राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १२ जनाको अन्तवार्ता लिएको छ।
क्यानले आवेदन परेका कुल ७२ जना मध्येबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले केहीको नाम क्यानलाई पठाएको थियो। आइसीसीले पठाएको नाममध्येबाट क्यानले १२ जनाको अन्तवार्ता लिएको हो।
क्यानले मुख्य प्रशिक्षकसँगै क्रिकेट म्यानेजर र अन्य पदमा नियुक्ती गर्नेछ। क्यानले म्यानेजरका लागि ५ जनासँग अन्तवार्ता लिएको छ। आगामी २ सातामा सबैको नाम सार्वजनिक गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
अन्तवार्ता लिएकाहरुको नामलाई क्यानको भोलि बस्ने वार्षिक साधारण सभामा पेश गरिनेछ। अन्तर्वाता लिने समूहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, कोषाअध्यक्ष रोशनकुमार सिंह र प्रशिक्षक दीपेन्द्र चौधरी थिए।
राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न श्रीलङ्का, क्यानडा, जिम्वावे, पाकिस्तान, इङ्ल्याण्ड, अष्ट्रेलियाबाट इच्छुक छन्। अन्तवार्तामा वेष्ट इण्डिजबाट भने अनुपस्थित रहेको अध्यक्ष चन्दले जानकारी दिए।
क्यानको भोलि बस्ने वार्षिक साधारण सभामा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनीति निर्माण, जिल्ला तथा प्रादेशिक संघको निर्माण, संघ पदाधिकारी र कर्मचारीको कोड अफ क्नडक्ट निर्माण, फ्रेन्चाइजी क्रिकेट, एन्टिकरप्सन, एन्टी डोपिङ्ग लगायतका विषयहरु समेटिका छन्।
प्रतिक्रिया