गाउँघरमा दसैँँको रौनक छाएको छ। टीकाको दिन नजिकएसँगै बूढापाका आफन्तजनको हातबाट टीका थाप्न बाहिर रहेकाहरू घर फर्किरहेका छन्।
चाडबाडमा साथीभाइ इष्टमित्रसँग भेटघाटसमेत हुने भएकाले गाउँघर रमाइलो बनेको छ। तर कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित वृद्धाश्रमलाई भने दसैँले छुन सकेको छैन।
दार्चुलाकी पार्वतीदेवी विष्टलाई दसैँँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ। प्रत्येक वर्ष आउने चाडबाडले घरपरिवारको न्यास्रो लाग्छ, उनलाई।
एक दशकभन्दा बढी समयदेखि वृद्धाश्रममा बसिरहेकी पार्वतीले श्रीमान् पनि वृद्धाश्रममै गुमाइन्।
चाडबाड आउँदा उनलाई श्रीमान्को सम्झना आउँछ। तर श्रीमान् कहिल्यै नआउने गरेर अस्ताएका छन्। चाडबाड मनाउन उनको घरमा कुनै मान्छे छैन।
‘आफन्त नहुनेलाई चाडबाड आउनु र नआउनु उस्तै हो, चाडबाडले बरु परिवारको सम्झना गराइदिन्छ, एक्लो महसुस गरिन्छ’, उनी भन्छिन्।
श्रीमानको उपचार खर्चका लागि भएको घरखेत बेच्नु परेपछि बिचल्लीमा परेकी उनी १३ वर्षअघि वृद्धाश्रममा आएकी हुन्।
‘सन्तान कोही छैनन्, भएका श्रीमान् पनि ६/७ वर्ष अगाडि वृद्धाश्रममै बिते’, उनले भनिन्।
डडेल्धुराकी ९४ वर्षीया गंगादेवी भट्टले ८ वर्षअघि भएको एउटा छोरा गुमाइन्। बुहारीले पाल्न सक्दिनँ भनेपछि उनी पनि वृद्धाश्रममा जीवन काटिरहेकी छन्।
‘दसैँँ, तिहारलगायत चाडबाडमा परिवारको याद आउँछ, तर के गर्नु छोरा भगवानले लग्यो, बुहारी भेट्नै आउँदिनन्’, भावुक हुँदै उनले नेपालखबरसँग भनिन्, ‘छोरा हुँदा रमाइलो गरेर चाडबाड मनाउँथ्यौँ, अहिले त नरमाइलो मात्रै लाग्छ।’
वर्ष दिनको दसैँँ मनाउन सबै आआफ्ना घर जान्छन्। तर वृद्धाश्रममा बसेका वृद्धवृद्धाहरूका निम्ति वर्ष दिनको चाड नरमाइलो बन्ने गरेको छ।
१४ वर्षदेखि वृद्धाश्रममा बसिरहेकी डडेल्धुराकै दोप्रती जोशीलाई सहारा दिने आफन्त कोही नभएपछि दसैँँ आउँदा रमाइलो लाग्दैन।
उनी अहिले शारीरिक रूपमा अशक्त छन्। ‘दसैँँमा गाउँले ठाढा टाढाका आफन्त आउथे, मीठो मीठो खानेकुरा खाने, रमाइलो गर्ने गरिन्थ्यो, अहिले ती दिन सम्झँदा पनि भक्कानो छुटेर आउँछ’, उनले भनिन्, ‘अहिले यहाँ अर्काको सहारामा बस्नुपरेको छ, आफ्नो भन्ने कोही छैन, कति बेला देलान् र खाउँला भनेर बस्नुपर्छ।’
घरपरिवारसँग चाडबाड नमनाए पनि वृद्धाश्रममै खुसी साथ दसैँँ मनाउने गरिएको कमला साउदले बताइन्। ‘१०÷११ वर्ष भन्दा बढी भयो, वृद्धाश्रममै अग्रज वृद्धवृद्धाबाट टीका थाप्छौँ, परिवार नभए पनि परिवारको न्यास्रो मेटाउने गरेर वृद्धाश्रमलाई परिवारै मनाएर चाडबाड मनाउँछौँ’, उनले भनिन्।
वि.सं. २०५७ मा स्थापना भएको बैजनाथ धाम वृद्ध सेवा केन्द्रमा अहिले १६ जना वृद्धवृद्धाले आश्रय लिइरहेका छन्। सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, बझाङ, डोटीलगायत जिल्लाबाट आफन्तविहीन वृद्धवृद्धा आश्रममा छन्।
चाडबाडमा वृद्धवृद्धाले खिन्नता महसुस नगरुन् भनेर आफन्तबिना वृद्धाश्रममै चाडबाड मनाएर खुसीयाली साट्ने गरिएको सेवा केन्द्रका चौकीदार बहादुरसिंह विष्टले बताए।
‘कोही आफन्त नभएकाहरू पनि यहाँका वृद्धवृद्धाबाट टीका लगाउन आउँछन्, मीठा मीठा खानेकुरा पकाएर खुवाउँछन्’, उनले भने, ‘परिवारको न्यास्रो मेटाउन वृद्धाश्रममै चाडबाड मनाउँछौँ।’
Shares
प्रतिक्रिया