नेपाली राजनीतिमा आज एउटा सुविधाजनक निष्कर्ष स्थापित हुँदै गएको छ- कांग्रेस सकियो। यो निष्कर्ष विपक्षी दलहरूले होइन, कांग्रेसभित्रै बसेर राजनीतिक जिम्मेवारीबाट पन्छिन खोज्ने नेतृत्वले फैलाएको हो। जब नेतृत्वले आफ्नै पार्टीमाथि विश्वास गर्न छाड्छ, तब त्यो पार्टी कमजोर होइन, अविश्वासको भारले थिचिन्छ। कांग्रेस आज यही मोडमा उभिएको छ।
यो कुरा स्पष्ट रूपमा भन्नैपर्छ- कांग्रेसको संकट विचारको संकट होइन, नेतृत्वको संकट हो। विचार आज पनि कांग्रेससँग छ, इतिहासको रूपमा मात्र होइन, नीति र संरचनाको रूपमा पनि। तर ती विचारलाई निर्णायक राजनीतिक कदममा बदल्ने साहस नेतृत्वसँग छैन। यही कमजोरीले कांग्रेसलाई बिस्तारै निष्क्रिय बनाउँदैछ।
नेपाली कांग्रेस आन्दोलनको गर्भबाट जन्मिएको पार्टी हो। बीपी कोइरालाको कांग्रेस लोकतन्त्रको व्यवस्थापक होइन, राज्य रूपान्तरणको अभियान थियो। उनले सत्ता पाएपछि पनि सत्ता सुरक्षित गर्ने होइन, संरचना बदल्ने जोखिम लिए। भूमि सुधारको बहस, नागरिक स्वतन्त्रताको संस्थागत प्रारम्भ, समावेशिताको वैचारिक आधार- यी सबै कांग्रेसको मूल चरित्र थिए। त्यो कांग्रेस सत्ता गुम्ला भनेर डराउँदैनथ्यो, किनभने उसलाई आफ्नो विचारमाथि भरोसा थियो।
आजको कांग्रेससँग त्यो आत्मविश्वास छैन। बीपीको नाम भाषणमा दोहोरिन्छ, तर बीपीको साहस निर्णयमा देखिँदैन। इतिहासलाई गौरवका रूपमा होइन, ढालका रूपमा प्रयोग गर्ने प्रवृत्ति कांग्रेसको आजको कमजोरी हो। २०४६ पछि कांग्रेसले बारम्बार सत्ता पायो। यही कालखण्डमा कांग्रेसभित्र गुटको राजनीति संस्थागत भयो। सुरुआतमा यसलाई आन्तरिक बहसको स्वरूप मानियो, तर समयसँगै गुटहरू सत्ता नियन्त्रणका स्थायी समूह बने। विचार, नीति र वैचारिक बहस ओझेलमा परे; पद, टिकट र लाभको राजनीति केन्द्रमा आयो।
आज कांग्रेसभित्र निर्णय कसरी हुन्छ? पहिले गुटगत सन्तुलन हेरिन्छ, अनि मात्र पार्टी हित। यो अभ्यासले कांग्रेसलाई एकजुट पार्टी होइन, आन्तरिक प्रतिस्पर्धाको मैदान बनाएको छ।
२०७९ को निर्वाचन कांग्रेसका लागि ठूलो अवसर थियो। संसदको सबैभन्दा ठूलो दल बन्नु सामान्य उपलब्धि होइन। तर त्यो उपलब्धिलाई कांग्रेसले राजनीतिक दिशामा बदल्न सकेन। कारण स्पष्ट छ- नेतृत्वले जितलाई पनि जोखिमको रूपमा हेर्यो। चुनावपछि कांग्रेसले देखाएको व्यवहार जनताका लागि निराशाजनक थियो। परिवर्तनको अपेक्षा बोकेका मतदाताले सत्ता–सन्तुलनको पुरानै खेल देखे।
कांग्रेस सरकारमा हुँदा पनि निर्णायक देखिँदैन, प्रतिपक्षमा हुँदा पनि आक्रामक हुँदैन। यो दोधारले कांग्रेसको छवि सत्ता–उपभोगकर्ता तर जिम्मेवारी–विमुखपार्टीका रूपमा स्थापित गरेको छ। यही छवि आगामी चुनावमा कांग्रेसका लागि सबैभन्दा ठूलो बोझ बन्नेछ।
कांग्रेस नेतृत्वको अर्को ठूलो असफलता नयाँ पुस्तासँगको सम्बन्ध हो। पार्टीभित्र आज स्पष्ट पुस्तागत द्वन्द्व छ। नयाँ पुस्ता परिणाम, जवाफदेहिता र स्पष्टता चाहन्छ। पुरानो नेतृत्व स्थायित्व, सन्तुलन र नियन्त्रण चाहन्छ। समस्या पुस्तामा होइन, संरचनामा छ। निर्णय प्रक्रियामा सीमित घेरा, ढिलो प्रतिक्रिया र अस्पष्ट नीति यी सबैले युवा नेतृत्वलाई निरुत्साहित बनाएको छ।
युवा मतदाता आज भावनामा बगेर मत दिँदैनन्। उनीहरू नारा होइन, जवाफ खोज्छन्। कांग्रेसले त्यो जवाफ दिन नसके आगामी चुनावमा यसको असर गम्भीर हुनेछ। संगठन बलियो भएर मात्र चुनाव जितिँदैन; विश्वास बलियो हुनुपर्छ।
नेतृत्वकेन्द्रित आलोचना यहाँ अपरिहार्य छ। कांग्रेसको शीर्ष नेतृत्वले आजसम्म एउटा स्पष्ट राजनीतिक रोडम्याप दिन सकेको छैन। के कांग्रेस सुधारवादी शक्ति हो? के यो यथास्थितिको रक्षक हो? कि यसले परिवर्तनको नेतृत्व गर्छ? यी प्रश्नको स्पष्ट उत्तर नेतृत्वबाट आएको छैन। अस्पष्टताले पार्टीलाई सुरक्षित राख्दैन।
आगामी चुनावमा कांग्रेसको पहिचानको पनि परीक्षा हुनेछ। जनता अब इतिहास सम्झेर भोट हाल्दैनन्। उनीहरू भविष्य खोज्छन्। कांग्रेसले भविष्यको सपना देखाउन नसके सबैभन्दा ठूलो लोकतान्त्रिक दल बिस्तारै अप्रासंगिक बन्ने जोखिम छ।
कांग्रेस कमजोर छैन। उसलाई कमजोर बनाइँदै छ, निर्णयहीन नेतृत्व, गुटगत स्वार्थ र जोखिम लिन नचाहने मानसिकताले। तर अझै समय बाँकी छ। कांग्रेसले अहिले नै स्पष्ट निर्णय, साहसी नेतृत्व र संस्थागत सुधारको बाटो रोज्न सकेन भने आगामी चुनावमा हार मात्र होइन राजनीतिक अवसानको सुरुवात पनि हुन सक्छ।
प्रश्न कांग्रेस बाँच्छ कि बाँच्दैन भन्ने होइन। प्रश्न हो, कांग्रेस फेरि नेतृत्व गर्ने हिम्मत गर्छ कि इतिहासको नमिठो भारी बोकेर किनार लाग्छ? यो निर्णय आज गर्नुपर्छ। भोलि धेरै ढिला भइसकेको हुनेछ।
Shares

प्रतिक्रिया