ad ad

सुदूरपश्चिम


एमालेमा फर्किएको भनेर नाम लिइएका बुढाथोकी भन्छन् : समाजवादीमै छु

एमालेमा फर्किएको भनेर नाम लिइएका बुढाथोकी भन्छन् : समाजवादीमै छु

गोकुल जोशी
भदौ १५, २०७९ बुधबार २०:२९, कञ्चनपुर

नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा जनसभा गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबाट थुप्रै नेता कार्यकर्तालाई पार्टी प्रवेश गरायो। उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए।

जनसभाबाट नेकपा एकीकृत समाजवादीका नेता वीरबहादुर बुढाथोकीलाई पनि एमालेमै फर्किएको भनेर सभामा नाम उच्चारण गरियो। तर, उनी मञ्चमा देखिएनन्। 

बुढाथोकीले आफू एमालेमा नफर्किएको र नेकपा एकीकृत समाजवादीमा नै रहेको बताएका छन्।

‘म एमालेमा फर्किएको छैन, आज नाम उच्चाहरण गरिएको कुरामा मेरो सहमति छैन, म कार्यक्रममै गइन,’ उनले नेपालखबरसँग भने, ‘नेकपा एकीकृत समाजवादीमा नै छु।’

उनकी पत्नी कञ्चनपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीकी समानुपातिक सांसद हुन्।

बुढाथोकी दम्पती नेकपा एकीकृत समाजवादी छोडेर नेकपा एमालेमै फर्किने तयारीमा थिए। त्यसका लागि वीरबहादुर बुढाथोकीले एमाले नेतृत्वसँग छलफलसमेत अगाडि बढाएका थिए।

केही दिन अगाडि बालकोटमा एमाले फर्किने बारेमा बुढाथोकी लगायत चार नेताले केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरेका थिए।

सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तारा लामा तामाङ, एकीकृत समाजवादीका निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, नेताद्वय अशोककुमार चन्द र वीरबहादुर बुढाथोकी छलफलमा सहभागी थिए।

‘त्यो दिन फर्किनेमा बुढाथोकीजी सकारात्मक हुनुहुन्थ्यो, छलफलका क्रममा पनि त्यस्तै कुरा गर्नु भएको थियो,’ समाजवादीबाट एमाले फर्किएका एक नेताले भने, ‘यसबीचमा उहाँलाई समाजवादीमै रहन निकै दबाब आएको देखिन्छ।’

नेकपा एमालेमा फर्किनका लागि छलफल भएको बुढाथोकी समेत स्वीकार्छन्।

‘दुई/तीन पटक छलफल भएको हो, तर म निष्कर्षमा पुगिसकेको थिइन’ उनले भने।

बुढाथोकी नातामा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेका भतिजा पर्छन्। उनकै दबाबमा बुढाथोकी दम्पती अन्तिम समयमा एमालेमा नफर्किएको ती नेताले बताए।

एमालेमा फर्किने सहमति पश्चात् नै समाजवादीबाट फर्किने नेताहरुले दिएको नाम आफूले मञ्चबाट उच्चारण गरेको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताए।

‘उहाँको सहमतिमै नाम टिपाउनु भएको थियो, त्यसैले उच्चारण गरिएको हो,’ उनले भने, ‘भीडभाड थियो, मञ्चमा आउनु भयो वा भएन मैले विचार गरिन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .