प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन्। देशभर जस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरका ४४ जना उम्मेदवारहरू यतिबेला मतदाता आफ्नो पक्षमा तान्ने कसरतमा छन्।
उम्मेदवार मतदाता फकाउन दौडधुप गरिरहेका बेला हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारका मतदाताहरू भने जग्गाधनी पुर्जाका लागि दौडधुपमा छन्। टोलमा मत माग्न आएका उम्मेदवारसँग उनीहरूले चुनावी आश्वासनभन्दा अघि लालपुर्जा दिलाइदिन माग गरिरहेका छन्।
शनिबार (२४ माघ) बिहान मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ सिमलटारमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू मत माग्न आउने कार्यक्रम थियो। यसको तयारीमा जुटिरहेका थिए यहाँका स्थानीयहरू।
बिहानको ९ बजेतिर सिमलटार टोल विकास समितिका सचिवले माइक र स्पिकरको व्यवस्था मिलाए। भूमि अधिकार मञ्च मकवानपुरका अध्यक्षले ध्यानाकर्षण पत्र तयार गरे।
वरपरका स्थानीयहरू उम्मेदवारको पर्खाइमा चोकमा जम्मा भएर बसेका थिए। घाम ताप्दै गफिरहेका उनीहरूको गुनासो एउटै थियो, ‘खै त जसले जितेपनि लालपुर्जा पाउने होइन! चुनाव आएपछि भोट माग्न आउनेको लर्को लाग्छ। जितेपछि न पुर्जा पाइन्छ, न त जितेर गएकाहरूको अनुहार नै देख्न पाइन्छ।’

सोही टोलका वीरेन्द्र खड्की यो भन्दा अगाडिका धेरै निर्वाचनहरूमा लालपुर्जा दिन्छौँ, जिताइदिनुस् भन्दै नेताहरू भोट माग्न आउने गरेको बताउँदै थिए। तर, आफ्ना समस्या ज्यूँका त्यूँ रहेको उनको गुनासो थियो।
‘अरु बेला यो टोलमा कोही नेताको अनुहार देख्न पाइँदैन, चुनावका बेला दिनदिनै लर्को लाग्छ,’ उनले भने, ‘हामीले सधैँ आश्वासन मात्रै पायौँ। अघिल्लो निर्वाचनमा सबै उम्मेदवारहरू आउनुभयो। तीन महिनाभित्र लालपुर्जा दिलाउने जिम्मा हाम्रो हो भन्नुभएको थियो। तर आजसम्म पनि हामीले पुर्जा पाएनौँ।’
सोही टोलकी लक्ष्मी विश्वकर्माले पनि वीरेन्द्रको कुरामा सही थप्दै भनिन्, ‘यहाँ बस्न थालेदेखि हामी लालपुर्जाको लडाइँमा छौँ। सानासाना बच्चा च्यापेर कति आन्दोलनहरूमा सहभागी भयौँ। तर कहिल्यै जग्गाधनी पुर्जा पाएनौँ। कति आमाबुबाहरू पुर्जा माग्दामाग्दै बृद्ध भएर बितिसक्नु भएको अवस्था छ। चुनाव आएपछि लालपुर्जाको कुरा अलि बढी उठ्ने र सकिएपछि सेलाउने भैरहेको छ।’
आफ्नो जग्गाको नापजाँच भैसकेपछि सेतो कार्ड पाइएको उनले बताइन्। विकास निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले धेरै काम गरेपनि लालपुर्जा भने नपाइएको उनको गुनासो थियो।
टोलमा आउन लागेका उम्मेदवारलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेर कुरिरहेका सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले उम्मेदवारको एजेण्डा बनेको लालपुर्जाको विषय आफूहरूको लागि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बताए।
उनका अनुसार २०५२ पुस ६ गतेबाट बजार नजिकको खाली बस्तीमा भूमिहीन नागरिकहरूले पाल टाँगेर सुरु गरेको बस्तीमा अहिले २२/२३ सय घरधुरी रहेका छन्।
३० वर्षअघि बसेको बस्तीका नागरिहरूका लागि आवश्यक सबै भौतिक विकास भए पनि जग्गाधनी पुर्जाको लडाइँ भने कहिल्यै नसकिएको उनको गुनासो छ।
‘राप्ती नदीको बगरमाथि पाल टाँगेर बस्ती बसालिएको यहाँ नदीलाई छेकथुन गर्दै रातदिन ज्यानलाई जोखिम मोलेर बस्दै आइएको थियो,’ अध्यक्ष थोकरले भने, ‘सुरुवाती अवस्थामा ३/४ सय घरधुरी थिए। अहिले करिब २२/२३ सय घरधुरीले बसोबास गर्दै आएका छन्। विगतदेखि नै विभिन्न राजनीतिक दलहरूले चुनावी माहोल बनाउने थलोको रुपमा विकास भैरहेको छ।’
स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचनसम्मका उम्मेदवार लालपुर्जाकै एजेण्डा लिएर मत माग्न आउने गरेको उनी बताउँछन्।
उनले भने, ‘यो पार्टी त्यो पार्टी भनेर नाम नतोकौँ। सबै पार्टीका सबै उम्मेदवारको कुरा र व्यवहार एउटै छ।’
उनका अनुसार टोलमा जग्गाको नापजाँच सकिएको छ। वडा कार्यालयले पनि हेटौँडा उपमहानगरपालिकालाई सिफासिर गरेर पठाएको छ। तर नगरपालिकाबाट भूमिसम्बन्धी समस्या समाधान आयोगमा नपुगेको कारण पुर्जा लिन नपाएको उनी बताउँछन्।

शनिबार स्थानीयले पर्खिरहेकै अवस्थामा बिहान १०ः३० बजेतिर नेकपा एमालेका तर्फबाट मकवानपुर–२ का उम्मेदवार महेश कुमार बर्तौला सिमलटार टोलमा उपस्थित भए। टोलबासीले खादा लगाएर उनको स्वागत गरे। टोल विकास संस्थाको पूर्वनिर्धारित कार्यक्रम अनुसार अध्यक्ष देबले बर्तौलाई ध्यानाकर्षण पत्र पढेर सुनाए।
पत्रमा लेखिएको छ, ‘चुनावका बेला मत माग्न आउनुभएकाहरूलाई सिमलटार टोल विकास संस्थामा स्वागत छ। उम्मेदवारहरूको घोषणापत्रमा भूमि अधिकार सम्बन्धी मागहरू समेटी पूर्णरुपमा कार्यान्वयन गर्नुहुन अनुरोध छ।’
उनीहरूले खेतीयोग्य जमिन र बसोबास गरिएको जमिनको लालपुर्जा विरतण कार्यलाई तीव्रता दिन आग्रह गरे।
घरदैलो कार्यक्रममा आएका उम्मेदवार महेश बर्तौलाले अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीको जग्गाधनी पुर्जाको लागि आफू सदैव अघि बढेको बताए। ३२ महिना संसदीय भूमिकामा रहँदा पहिलो प्राथमिकता नै भूमिहीन सुकुम्बासीहरूको जग्गाधनी पुर्जाको लागि आवाज उठाएको स्मरण गरे।
उनले भने, ‘मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत हेटौँडाको ३, १९ र ११ नम्बर वडा लगाएत अन्य भेगहरूमा पनि यो समस्या छ। त्यसमा पनि नगरभित्रको मुख्य समस्याको रुपमा धेरै भूमिहीन नागरिक रहेको ठूलो क्षेत्र सिमलटार क्षेत्र हो। यो सहित भूमिहीन समस्याको समाधान गर्न मैले सदनमा पनि धेरै आवाज उठाएँ। ऐन बनाउन भूमिका खेलेँ। कार्यकारीको अधिकार नभए पनि झकझकाउने काम गरिरहेँ।’
आगामी निर्वाचमा निर्वाचित भएपछि पनि पहिलो आवाज नै लालपुर्जाका लागिरहने उनले बताए। बर्तौलाले थपे, ‘माथिबाट कानुन बनाउन मेरो भूमिका रहे पनि लालपुर्जाको प्रक्रिया तल्लो वडा तहबाटै हुने हो। वडाले सिफारिस गरेपछि नगरमा फाइल पुग्छ। नगरबाट आयोगमा पुगेपछि मात्रै लालपुर्जाको प्रक्रिया अघि बढ्ने हो।’
टोल विकास संस्थाका अध्यक्षका अनुसार यसअघि टोलमा आएका उम्मेदवारहरूलाई पनि यही ध्यानाकर्षण पत्र दिइएको थियो।
आगामी दिनमा जो भोट माग्न टोलमा आउँछन्, उनीहरूलाई जग्गाधनी पुर्जा खोइ? भन्दै प्रश्न गर्ने तयारी गरेर बसेको उनी बताउँछन्।
टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरका उनका अनुसार यस टोल विकास समितिमा २३ सय भन्दा बढी घरधुरीहरू छन्। २ नम्बर क्षेत्रका लागि उम्मेदवारी दर्ता गरेका २१ जनामध्ये धेरैजना टोलमा आइपुगिसकेको उनीहरूले बताए।
मकवानपुर–२ मा पर्ने यस टोललाई हरेक उम्मेदवारले भोट बैंकको रुपमा लिने गरेको स्थानीयको गुनासो छ।
Shares

प्रतिक्रिया