ad ad

सुदूरपश्चिम


मान्छे मार्ने बाघ समातिएको कञ्चनपुरमा अर्काे बाघको त्रास

मान्छे मार्ने बाघ समातिएको कञ्चनपुरमा अर्काे बाघको त्रास

फाइल तस्बिर


गोकुल जोशी
साउन १९, २०८१ शनिबार ११:४२, कञ्चनपुर

महिला मार्ने बाघ पक्रिएकै दिन शुक्रबार राति हिंस्रक जनावरले गोठका वस्तुभाउ खाएपछि कञ्चनपुरको दोधारा चाँदनीका स्थानीय थप त्रासमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार गएराति दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाडीमा बाघजस्तै जनावरले तीन बाख्रा मारेको पाइएको हो। 

गत बिहीबार बिहान गाउँकी २६ वर्षीया हीरा शाहको ज्यान लिएर नजिककै उखुबारीमा लुकेको बाघ झन्डै २४ घण्टापछि शुक्रबार बिहान मात्र नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको घाइते बाघ बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुर उद्धार केन्द्रमा राखिएको छ।

त्यसको त्रास सेलाउन नपाउँदै त्यही उखुबारीनजिकै शुक्रबार राति फेरि बाघजस्तै जनावर देखेको स्थानीयले बताएका छन्। 

राति प्रहरीले घरबाहिर ननिस्किन सो क्षेत्रमा माइकिङ गरेको थियो। बाघजस्तो शंकास्पद जनावर देखिएको भनिएको ठाउँमा पाडो पनि बाँधिएको थियो। तर त्यो सकुशल पाइएको छ।

तर दोधारा चाँदनी-३ मा हिंस्रक जनावरले तीन बाख्रा खाएको पाइएको छ। ती बाख्रा चितुवाले मारेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

‘पदचाप र बाख्रा खाएको तस्बिर हेर्दा चितुवाजस्तो अनुमान गरेका छौँ। हामी प्रत्यक्षदर्शी र घटनास्थल हेरेर विस्तृत अध्ययन गरेर खोजीमा लाग्छौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले नेपालखबरसँग भने, ‘सामान्यतया दुई बाघ एकै ठाउँमा बस्दैनन्। बाघले सिकार गर्न परे आहारा पुग्ने गरी ठूलो जनावरको गर्छ। चितुवालाई सानै सिकारले पनि पुग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .