समकालीन विश्व व्यवस्थामा उदार लोकतन्त्र क्रमशः पुँजीवादी प्रभुत्व, वित्तीय कुलीनतन्त्र र संरचनात्मक असमानताबाट खोक्रिँदै गएको छ। निर्वाचन प्रक्रिया जीवित छ, तर जनसत्ताको वास्तविक अभ्यास क्षीण हुँदै गएको छ। यस लेखले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई लोकतान्त्रिक समाजवादको एक कम अध्ययन गरिएको तर विश्वव्यापी रूपमा अत्यन्त सान्दर्भिक सैद्धान्तिक ढाँचाका रूपमा पुनः मूल्याङ्कन गर्दछ।
पुँजीवादी शक्ति, राजनीतिक प्रतिस्पर्धा र वर्गीय प्रतिनिधित्वबीचको सम्बन्धलाई वस्तुवादी विश्लेषणमार्फत अध्ययन गर्दै, यो लेखले जबज उदार लोकतन्त्र र अधिनायकवादी समाजवाद दुवैको विकल्पका रूपमा उभिन सक्ने तर्क प्रस्तुत गर्दछ।
ऐतिहासिक दोधारमा उभिएको लोकतन्त्र
शीतयुद्धपछिको विश्वले ‘विचारधाराको अन्त्य’ र उदार लोकतन्त्रको अन्तिम विजयको घोषणा ग¥यो। तर तीन दशक नबित्दै यो दाबी गहिरो संकटमा परेको छ। विकसित र विकासोन्मुख दुवै समाजमा लोकतन्त्र औपचारिक प्रक्रियामा सीमित हुँदै गएको छ, जबकि आर्थिक शक्ति सीमित पुँजीवादी समूहको हातमा केन्द्रित छ।
कानुनी रूपमा सबै नागरिक समान भए पनि भौतिक असमानताले राजनीतिक निर्णय प्रक्रियालाई निर्णायक रूपमा प्रभावित गरिरहेको छ। यही ऐतिहासिक विरोधाभास, औपचारिक लोकतन्त्र र वास्तविक आर्थिक बहिष्करण आजको विश्व राजनीतिको केन्द्रीय संकट हो।
यही सन्दर्भमा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) नयाँ वैचारिक महत्वका साथ पुनः उपस्थित हुन्छ। यो कुनै स्थानीय राजनीतिक सम्झौता मात्र होइन, बरु लोकतन्त्र र समाजवादबीचको दीर्घकालीन सैद्धान्तिक द्वन्द्व समाधान गर्ने गम्भीर प्रयास हो।
जबजलाई प्रायः मार्क्सवादबाट विचलन वा केवल बहुदलीय प्रणालीको स्वीकारोक्ति भनेर व्याख्या गरिन्छ। तर यस्तो दृष्टिकोणले यसको गहिरो सैद्धान्तिक आशय बुझ्न सक्दैन। जबजले वर्ग विश्लेषण त्याग्दैन; बरु वर्गसंघर्षलाई लोकतान्त्रिक बहुदलीय संरचनाभित्र पुनर्संरचित गर्दछ।
जबजका तीन मूल आधार छन्
२. समाजवाद जनताको स्वीकृति, संस्थागत वैधता र निरन्तर सहभागिताबाट निर्माण हुन्छ।
३. जबज अधिनायकवादी समाजवादी मोडेलहरूसँग स्पष्ट रूपमा भिन्न छ, जहाँ राजनीतिक एकरूपतालाई वर्गीय एकताको नाम दिइयो र अन्ततः जनविमुखता उत्पन्न भयो।
पुँजीद्वारा लोकतान्त्रिक प्रतिस्पर्धा कब्जा
आज जबजले सामना गरिरहेको प्रमुख चुनौती यसको सिद्धान्तभित्र होइन, यसले काम गर्नुपरेको पुँजीवादी संरचनाभित्र निहित छ। विकसित पुँजीवाद अन्तर्गत राजनीतिक प्रतिस्पर्धा स्वयं वस्तुकरण भएको छ।
निर्वाचन जित्ने क्षमता विचार, संगठन र जनआधारभन्दा बढी आर्थिक स्रोत, सञ्चारमाध्यम र शक्ति सञ्जालमा निर्भर बन्दै गएको छ। परिणामस्वरूप राजनीतिक दलहरू वैचारिक रूपमा कमजोर तर चुनावी रूपमा ‘कुशल’ बन्दै गएका छन्। नेतृत्व चयन वर्गीय प्रतिबद्धताभन्दा आर्थिक क्षमतामा आधारित हुँदै गएको छ।
नीति निर्माण पुनर्वितरणभन्दा ‘बजारको विश्वास’ केन्द्रित भएको छ। यो प्रक्रिया जबजका लागि सबैभन्दा गम्भीर खतरा हो। जहाँ बहुदलीयता बाँकी रहन्छ, तर यसको वर्गीय आत्मा क्षय हुँदै जान्छ।
वर्गीय प्रतिनिधित्वको क्षय
जबजको मूल उद्देश्य उत्पीडित वर्गलाई सत्तामा पु¥याउनु हो। तर व्यवहारमा, श्रमिक, किसान र आर्थिक रूपमा कमजोर वर्गहरू राजनीतिक निर्णय प्रक्रियाबाट क्रमशः पाखा लाग्दै गएका छन्।
निर्वाचन खर्च, पेसेवर पार्टी संरचना र प्राविधिक शासनले आर्थिक रूपमा कमजोर वर्गलाई राजनीतिक प्रतिस्पर्धाबाट बाहिर धकेल्छ। यसले एउटा गहिरो विरोधाभास जन्माउँछ।
मताधिकार त सबैसँग हुन्छ, तर निर्णय क्षमतामा सबै समान हुँदैनन्।
यो अवस्था मार्क्सले भनेको आर्थिक आधारले राजनीतिक अधिरचनालाई नियन्त्रण गर्ने नियमको आधुनिक रूप हो। आर्थिक लोकतन्त्रबिनाको राजनीतिक लोकतन्त्र दीर्घकालीन हुन सक्दैन।
उदार लोकतन्त्रको विश्वव्यापी संकट र जबज
आज विश्वभर उदार लोकतन्त्र विश्वास संकटमा छ। जनआक्रोश, अतिवाद, निरंकुश प्रवृत्ति र ध्रुवीकरण बढ्दै गएको छ। यसको मूल कारण लोकतन्त्र धेरै भएको होइन, लोकतन्त्र सामाजिक–आर्थिक सामग्रीबाट रिक्त हुनु हो।
जबजको सैद्धान्तिक योगदान यहीँ छ। यसले दुई अतिवादलाई अस्वीकार गर्छ ः बजार स्वतन्त्रताले स्वतः मानवीय स्वतन्त्रता दिन्छ भन्ने नवउदारवादी भ्रम र बहुदलीयता समाजवादको बाधक हो भन्ने अधिनायकवादी सोच।
यसको सट्टा जबजले लोकतन्त्रलाई आर्थिक क्षेत्रमा विस्तार गर्ने र समाजवादलाई राजनीतिक रूपमा लोकतान्त्रिक बनाउने द्वन्द्वात्मक समाधान प्रस्ताव गर्छ।
समकालीन अवस्थामा जबजलाई प्रभावकारी बनाउने हो भने केही आधारभूत संरचनात्मक रूपान्तरण अनिवार्य छन्। ती हुन् :
राजनीतिक वित्तको लोकतान्त्रीकरण : चुनावी प्रतिस्पर्धालाई पुँजीवादी नियन्त्रणबाट मुक्त गर्न कडा वित्तीय नियमन, सार्वजनिक चुनावी खर्च र पूर्ण पारदर्शिता आवश्यक छ।
वर्गीय संगठनको पुनर्निर्माण : श्रमिक–किसान नेतृत्व विकास, आधारभूत तहको नीति सहभागिता र निरन्तर वैचारिक प्रशिक्षण बिना जबज केवल नारामा सीमित हुन्छ।
आर्थिक लोकतन्त्र : सहकारी, रणनीतिक क्षेत्रमा सार्वजनिक स्वामित्व, श्रमिक सहभागिता र सामाजिक सुरक्षा बिना राजनीतिक समानता अपूरो रहन्छ।
नवउदारवाद र निरंकुशताबीच विकल्प खोजिरहेको विश्वका लागि जबज लोकतान्त्रिक, बहुदलीय र वर्ग–सचेत समाजवादको सशक्त सैद्धान्तिक आधार बन्न सक्छ।
संकटभित्रको सम्भावना
जनताको बहुदलीय जनवाद आज चुनौतीमा छ, तर यो यसको असफलता होइन। यो यसको ऐतिहासिक परीक्षा हो। पुँजीवादी प्रभुत्व, अवसरवाद र वर्गीय विचलन जबज परित्याग गर्ने कारण होइनन्। बरु यसलाई अझ वैज्ञानिक, साहसी र विश्वसनीय बनाउने अवसर हुन्।
यदि जबजले यी वस्तुगत चुनौतीहरूको सामना गर्दै आफूलाई पुनर्संरचित गर्न सक्छ भने, यसले नेपालका सीमाभन्दा पर लोकतन्त्र र समाजवादबीचको विश्वव्यापी वैचारिक सेतु निर्माण गर्न सक्छ।
यही नै मदन भण्डारीको विचारको गहिरो अन्तर्राष्ट्रिय अर्थ हो। समानताका लागि संघर्ष गर्दा स्वतन्त्रता नत्याग्ने र लोकतन्त्र खोज्दा न्याय नछोड्ने मार्ग।
Shares

प्रतिक्रिया