बागमती


सिन्धुली-२ : नेकपामा बागी हुँदा ‘माओवादी गढ’ भत्काउने दाउमा अन्य दल

१२ वर्षपछि ‘कमब्याक’ हुने रणनीतिमा कांग्रेस, हरिबोलकै भतिजा उठाएर जित्ने आशामा रास्वपा
सिन्धुली-२ : नेकपामा बागी हुँदा ‘माओवादी गढ’ भत्काउने दाउमा अन्य दल

तस्बिर क्रमशः लेखनाथ दाहाल (नेकपा), महेश्वर दाहाल (बागी), सुशीला थिङ (कांग्रेस), मनोजजंग थापा (एमाले), मुकुन्द गजुरेल (राप्रपा) र आशिष गजुरेल (रास्वपा)


सुनिता विष्ट
माघ २७, २०८२ मंगलबार ११:२४, हेटौँडा

तत्कालीन नेकपा माओवादी केन्द्रको गढ मानिने सिन्धुली-२ मा चुनावी सरगर्मी बढेको छ। अघिल्ला निर्वाचनमा प्रायः माओवादीले नै जितिरहेको क्षेत्र हो यो।

यसपटक भने ऊ यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रूपमा चुनाव लड्दै छ। साथै बागी उम्मेदवारी पनि परेकाले उसलाई चुनाव जित्न सकस पर्ने देखिएको छ।

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा ५ स्वतन्त्रसहित १६ उम्मेदवार छन्।

यसअघिका निर्वाचन नतिजा हेर्ने हो भने यहाँ मुख्य प्रतिस्पर्धी तत्कालीन माओवादी हाल नेकपा, नेकपा एमाले र नेपाली कांग्रेस हुन्।

तर पछिल्लो समय प्रभाव बढाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल र नेकपाबाट बागी उम्मेदवारी दिएका महेश्वर दाहालका कारण यसपटक त्यस चुनावी अंकगणित फरक हुने देखिन्छ।

बागी उम्मेदवारी दिएकै कारण नेकपाले यसमा प्रस्तावक बनेका नेता हरिबोल गुजरेल र उम्मेदवार दाहाललाई पार्टीबाट निष्कासन गरिसकेको छ।

जहाँ तत्कालीन माओवादीले २०६४ यता भएका चार चुनावमध्ये तीनवटा जितेको थियो। २०६४ मा संविधान सभा तथा २०७४ र २०७९ का प्रतिनिधि सभा निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए। यसबिच माओवादीले २०७० मा भएको दोस्रो संविधान सभा चुनाव मात्र हारेको थियो। यो चुनाव कांग्रेसले जितेको थियो।

उक्त क्षेत्रमा २०६४ मा माओवादीका चन्द्रप्रसाद गजुरेल, २०७० मा कांग्रेसका मोहनप्रसाद बराल, २०७४ मा फेरि माओवादीका हरिबोल गजुरेल र २०७९ मा माओवादीकै लेखनाथ दाहाल (राजन) ले चुनाव जितेका थिए। 

यसरी तीन चुनाव जितेको सिन्धुली-२ मा यसपटक भने बागी उम्मेदवारका कारण माओवादीको त्यो विरासत जोगाउन नेकपालाई चुनौतीपूर्ण हुने देखिन्छ। 

२०६४ अघिको कुरा गर्नुपर्दा यहाँ २०४८ को निर्वाचनमा कांग्रेसका प्रकाश कोइराला विजयी भएका थिए भने २०५१ को चुनावमा पनि कांग्रेसकै हेमराज दाहाल निर्वाचित भएका थिए। अनि २०५६ को चुनाव एमालेका शंकरनाथ अधिकारीले जितेका थिए।

त्यसयता माओवादीको गढका रूपमा परिचित सिन्धुली-२ मा नेकपाले यसअघिको प्रतिनिधि सभा निर्वाचन जितेका लेखनाथ दाहाललाई नै उम्मेदवार बनाएको छ। तर उनलाई काउन्टर दिनेगरी जिल्लाका प्रभावशाली नेता गजुरेलकै नेतृत्वमा बागी उम्मेदवार उठाइएको हो।

टिकट नपाएपछि बागी उम्मेदवार बनेका महेश्वर नै यसपटक लेखनाथका लागि चुनौती हुने देखिन्छ। 

यही मौकामा अन्य दल भने माओवादीको गढ भत्काएर सिन्धुली-२ मा जित हासिल गर्ने दाउमा छन्।

२०७४ को निर्वाचनमा विजयी माओवादी उम्मेदवार हरिबोल गजुरेलले ३० हजार १७९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्र जंग थापा १८ हजार १२७ मत  ल्याएका थिए। 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीबाटै विजयी लेखनाथले २७ हजार ५१७ मत प्राप्त गरेका थिए। उनले एमालेका मनोजजंग थापालाई ५ हजार ८३० मतान्तरले हराएका थिए। त्यतिबेला उनी कांग्रेस र नेकपा एकीकृत समाजवादीसमेतको गठबन्धनबाट उम्मेदवार बनेका थिए। 

यसपटक पनि आफ्नै जित हुनेमा कुनै शंका नभएको दाबी गर्छन् लेखनाथ दाहाल। 

‘गठबन्धन हुँदाजस्तो डर नहुँदो रहेछ। गठबन्धन हुँदा मत विभाजन हुने डर धेरै हुन्थ्यो’, उनले नेपालखबरसँग भने, ‘अहिले सबै दलहरू एक्लाएक्लै निर्वाचनमा जाँदा आआफ्ना मत जोगाउँछन्। जसले गर्दा नेकपालाई झन् फाइदा हुन्छ। पर्टीको संगठित मत र जनताको मत गरेर म ५ हजारभन्दा बढी मतान्तरले विजयी हुन्छु।’

बागी उम्मेदवार महेश्वरका कारण आफूलाई कुनै क्षति नहुने जिकिर पनि उनले गरे। भन्छन्, ‘बागी उम्मेदवारले नेकपालाई क्षति पुर्‍याउँछ भन्ने लाग्दैन। सामाजिक सञ्जालमा भ्रम फैलाउँदैमा केही हुने होइन। उहाँको उम्मेदवारी जनतालाई चासोको विषय पनि बनेको छैन।’

साख फर्काउने दाउमा कांग्रेस
यसअघि एकजुट भएर लगालग चुनाव जितेका तत्कालीन माओवादीका नेताहरू दुईधारमा विभाजन हुँदा सिन्धुली-२ मा कांग्रेस ‘कमब्याक’ हुने रणनीतिमा जुटेको छ।

कांग्रेसबाट यहाँ सुशीला थिङ उम्मेदवार छिन्। २०७० को साख फर्काउने जिम्मेवारी उनको काँधमा छ।

पहिलोपटक प्रतिनिधि सभाको टिकट पाएकी उनी सुरुमै ‘हभिवेट’ पुरुष उम्मेदवारसँग भिड्दै छिन्। 

२०७९ को निर्वाचनबाट भने सुशीला समानुपातिक सांसद बनेकी थिइन्। पार्टीले उनलाई सचेतकको जिम्मेवारीसमेत दिएको थियो।

पार्टी बदलिएको नारा लिएर मतदातामाझ पुगिरहेको कांग्रेस एकढिक्का भएर तत्कालीन माओवादीको गढ भत्काउँदै १२ वर्षपछि विरासत फर्काउने कसरतमा लागेको छ। 

शक्ति देखाउने रणनीतिमा एमाले
सिन्धुली-२ मा नेकपा एमालेबाट मनोजजंग थापा चुनावी मैदानमा छन्।

२०७९ को निर्वाचनमा माओवादीका लेखनाथसँग ५ हजार मतान्तरले हारेका थापा यसपालि बदला लिने दाउमा छन्। तर २०४८ पछिका ७ निर्वाचनमध्ये २०५६ मा मात्रै विजयी एमालेको जनमत यस क्षेत्रमा कमजोर देखिन्छ।

थापाले अघिल्लो निर्वाचनमा २१ हजार ६८७ मत प्राप्त गरेका थिए।

बेदागी नेताको परिचय बनाएका थापालाई जिताउन सिंगो पार्टी लागिपरेको एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए। उनका अनुसार पाँचवटा स्थानीय तह रहेको सिन्धुली-२ मा नेकपाले पहिलो चरणअन्तर्गत सबै स्थानीय तहमा पालिकास्तरको कार्यक्रम सकिसकेको छ।

‘हामीले चुनावी अभियानलाई तीव्रता दिइरहेका छौँ। सबैले चाहेको नेतालाई उम्मेदवार बनाउन पाउँदा एमालेभित्र कुनै तिक्तता छैन’, अध्यक्ष श्रेष्ठले नेपालखबरसँग भने, ‘पार्टीमा एकजुट छौँ। हालसम्म ८० वटा वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिसकेका छौँ। अघिल्लोपटक समानुपातिकतर्फ पहिलो हुनेगरी आएको मतलाई यो पटक प्रत्यक्षतर्फ बदल्छौँ। सबै दलहरू एकल निर्वाचनमा होमिएका कारण एमालेले ढुक्कले जित्छ।’

जिल्लामा एमाले सबैभन्दा ठुलो दल भएका कारण संगठित मतको शक्तिले जित्ने उसको आशा छ।

कम्युनिस्टको किल्ला भत्काउने तयारीमा रास्वपा
रास्वपा पनि सिन्धुली-२ मा कम्युनिस्टको किल्ला भत्काउने प्रयासमा लागेको छ। २०७९ को निर्वाचनमा भने रास्वपाबाट उम्मेदवार बनेका अनोजकुमार दाहाल १ हजार ५५३ मत ल्याएर तेस्रो भएका थिए।

यसपटक रास्वपाले जित्ने राणनीतिका साथ सिन्धुली बुझेका नेता आशिष गजुरेललाई अघि सारेको हो। 

उनी बागी उम्मेदवार उठाएका कारण नेकपाबाट निकालिएका हरिबोलका भतिजा हुन्।

जिल्लामा रास्वपाको बलियो संगठन नभए पनि सहरी क्षेत्रका मतदाताले उसलाई मत दिने आकलन गरिएको छ।

चुनावी माहोल रास्वपामय भएको भन्दै सिन्धुली-२ मा नयाँ शक्तिको उदय हुने दाबी गर्छन्- रास्वपाका उम्मेदवार गजुरेल।

त्यसो त यस क्षेत्रमा उम्मेदवार बनेका नयाँ दल श्रम संस्कृति पार्टीका इन्द्रबहादुर विक, राप्रपाका मुकुन्दप्रसाद गजुरेल, मंगोल नेसनल अर्गनाइजेसनका शान्तवीर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्मलकुमार स्याङ्तानले ठुला दलको अंकगणित फरक पार्न सक्छन्।

यस्तै यहाँ खड्कबहादुर वाइवा, नरहरि पौडेल, माधवप्रसाद न्यौपाने र सरोज विकले पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

यस्तो छ विगतको समानुपातिक मत
२०७९ को निर्वाचनको समानुपातिक मत हेर्ने हो भने यस क्षेत्रमा सबैभन्दा बलियो एमाले देखिन्छ। १७ हजार १४९ समानुपातिक मत ल्याउँदै ऊ पहिलो भएको थियो। 

प्रत्यक्षतर्फ जित हासिल गरेको माओवादी केन्द्रले समानुपातिक मत १५ हजार ८२६ ल्याएको थियो भने भने तेस्रो स्थानमा रहेको कांग्रेसले १३ हजार ३४९ मत पाएको थियो।

रास्वपा भने ३ हजार ९५४ समानुपातिक मत ल्याउँदै चौथो स्थानमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad