सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले सोमबार मुख्यमन्त्री शाहलाई शपथ खुवाए। नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता शाह आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए।
सोमबार नै प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्।
नेपाली कांग्रेसका बहादुर सिंह थापाले आर्थिक मामिला तथा योजना मन्त्रालय र मेघराज खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै प्रकाश बहादुर बमले आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सरस्वती खड्काले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।
नेकपा एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयमा सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बिरबहादुर थापा नियुक्त भएका छन्।
उनीहरू दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि सामेल भएका थिए। भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा निर्मला देवी साउद नियुक्त भइन्।
नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए।
Shares
प्रतिक्रिया