ad ad

खेल


विद्यालयस्तरबाटै फुटबलको जग बसाउन एन्फा एकेडेमी स्थापना

विद्यालयस्तरबाटै फुटबलको जग बसाउन एन्फा एकेडेमी स्थापना

सुनिता विष्ट
चैत ३०, २०८० शुक्रबार २०:३५, काठमाडौँ

बागमती प्रदेशमै पहिलो पटक विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षण गराउने भएको भएको छ। विद्यालयस्तरका बालबालिकाबाटै फुटबलमा जग बसाउने उदेश्यका साथ एन्फा एकेडेमी स्थापना गरेर प्रशिक्षण गराउन लागिएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सालादेवी माध्यामिक विद्यालयमा प्रशिक्षण सुरु गर्नेगरी शुक्रबार एन्फा र विद्यालयबीच सहमती पत्रमा हस्ताक्षर भएको हो।

विद्यालय समयमा पढ्ने र अन्य समयमा खेल प्रशिक्षण गराउने उदेश्यका साथ एन्फाले योजना बनाएको एन्फाका महासचिव किरण राईले बताए। उनका अनुसार बागमती प्रदेशका ३० जना फुटबल खेलाडी विद्यार्थीलाई यस विद्यालयमा राखेर प्रशिक्षण गराइनेछ। ती विद्यार्थीहरु जिल्लाबाट छनौट गराएर ल्याइने उनले बताए।

विद्यालयमै छात्राबासको सुविधा, ठूलो खेलमैदान, काठमाडौँबाट नजिकको दूरी तथा शान्त वातावरणका कारण इन्द्रसरोवरमा अवस्थित उक्त विद्यालय छनौटमा परेको महासचिव राईले बताए।

‘बागमती प्रदेशमा मात्रै होइन, हामी देशभर नै यस्तो प्रशिक्षण गराउन लागेका छौं, महासचिव राईले भने, ‘पुरुष खेलाडीका लागि तीन स्थानमा प्रशिक्षण गराउन लागेका छौं। धरान, बुटवल र मकवानपुरमा पुरुष खेलाडीलाई राखिनेछ भने महिलाको लागि रौतहटमा व्यवस्था मिलाइएको छ।’

उनले थपे, ‘सानै उमेरबाट बालबालिकालाई पढाईसँगै खेल क्षेत्रमा रुची भएकाहरुलाई भविष्यमा राम्रो खेलाडी उत्पादन गर्ने नै एन्फाको योजना हो।’

उक्त विद्यालयमा स्थापना भएको एन्फा एकेडेमीमा १३ वर्षसम्मका उमेर समूहका बालकहरुलाई राखिने छ। प्रशिक्षणमा सहभागी भएका विद्यार्थीहरुलाई सोही विद्यालयमा अध्ययन गराइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास ठकुरीले बताए। संविधान सभा सदस्य समेत रहेका ठकुरीका अनुसार विद्यार्थीलाई अपुग भएका सामग्रीहरुमा स्थानीय तहसँग सहकार्य गरेर व्यवस्थापन मिलाइने छ।

‘यस्तो अवधारणामा सहभागी हुन अन्य विद्यालयहरुले पनि इच्छा त देखाएकै थिए होलान्। सोही अनुसार हामीले पनि प्रस्तावना लग्यौं। सबै कुरामा उपयुक्त देखिएपछि यही विद्यालयलाई उहाँहरुले छनौट गर्नुभयो। जसले गर्दा हामीले यस्तो अवसरमा आफ्ना विद्यालय सहभागी गराउने अवसर प्राप्त गर्न सफल भयौं,’ ठकुरीले भने।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको उपस्थितीमा महासचिव राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

नेपालमै पहिलो पटक नयाँ अवधारणाका साथ सम्झौता गरिएको हो। जिल्लाहरूले छनौट गरेर पठाएका विद्यार्थी उक्त एकेडेमीमा सहभागी हुन पाउनेछन्। जसका लागि प्रशिक्षण चलिरहेको बताइएको छ।

छात्रावासमा फुटबलका प्रशिक्षक, वार्डेन र कर्मचारी एन्फा आफैंले व्यवस्थापन गर्नेछ। एकेडेमीमा बागमतीका मात्रै नभएर देशभरका विद्यार्थी सहभागी गराइने बताइएको छ।

छात्रावासका लागि विद्यालयले ८३ लाख रुपैयाँ खर्चिएर भवन निर्माण गरेको विद्यालयका प्रधानाध्यापक उमाकान्त चौधरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .