समय-समयमा विदेश भ्रमण जाँदा मनमा एक प्रकारको आनन्द अनुभूति हुन्छ, छुट्टै किसिमको ऊर्जा प्राप्त भएको महसुस हुन्छ।
छोराछोरीको बसोबास लन्डनमा छ, उनीहरू आलोपालो गरी वर्षमा एक/दुई पटक नेपाल आउँछन्, केही समय बस्छन्, घुम्छन् र फर्कन्छन्। उनीहरूको नेपाल घुमघामका क्रममा समय मिल्दासम्म हामी बुढाबुढी पनि मिसिन्छौँ र रमाइलोमा सहभागी हुन्छौँ।
उनीहरू हामीलाई लन्डन घुम्न आउन अनुरोध गर्छन्। तर, हाम्रो भनाइ चाहिँ सरकारी जिम्मेवारीका क्रममा ४/५ वर्ष बसेकै ठाउँ हो, त्यसैले मिलेसम्म तिमीहरू आउने गर भन्ने हुन्छ। उनीहरू आ-आफ्नो अध्ययन सकेर आ-आफ्नै पेसा-व्यवसायमा व्यस्त छन्। तैपनि हाम्रो कुरा मनन गरेकै मान्नु पर्छ– बेलाबेला आउने गरेका छन्।
यस वर्ष ठूली छोरी उषाको विवाह लन्डनमा हुने भएकोले ७ अगस्ट २०२५ का दिन म, श्रीमती र केही आफन्तसहित लन्डन गयौँ। नेपाली परम्परा अनुसार छोरीको विवाह ६ मार्च २०२५ मा काठमाडौँमा सम्पन्न भएको थियो। ज्वाईँ बेलायती भएकोले अंग्रेजी परम्पराको विवाह १५ अगस्ट २०२५ मा लन्डनमा हुने तय भएको थियो।

मलाई घर छोडेर यताउता हिँड्न एउटा सकस छ, त्यो हो ९७ वर्षकी आमाको रेखदेख। उहाँको मनखुस हुने व्यवस्था नगरी उहाँलाई छोडेर हिँड्ने कुनै कार्यक्रम बनाउने गरेको छैन। यसपटक बहिनी बुटवलबाट आएर आमासँग बस्ने र दाजु नित्यानन्द, जो चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नुहुन्छ, लाई जिम्मेवारी दिएर ३ हप्ताको बिदा आमाबाट स्वीकृत गराई हामी बुढाबुढी युरोपतर्फ प्रस्थान गर्यौँ।
७ अगस्ट २०२५ को बिहान ९ बजेको निर्धारित उडानको लागि फ्लाई दुबईको एअरबस ७३७ बाट दुबई ट्रान्जिट हुँदै लन्डन जान जहाजको निर्धारित सिटमा बस्यौँ। त्यतिबेला काठमाडौँको आकास धुम्म थियो, पानी चाहिँ परेको थिएन। सबै यात्रुलाई ९ बजे अगावै जहाजमा बसालेर सबै ढोका बन्द गरियो।
तर, जहाजले भने निर्धारित समयभन्दा १ घण्टा १५ मिनेटपछि मात्र उडान पालो पायो। त्यसपछि क्याप्टेनले क्षमा याचना गर्दै रनवेमा प्लेन गुडाउन थाले र क्रु मेम्बरलाई टेकअफको लागि तयार हुन निर्देशन दिए। एकैछिनमा जहाज काठमाडौँको आकाशमा बत्तियो।
दुई/चार मिनेटमै कालो बादल छिचोलेर जहाज अनन्त आकाशमा स्थिर भएर उडिरह्यो। एकैछिन अघि काठमाडौँ विमानस्थलमा हुँदा घनघोर वर्षा गराउला कि जस्तो लाग्ने कालो बादल उहीँनेर पुगेको जहाजबाट हेर्दा राम्रोसँग फिटेको कपासको थुप्रोजस्तो देखिन्थ्यो।
जहाजले गति तीव्र पार्दै पश्चिम दिशातिर सोझियो। मेरो दायाँतिर तह मिलेर बसेको बादलको थुप्रो थियो, पानीले आफ्नो सतह मिलाए जस्तै। कुनै कुनै हिमशिखर बादलमाथि चुच्चो मात्रै देखिन्थे।
हवाइजहाजको उचाइ, गति, बाहिरको तापक्रम तथा उडिरहेको स्थान मैले आफ्नो सिट अगाडिको मनिटरमा अवलोकन गरिरहेको थिएँ। ठूला जहाजले उचाइ लिइसकेपछि करिब ३५ देखि ४० हजार फिटको उचाइमा उड्दा रहेछन्।
काठमाडौँबाट पश्चिमतर्फ पोखरा र बागलुङको नजिक हुँदै हवाइजहाज सुदूरपश्चिमबाट भारतीय आकाशमा प्रवेश गर्यो। भारतको पटना, मध्यप्रदेश, अहमदाबाद, गुजरात हुँदै गल्फ अफ ओमान पार गरी ओमानको राजधानी मस्कटमाथिबाट दुबईतर्फ सोझियो।
मस्कटमाथिबाट उडिरहँदा आजभन्दा १२ वर्षअघि सरकारले मलाई खटाएको जिम्मेवारी लिएर ओमानको राजधानी मस्कटमा नेपालको नयाँ राजदूतावास खोल्न एक्लो कूटनीतिज्ञ पुगेर कठिन परिश्रमका साथ राजदूतावास स्थापना गरी एक महिनाभित्रै सेवा प्रवाह गरेको सम्झना आयो।
साथै, सोही स्थानमा अहिले आफ्नै सहोदर कान्छो भाइ बहालवाला राजदूत भएर काम गरिरहेको सम्झनाले झनै खुसी र गौरवको अनुभूति भयो। नजिकैबाट उडिरहँदा चिरपरिचित स्थानहरू झ्यालबाट नियालिरहेको थिएँ। एकैछिनपछि जहाज दुबईको विमानस्थलमा ओर्लियो।
केही समयको ट्रान्जिट अवधिपछि हामी इमिरेट्स एअरको ए-३८० (एअरबसको डबलडेकर) जहाजमा बस्यौँ। फराकिला सिट, टेकअफ र ल्यान्डिङमा ठूलो आवाज वा गतिको अनुभूति नहुने, कम हल्लिने र निश्चित उचाइमा पुगेपछि प्रतिघण्टा ८००-९०० किमिको गतिमा उड्दा पनि स्थिर अवस्थामा भएजस्तो लाग्यो।
करिब ७ घण्टाको उडानपछि हामी सहज रूपमा लन्डन हिथ्रो विमानस्थलमा उत्रियौँ। हिथ्रो विमानस्थलमा विगतमा लामो लाइनपछि मात्र अध्यागमन अधिकारीकोमा पुगिन्थ्यो। तर, यसपटक खोइ किन हो भिडभाड रहेनछ। सरासर काउन्टरमा पुगी राहदानीमा छाप लगाई तुरून्तै बाहिर निस्क्यौँ।
छोराछोरी हाम्रो आगमनको प्रतीक्षामा बसिरहेका रहेछन्। विमानस्थलबाट डाटफोर्डस्थित उनीहरू बस्ने स्थानमा पुग्न करिब सय किलोमिटरको दूरी रहेछ।
त्यहाँका फराकिला सडक र व्यवस्थित ट्राफिक नियमले यति लामो दूरी एक घण्टाभित्रै पार गरियो। यो यात्रा गर्दै गर्दा नेपालमा केही समयअघि काठमाडौँबाट पोखरा जाँदा दुई सय किमि बाटो तय गर्न ७ घण्टा लागेको र तीन दिनसम्म जीउ दुखेको स्मरण भयो।
लन्डन पुगेपछि छोरीको बिहे तयारीमा हाम्रो खासै योगदान रहेन। किनभने छोराछोरी तथा दुलहा पक्षबाट अंग्रेजी चलन र संस्कृतिको विवाहको सम्पूर्ण तयारी भइसकेको रहेछ। त्यसैले हामी ८-१४ अगस्टसम्म लन्डन र आसपासका क्षेत्रमा घुम्ने, पुराना मित्रहरूसँग भेटघाट गर्नमा व्यस्त रह्यौँ।
सानी छोरी सबिता र छोरा आशिषले हाम्रो भ्रमण अवधिभरका लागि आ-आफ्नो अफिसबाट बिदा लिएर बसेका रहेछन्। त्यसैले, हामीलाई उनीहरूसँग जता जान पनि सहज भयो। मैले सन् २००७ देखि २०११ सम्म नेपाली राजदूतावास, लन्डनमा नियोग उपप्रमुख भएर काम गरेको थिएँ। आफूले काम गरेको स्थानसँग गहिरो नाता जोडिने नै भयो। त्यसैले, एकपटक राजदूतावास जान मन लाग्यो।
वर्तमान महामहिमज्यूलाई फोन गरेर समय मिलाएँ। उहाँले खुसीसाथ समय दिनु भयो। केही समय कफी पिउँदै गफियौँ, ज्यादै रमाइलो लाग्यो।
सन् १९८९-१९९० मा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दा म भ्रमणको लागि क्याम्ब्रिज विश्वविद्यालय गएको थिएँ १९९० मा। छोराछोरीले एक दिन क्याम्ब्रिज विश्वविद्यालय घुम्ने कार्यक्रम राखेका रहेछन्। ९ अगस्टको घमाइलो दिनमा ३५ वर्षपछि सोही ठाउँमा घुम्न पाउँदा छुट्टै आनन्दको अनुभूति भयो।
हामी लन्डन जानुको मूल उद्देश्य- १५ अगस्ट पनि आयो। एउटा विशिष्ट स्थलमा अत्यन्त औपचारिक र भव्यताका साथ छोरी उषा र ज्वाईँ थोमसको अङ्ग्रेजी संस्कृतिअनुसार विवाह सम्पन्न भयो। विवाह कार्यक्रम सकेपछि युरोपेली मुलुकको भ्रमण गर्ने तालिका छोराछोरीले बनाएका थिए। सोही अनुसार १६ अगस्टका दिन थकाइ मारी १७ अगस्टमा हामीमध्ये केही युरोपेली मुलुकहरूको भ्रमणमा निस्कने भइयो।

१० दिनमा १० मुलुकको भ्रमण
छोरा आशिषले भ्रमणका लागि बिदा मिलाएर बसेको हुनाले उनकै टेस्ला कारमा भ्रमण गर्ने योजना सुनाए। साथै, कुन-कुन मुलुकको भ्रमण गर्ने, कुन सहरमा कुन होटल बुक गरिएको छ, कुन मुलुकको कुन-कुन सहरमा कति-कति समय बिताउने, कहाँबाट कहाँ पुग्न बाटोमा कति समय लाग्छ आदिबारे पूर्वजानकारी गराए।
यति लामो यात्रा कारमा गर्दा गाडी चलाउनलेलाई गाह्रो हुने हो कि, तालिकाअनुसारको समयमा तोकिएको स्थानमा पुग्न सकिएन भने अरू कार्यक्रमको शृङ्खलामा पनि असर गर्ला कि जस्ता जिज्ञासा मैले राखेँ।
तर, आशिषले भने आश्वस्त पार्दै भने, ‘त्यस्तो केही हुँदैन। युरोपका अधिकांश राजमार्गमा गाडी ९० प्रतिशत स्वचालित रूपमा गुड्छ। अर्थात् ९० प्रतिशत गाडी हाँक्ने काम कृत्रिम बौद्धिकता (एआई)ले गर्छ, मैले स-साना बाटा र कतै-कतै मात्र ध्यान दिए पुग्छ।’
स्वचालित रूपमा गाडी चल्ने भनेपछि मलाई १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुइँकिने गाडीमा एआईको भर हुँदा कत्तिको सुरक्षित भइने हो भन्ने डर पनि लाग्यो। तर, छोराबुहारी तथा छोरीहरू यसरी नै दैनन्दिन पेसा-व्यवसाय धानिरहेकै छन् भनेर मनको डर मनभित्रै दबाएँ। प्रविधिले यति फड्को मारिसक्यो, मौकामा हेर्न र अनुभव गर्न अनकाए पछि परिन्छ भन्ने अर्को मनले सोच्यो र लौ जाऔँ भन्ने निधो गरियो।
१७ अगस्ट २०२५ को बिहान स्थानीय समय ८ बजे लन्डनको डाटफोर्ड सहरबाट प्रस्थान गर्ने निधो भयो। सबैले १०/११ दिनलाई पुग्ने सामान प्याक गरिसकेका थियौँ। गर्मी मौसम भएकोले बाक्ला लुगा नचाहिने हुँदा स-साना लगेज बनायौँ।
लन्डनबाट हिँडेपछि बेल्जियमको पर्यटकीय नगरी ब्रुजमा २ दिन बिताउने तालिका थियो। समुद्रवेष्टित संयुक्त अधिराज्यबाट ब्रुज पुग्न समुद्र पार गर्नुपर्ने भएकोले युरोटनेल अर्थात् च्यानल टनेलको प्रयोग गर्नुपर्ने रहेछ। यो संयुक्त अधिराज्य र फ्रान्सले संयुक्त रूपमा बनाएको आधुनिक युगको एक अद्बितीय इन्जिनियरिङ परियोजना मानिन्छ।
करिब ५० किलोमिटर लामो मार्गमा समुद्रमुनिबाट तीन वटा समानान्तर सुरुङ छन् जसमा २ वटा दुवै दिशाबाट मालबाहक र यात्रुबाहक रेल आवतजावत गर्छन् भने बीचमा रहेको एउटा आपत्कालीन सेवाका लागि हो।
ले सटल नामक ठूलो रेलले बस, ट्रक तथा कारहरू राखेर ती बस तथा कारमा सवार यात्रु एवं चालक दलका सदस्यसहित कुद्ने रहेछ। अनि, ३५ मिनेटमा बेलायतको डोभरबाट फ्रान्सको कालाई पुर्याउँदो रहेछ।
फ्रान्स पुगेपछि आफ्नै कारमा यात्रा अघि बढायौँ। केही समय फ्रान्सेली भूभागको यात्रापछि बेल्जियमको ओस्टेन्डे हुँदै करिब ४ घण्टाको अन्तरालमा ब्रुज सहर पुगियो। बिहान ८ बजे लन्डनमा ब्रेकफास्ट खाएर हिँडेका थियौँ। युरोटनेल, फ्रान्स र बेल्जियमका हरिया एवं उर्वर खेतीपातीसहितका समथर भूभागको दृश्यावलोकन गर्दै दिउँसोको खाना खान ब्रुज सिटिमा पुग्यौँ। करिब २५ वर्षअघि बेल्जियममा कार्यरत रहँदा २/४ पटक घुमेको सहरका महत्त्वपूर्ण पहिचानस्थल (ल्यान्डमार्क्स)को सम्झना गर्दै दुई दिन त्यहीँ बस्यौँ, घुम्यौँ, रमायौँ।
१९ अगस्ट बिहान ब्रेकफास्टपछि ब्रुजबाट प्रस्थान गर्यौँ। बेल्जियमका जेन्ट, एन्टर्पियन, ह्यासल्ट सहरहरू पार गर्दै केही समय नेदरल्यान्डको मास्ट्रिच्टनजिकैको भूभागबाट यात्रा गर्यौँ। यसरी हिँड्दा यस्तो अनुभव हुन्थ्यो– युरोप त साँच्चै सीमाविहीन रहेछ। कतिबेला सिमाना पार हुन्छ र अर्को मुलुक प्रवेश गरिन्छ, ख्याल नराखे पत्तै नहुने!
नेदरल्यान्डपछि जर्मनीको ऐकन सहरबाट जर्मन भूभागमा प्रवेश गर्यौँ। त्यस दिन जर्मनीको स्टुटगार्ट बास बस्ने र मर्सिडिज म्युजियम हेर्ने कार्यक्रम थियो। जर्मनीका बोन, ननबर्ग, हाइडलबर्ग सहरहरूको आसपास हुँदै राइन नदी पार गरेर दिउँसोको ४ बजे ५६० किलोमिटरको दूरी तय गरी स्टुटगार्ट पुग्यौँ।

जर्मनीका सडक अत्यन्तै फराकिला, सफा र स्पष्ट ट्राफिक संकेत एवं लेन मार्किङ हुनाले कार अटोड्राइभका लागि अन्य मुलुकभन्दा अझै सहज पाएँ। जर्मनी मुलुकै ठूलो हुनाले ठूला-ठूला कृषि फार्म, औद्योगिक क्षेत्र, विशाल जङ्गल, ठूल्ठूला क्षेत्रमा ऊर्जा उत्पादनका लागि राखिएका विन्ड टर्बाइन तथा सोलार प्यानलबाट गरिएका विद्युत् उत्पादन हेर्दै, ठाउँ-ठाउँमा रोकिँदै, खाजा-पानी खाँदै यात्रा निरन्तर अगाडि बढायौँ।
स्टुटगार्टमा पहिले नै रिजर्भ गरिएको होटलमा चेकइन गरी गाडी त्यहीँ पार्क गरेर १० मिनेट जति हिँडेर मर्सिडिज म्युजियम अवलोकनका लागि गयौँ। आशिषले म्युजियम भ्रमणको टिकट अनलाइनमार्फत पहिले नै लिइसकेका रहेछन्।
ज्यादै विशाल त्यो म्युजियम मर्सिडिजको मात्र नभएर अटोमोबाइल्स तथा यातायतका सम्पूर्ण साधनको विकास कहिले र कसरी भयो भन्ने एउटा सिङ्गो इतिहास नै रहेछ। अनुकूल परे वा पारेर सकेसम्म यो म्युजियम हेर्नैपर्ने रहेछ भन्ने मलाई लाग्यो।
त्यसपछि हामी त्यहीँबाट मेट्रो चढेर स्टुटगार्टको सिटिसेन्टर घुम्न गयौँ। लामा दिन हुनाले बेलुका ७/८ बजेसम्म पनि घाम लागिरहेको थियो। सिटिसेन्टर सफा, चिटिक्क र रमाइलो लाग्यो। त्यही सेन्टरको एक जर्मन रेस्टुरेन्टमा बेलुकाको खाना खान गयौँ। सबैभन्दा पहिला जर्मनीको चर्चित गहुँको सेतो बियर पियौँ। जर्मनी र बेल्जियम थरिथरिका बियरको उत्पादनमा प्रख्यात छन्। त्यसपछि धेरै अबेर नगरी होटल फर्केर विश्राम गर्यौँ।
२० अगस्ट बिहान चेक रिपब्लिकको राजधानी प्रागतर्फ प्रस्थान गर्यौँ। स्टुटगार्टबाट प्राग पुग्न ५४० किमि रहेछ। चेक रिपब्लिकको भूभाग प्रवेश गरेपछि प्राग नपुग्दै बाटोमा कादान भन्ने सहरमा भतिजो लक्ष्मण अर्यालका परिवार बसेका हुँदा त्यहाँ केही समय बसेर भेटघाट, विश्राम र साँझको खाना खाएर राति करिब ९ बजेतिर प्राग सेन्टरमा पुगी अपार्टमेन्ट होटलमा बस्यौँ।
त्यही साँझ लन्डनबाट बुहारी राशी पनि प्राग आइन्। अर्को दिन सुन्दर प्राग सहरका ऐतिहासिक धरोहरहरू नियाल्दै घुम्न थाल्यौँ। त्यहाँका पर्यटकीय आकर्षणका केन्द्रहरू जस्तैः चार्ल्स ब्रिज, प्राग क्याथेड्रल, सिटिसेन्टरका पुराना भवन तथा चर्चहरू, विभिन्न देशका पर्यटकको हुलमा सामेल हुँदै हेर्ने, स्थानीय खाना खोजेर खाने, दिउँसोको चर्को घाम छल्न क्याफेमा बसेर बेला-बेला प्रागको चर्चित पिल्सनर बियरको सुर्को लगाउँदै घुमघामको आनन्द लियौँ। यही रमाइलोमा यहाँ २ दिन बितायौँ।

बुढापेस्टमा सपरिवार
२२ अगस्टमा हामी प्रागबाट हङ्गेरीको बुढापेस्टतर्फ लाग्यौँ। बाटोमा स्लोभाकियाको राजधानी ब्रातिसलाभामा केही समय घुमघाम गरेर दिउँसोको खाना खायौँ। यो पनि सुन्दर सहर रहेछ। बेलुका हङ्गेरीको बुढापेस्ट पुगेर बस्यौँ। त्यही साँझ दुवै छोरी उषा र सबिता पनि लन्डनबाट आइपुगे। सबै परिवार जम्मा हुन पाएको अत्यन्त रमणीय र स्मरणीय समय थियो त्यो।
त्यस दिन हामी प्रागबाट आउने टोलीको तीन देशका राजधानी क्रमशः प्राग, ब्रातिसलाभा र बुढापेस्टमा ब्रेकफास्ट, लन्च र डिनर खाने अवसर जुरेको थियो। त्यहाँ सपरिवार दुई दिन रमाइलोसँग घुमफिर गरियो। बुढापेस्ट सहर डेनुव नदीको दायाँ-बायाँ फैलिएको अति सुन्दर रहेछ। नदीको दायाँ भागलाई बुढा र बायाँ भागलाई पेस्ट भनिने रहेछ। सन् १८७३ मा दुवैलाई गाभेर हङ्गेरीको राजधानी बुढापेस्ट कायम गरिएको रहेछ।
पर्यटकका आकर्षणमा- डेनुव नदी, बुढा किल्ला (बुढा केसल), फिसरमेन्स कास्टेन, पेस्ट बेसिलिका लगायतका प्राचीन धरोहर महत्त्वपूर्ण रहेछन्। हामीले ती सबैलाई अवलोकन गर्यौँ। कार्यव्यस्तताका कारण ठूली छोरी उषा बुढापेस्टबाटै लन्डन फर्किन्। अरू पाँच जनाले अस्ट्रियातर्फ यात्रा अघि बढायौँ।
बुढापेस्टबाट २४ अगस्टका दिन अस्ट्रियाको एउटा सानो तर धेरै चर्चित स्थान हल्स्टाट पुगेर केही समय त्यहाँका मनोरम पर्वत शृङ्खला तथा सुन्दर लेकको दृश्यावलोकन गर्यौँ। यो सानो गाउँ जस्तो भए तापनि पर्यटकीय दृष्टिकोणले अत्यन्तै प्रख्यात स्थान रहेछ। त्यसपछि अस्ट्रियाकै इन्स्ब्रुकतर्फ यात्रा निरन्तर राख्यौँ।
इन्स्ब्रुक सहर आल्प्स पर्वत शृङ्खलाको काखमा अवस्थित रहेछ। पर्यटकीय दृष्टिकोणले चर्चित सहरमा पर्दो रहेछ। यस रमणीय सहर, इन नदी तथा आल्प्स पर्वत शृङ्खलाको आसपासमा रमाइलोसँग दुई दिन बितायौँ।
आल्प्स पर्वत शृङ्खला हेर्न केवलकारबाट इन्स्ब्रुकको सर्वोच्च शिखरसम्म पुग्यौँ। करिब आधा उचाइसम्म भिरमा चल्ने रेल (फ्युनिक्युलर रेलवे) बाट जानुपर्दो रहेछ, त्यसपछिको दुई चरणमा केवलकारबाट हाफेलकर नामक शिखरमा पुगेर चारैतिर ३६० डिग्री देखिने गरी मनोरम आल्प्स पर्वतमालाको दृश्यावलोकन गरियो।
यसै सहरको केन्द्रमा दिउँसोको खाना खाने उपयुक्त ठाउँको खोजी गर्दैगर्दा एभरेस्ट रेस्टुरेन्ट भेटियो र त्यसैमा छिर्यौँ। नाम देख्दै गौरव लाग्यो। निकै चालु पनि रहेछ। नेपाली भाइहरूसँग नेपाली स्वादको ट्वाक्कको दालभात तरकारी मगायौँ। नेपाली खाना नखाएको केही दिन भएकोले निकै सन्तुष्टि र स्वादको मिलन भयो।
यस सहरको बीचबाट इन नदी बग्दो रहेछ। यसै नदीको नामबाट यस सहरको नामकरण भएको रहेछ कि भन्ने लाग्यो। ठूलै पानीको बहाव भएको यो नदी देख्दा नेपालको भोटेकोसीको याद आयो। अत्यन्त सफा पानी र पर्वतीय भूभागमा भएर होला तीव्र गतिमा बग्दो रहेछ। यो नदी जर्मनी, स्विट्जरल्यान्ड र अस्ट्रिया हुँदै डेन्युव नदीमा मिल्दो रहेछ।
इन्स्ब्रुकबाट अगस्ट २६ को बिहान युरोपको सबैभन्दा सानो तर सुन्दर एवं सम्पन्न मुलुक लिक्स्टेन्टाइन जाने भइयो। लिक्स्टेन्टाइनको सिटी सेन्टरमा ब्रेकफास्ट खाने, एकछिन घुमफिर गर्ने र यात्रा अघि बढाउने निधो गर्यौँ।
सफा बिहानीको पहारिलो घाममा घुम्दै रम्दै केही तस्बिर कैद छुटाएनौँ। यो मुलुक स्विटजरल्यान्ड र अस्ट्रियाको बीचमा पर्दो रहेछ। एउटा क्याफे अगाडि घाममा ब्रेकफास्टको लागि ठाउँ आरक्षण गर्यौँ र एक घण्टाजतिमा खाना खाइवरी लिक्स्टेन्टाइनबाट अगाडि बढ्यौँ।
‘स्मल इज ब्युटिफुल’ भन्ने कुराको उदाहरण रहेछ लिक्स्टेन्टाइन भन्ने लाग्यो मलाई। यहाँ राजतन्त्रअन्तर्गत संसदीय प्रजातान्त्रिक शासन प्रणाली रहेछ। कमै सुन्नमा आउने यो सानो र सुन्दर मुलुकको राजधानी भादुज रहेछ। प्रतिव्यक्ति आयका हिसाबले युरोपको धनी मुलुकमध्येमा पर्ने यस देशको कुल जनसंख्या ४० हजार र कुल क्षेत्रफल ६२ वर्गमिल मात्र रहेछ।

यस दिन हाम्रो यात्रा अलिक लामो थियो। झन्डै ८५० किमिको दूरी पार गरी साँझ फ्रान्सको भर्साई सहरमा पुग्नुपर्ने थियो। त्यसैले, ब्रेकफास्टपछि लिक्स्टेनटाइनबाट केही मिनेटको ड्राइभमै स्विटजरल्यान्डको भूभागमा प्रवेश गर्यौँ।
म पहिला पनि २/३ पटक स्विटजरल्यान्ड गएको हुँदा मेरो हचुवा मूल्यांकनमा मैले देखे/घुमेका युरोपका मुलुकमध्ये सबभन्दा राम्रो, विकसित र सुव्यवस्थित मुलुक यही होला भन्ने थियो तर अस्ट्रियाको राजधानी लगायत २/३ वटा सहर र लिक्स्टेन्टाइन हेरेपछि यी पनि स्विटजरल्यान्डभन्दा कम नभएको महसुस भयो।
स्विटजरल्यान्डको जुरिक र बाजल हुँदै त्यहाँका आकर्षक सुरुङ मार्ग पार गर्दै यात्रा निरन्तर अगाडि बढायौँ। बाजल पुगेर दिउँसोको खाना खायौँ। त्यसपछि फ्रान्सको भूभागमा प्रवेश गर्यौँ र बेलुका करिब ९ बजेतिर भर्साई दरबार छेउकै बी एन्ड बी होटलमा बास बस्यौँ। यस दिन पनि हाम्रो तीन छाक खाना तीन देशमा हुन पुग्यो– ब्रेकफास्ट लिक्स्टेन्टाइन, लञ्च स्विटजरल्यान्ड र डिनर फ्रान्समा।
अर्को दिन बिहान अर्थात् २७ अगस्टमा भर्साई दरबार र यसको विशाल बगैँचाको भ्रमण तथा अवलोकन गरी दिउँसो पेरिसतर्फ लाग्यौँ। दिउँसोको खानापछि पेरिसका पर्यटकीय आकर्षण आइफल टावर, सन्ज एलिसिज, आर्क डे ट्रायम्फ, सेन नदी आदिको अवलोकन गरियो। यसअघि पनि घुमेकै सहर हो पेरिस तर लामो समयपछि घुम्न जाँदा छुट्टै आनन्द हुँदो रहेछ।
२८ अगस्टमा लन्डनबाट काठमाडौँ फर्कनुपर्ने मेरो पूर्वनिर्धारित कार्यक्रम भएकोले छोरा आशिष, बुहारी राशी र म फ्रान्सको कालाईबाट युरो टनेलको रेलमा गाडी राखेर (जाँदाको जस्तै) लन्डनतर्फ प्रस्थान गर्यौँ भने श्रीमती दुर्गा र अरू तीन हप्ता युरोपमा बस्ने कार्यक्रम रहेको हुँदा सानी छोरी सबिताका साथ रेलद्बारा बेल्जियमतर्फ लागे। त्यहाँबाट उनीहरूको पोर्चुगलतिर घुम्ने कार्यक्रम थियो।
यसरी लन्डनबाट प्रस्थान गरेको १० दिनमा १० वटा देशको रमाइलो भ्रमण गरी ४,३०० किमिको दूरी गाडीबटै तय गरेर पुन: लन्डन फर्कियौँ। त्यसपछि म अर्को दिन साँझको फ्लाइटबाट दुबई हुँदै काठमाडौँ फर्केँ।

मुलुकको समृद्धिका कारक तत्त्व के-के होलान्? यति भ्रमण गरिसकेपछि मेरो मनमस्तिष्कमा केही कुरा खेल्न थाले। कसरी यी मुलुक समृद्ध भएका होलान्? प्रकृतिप्रदत्त स्रोत साधन र पर्यटकीय आकर्षण त यी देशभन्दा नेपालमा अझ बढी छन्! प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनका यति धैरै सम्भावना हाम्रोमै छन्।
२/३ हजार मिटर अग्ला आल्प्स जस्ता पर्वत चढ्न यति धेरै पर्यटक आउँछन् तर संसारकै अग्ला हिमाल हुने, बुद्धमार्गीको लागि बुद्धको जन्मस्थल लुम्बिनी हुने, हिन्दूहरूको लागि पशुपतिनाथ लगायतका धार्मिकस्थल हुने नेपालमा किन वार्षिक १५/२० लाख पर्यटक पुर्याउन गाह्रो परेको होला भनेर उत्तर खोज्न मन लाग्यो।
मुलुकका आधारभूत पूर्वाधार, स्थिर सरकार, भरपर्दो शान्ति सुरक्षा भएमा ढुक्कसँग लगानी भित्रिने र यसबाट आवश्यक पूर्वाधारको विकास हुने, रोजगारी र पर्यटन उद्योगको वृद्धि हुने तथा समष्टिमा मुलुकले समृद्धि हासिल गर्ने रहेछ।
नेपालले पनि अब कोल्टे फेरोस्, चाँडै नै विकसित र समृद्ध मुलुक बनोस्।
(झविन्द्र अर्याल नेपाल सरकारका पूर्वराजदूत हुन्)
Shares

प्रतिक्रिया