सुदूरपश्चिममा एक साताको अवधिमा बाढी पहिरोले ठूलो मानविय तथा भौतिक क्षति गरेको छ। प्रहरीका अनुसार बाढी पहिरोमा परेर २९ जनाले ज्यान गुमाएका छन् भने ११ जना बेपत्ता रहेका छन्।
सुदूरपश्चिमको पहाडी क्षेत्रका दुई जिल्ला दार्चुला र अछाममा बाढी पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन्। भदौ २५ गते राती शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण दार्चुलाको महाकाली नगरपालिका र नौगाडा गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय (दार्चुला) का अनुसार बाढीपहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्।
बेपत्ताको महाकाली नदी किनारमा खोजी कार्य भइरहेको भए पनि फेला पार्न नसकिएको दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले बताए।
बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३ डुङ्ग्रीकी मानमती कार्की, नौगाड–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको हो।
यस्तै, महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहार गरी १० जना बेपत्ता छन्।
दार्चुलामा बाढीपहिरोले वितण्डा मचाएको एक सातामै गत शुक्रबार रातीको अविरल वर्षा पछि आएको पहिरोले अछाममा पहिरोले ठूलो क्षति पुर्यायो।
कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा परेर २२ जनाले ज्यान गुमाएको अछामका डिएसपी नारायण डाँगीले बताए। उनका अनुसार बाढीले ढकारी गाउँपालिकाका एक जना अझै बेपत्ता छन्।
कमलबजार नगरपालिका– ६ का ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामको पहिरोमा पुरिएर मृत्यु भएको डिएसपी डाँगीले बताए।
उनका अनुसार कमलबजार नगरपालिका–८ का २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाईको पनि पहिरोले ज्यान लिएको छ।
तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षीया मनिशा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीया कल्पना शाही र २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, पहिरोमा ज्यान गुमाउनेमा ढकारी गाउँपालिका– ६ का २ वर्षीय बालक नविन बुढा पनि छन्। यता कैलालीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार रातीको बाढीले भजनी नगरपालिका– ८ का ५५ वर्षीय कालुराम चौधरी र धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया युवतीको बाढीमा बगेर मृत्यु भएको हो।
तराइमा बाढीले सयौँ परिवार विस्थापित
सुदूरपश्चिमका तराइका जिल्ला कञ्चनपुर र कैलालीमा गत शुक्रबारको बाढी बस्तीमा पस्दा डुबान हुँदा सयौँ परिवार विस्थापित भएका छन्।
खोला र नदीमा जलस्तर बढेर पानी बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्रमा झन्डै दुई हजार परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीका अनुसार विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेर जोशीपुरमा ४ सय, कैलारीमा १ सय ८०, टीकापुरमा १ सय ७५, भजनीमा १ हजार ५०, जानकी गाउँपालिकामा ९५, लम्की चुहामा १ सय ५०, धनगढी उपमहानगरमा १५ परिवार गरि २ हजार ५५ घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको बताए ।
यस्तै, टीकापुरमा ७० र जानकीमा ६५ परिवार र भजनी नगरपालिकामा ८ सय जना बिस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय काँडा, कान्द्रा, पथरिया, कटनी, मोहना र कर्णाली नदीको बाढी पसेर दक्षिणी पुर्वी क्षेत्रमा पर्ने टीकापुर, भजनी नगरपालिका, जोशीपुर, कैलारी र जानकी गाउँपालिका डुबानमा परेका हुन।
कञ्चनपुरको बनहरा र दोदा नदीको बाढी बस्ती पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढीले प्रभावितलाई उद्धार गरेर स्थानीय विद्यालयमा राखिएको छ ।
लालझाडी गाउँपालिकाको वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरूमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले बताए ।
यस्तै, कृष्णपुर नगरपालिका ५ को पवित्रा वस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएको छ । कृष्णपुर–४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन्।
बनहरा नदीको बाढी वस्तीमा पस्दा शुक्लाफाँटा नगरपालिका–११ बनहरा शिविरका ३० परिवार विस्थापित भएका छन्। यस्तै, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिकाका केही स्थानमा पनि बाढीले क्षति पु¥याएको डिएसपी शाहले बताए।
Shares
प्रतिक्रिया