लाख रुपैयाँ दिएको थियो। रोल्पाकी निमाको परिवार डेरा गरेर टीकाथलीमा बस्दै आएको छ। त्यहीँ उनकी आमाले खुद्रा पसल चलाउँछिन्। पुरस्कारको २ लाख रुपैयाँ उनले आमालाई पसलमा सामान थप्न दिइन्। बाँकी रकम केहीमा लगानी गर्नुपर्छ भन्ने उनको सोच छ। तर, त्यति रकम केमा लगानी गर्ने भन्ने उनलाई थाहा छैन। नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा रहेकी उनको नियमित पारिश्रमिक पनि आउँछ।
१२औं सागको पुरस्कारको पैसा पनि उनले बैंकमा राखेको स्मरण गरिन्। ‘घरमा बुबाममीले मेरो पैसा चलाउनु हुन्न तर कहिलेकाहीँ म आफैँले दिन्छु,’ उनले भनिन्, ‘घर बनाउन अब जग्गा किन्नपर्छ होला भन्ने सोचेको छु।’
सन्तानको पढाइमा खर्च गर्छुः किरणसिंह बोगटी, एथलेटिक्स
किरणले म्याराथनमा स्वर्ण पदक जित्दै धेरैलाई आश्चर्यमा पारे। त्यसअघिसम्म म्याराथनमा नेपालले स्वर्ण पदक जित्छ भन्ने अनुमान कसैको थिएन। एपीएफका किरणले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। खेल्नकै लागि एपीएफमा पुगेका किरणले जितेको स्वर्ण म्याराथनमा नेपालले २४ वर्षपछि जितेको हो।
किरणले पाएको पुरस्कार रकम बैंकमा नै राखेका छन्। काठमाडौँमा घर जग्गा जोड्ने उनको सपना छैन। छोराछोरीलाई राम्रोसँग पढाउने उनको सपना छ। पुरस्कार रकमबाट आधाजसो आफ्नो लागि खानाखर्च र बाँकी छोराहरुको पढाइमा खर्चने उनको योजना छ। उनका दुई छोरा स्कुल पढदैछन्। श्रीमती र २ छोरासहित उनको ४ जनाको परिवारको मासिक खर्च तलबले मात्र धान्न गाह्रो हुन्छ। तैपनि भविष्यमा आवश्यक पर्छ भनेर उनले रकम खर्च गरेका छैनन्।
बिस्तारै घरजग्गा जोड्छुः संगीता धामी, कुस्ती
जनकपुरमा भएको कुस्तीमा नेपालका लागि संगीताले पहिलो पटक स्वर्ण पदक जितेकी थिइन्। बंगलादेशकी सरकेर रिमलाई हराउँदै उनले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।
महेन्द्रनगरकी संगीताको परिवारको आफनो घरजग्गा केही छैन। आमा र बहिनीसँग बस्दै आएकी उनको सपना छ– आमाका लागि घर बनाउने। ठूलोबुबाको घरमा बस्दै आएकी संगीता भन्छिन्, ‘ममीका लागि एउटा घर बनाउने सपना छ। तर अहिलेको पैसाले त जग्गा पनि किन्न पुग्दैन। घर बनाउनका लागि पहिला जग्गा किन्नुपर्यो। अब बिस्तारै कमाउँदै जग्गा अनि पछि घर बनाउनुपर्छ।’
व्यवसायमा लगानी गरे विकेशले
सागमा उमेर समूहको टोलीले प्रतिस्पर्धा गर्ने फुटबलमा ३ जना सिनियर खेलाडी राख्न पाउने नियम छ। विकेश कुथु सिनियर खेलाडीको रुपमा यु–२३ बाट साग फुटबल खेलेका थिए। गत संस्करण पनि विकेश सम्मिलित टोलीले सागमा स्वर्ण जितेको थियो। उनले सागको पुरस्कार रकम आफ्नो क्रसर व्यवसायमा लगानी गरेका छन्। पारिवारिक रुपमा नै व्यवसायमा जोडिएका विकेशले केही रकम व्यक्तिगत खर्चका लागि जोगाएका छन् भने बाँकी रकम लगानी गरेका छन्।
प्रतिक्रिया