फिलिपे कौटिन्होको गोल मद्दतमा बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ। नोउ क्याम्पमा भएको खेलमा १–० ले पछि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले सेभियासँग बराबरी गरेको हो।
गएराति भएको खेलको आठौँ मिनेटमा लुक डि जोङको गोलबाट सेभियाले अग्रता बनाएको थियो। फ्रान्की डि जोङले क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्सभित्रबाट लुक डि जोङले फिनिस गरेका थिए।
सेभियाको अग्रता २ मिनेट पनि टिकन पाएन। १०औं मिनेटमा बार्सिलोनाका लागि फिलिपे कौटिन्होले बराबरी गोल फर्काए। कप्तान लियोनेल मेस्सीको पासलाई जोडी अल्भाले मिलाइदिएको बललाई कौटिन्होले जाली चुमाएका थिए।
अपराजित बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर पाँचौँ तथा समान ७ अंक नै रहे पनि सेभिया गोलअन्तरमा छैटौं स्थानमा छ।
प्रतिक्रिया