नवपुस्ता (जेनजी)को जागरण र असन्तोषपछि नेपाली कांग्रेस गहिरो वैचारिक र व्यावहारिक द्विविधामा फसेको छ। पार्टीभित्र विशेष महाधिवेशनको माग तीव्र बन्यो, झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर नेतृत्वमाथि दबाब सिर्जना गरे।
नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नु अनिवार्य सर्त हो किनभने यो मात्र पार्टीभित्रको वैधानिक र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने माध्यम हो।
पार्टीका पूर्वसभापतिले पनि आवश्यक परे विशेष महाधिवेशन आह्वान गरी संगठनात्मक गतिशीलता कायम राख्ने उदाहरण पहिले नै स्थापना गरिसकेका छन्। त्यसबेला पार्टी फुटेको थिएन तर आज पार्टी फुट्छ भन्ने जबर्जस्ती भाष्य सृजना गरिँदैछ।
अहिलेको सन्दर्भमा, नियमित महाधिवेशन समयमै हुन नसक्दा विशेष महाधिवेशन अपरिहार्य आवश्यकता बनेको छ र यो विधानत: बाध्यात्मकारी पनि छ। देश निर्वाचनको तयारीमा छ, राजनीतिक परिस्थिति बदलिएको छ र वर्तमान नेतृत्वप्रति व्यापक असन्तोष प्रकट भएको छ।
यसै असन्तुष्टिले शासन परिवर्तनसम्म पुर्याएको ताजा अनुभवले स्पष्ट देखाउँछ कि अब नेतृत्वमा नयाँ पुस्ताको प्रवेश, वैचारिक रूपान्तरण र संगठनात्मक नवीकरण अत्यावश्यक छ। आगामी नेतृत्वले नयाँ पुस्ता र प्रबुद्ध व्यक्तित्वलाई गैर-परम्परागत ढङ्गले राजनीतिमा सहभागी गराउने, पार्टीको नीति–विधानमा आमूल सुधार गर्ने, दलका संरचना, प्रदेश र संस्थागत संरचनासम्बन्धी बुँदाहरूमा यथार्थपरक परिवर्तन ल्याउने जिम्मेवारी लिनुपर्नेछ।
यस्तो कांग्रेसले मात्रै बीपी कोइरालाको लोकतान्त्रिक भावना जोगाउँदै समयानुकूल नयाँ राजनीतिक दिशा दिन सक्षम हुनेछ। नेतृत्व परिवर्तन, संगठन पुनर्गठन, सिद्धान्त र विधान संशोधनका मागसहित देशभर आन्तरिक छलफल र बहस तीव्र गतिमा बढिरहेका छन्।
नवपुस्ताका नेतालाई समेटेर पार्टीलाई फेरि जनमुखी, उत्तरदायी र कार्यकर्तामुखी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, बीपी कोइरालाको लोक–समाजवादी विचारलाई २१औँ शताब्दीको सन्दर्भमा पुनर्व्याख्या गर्नुपर्ने देखिन्छ। यसैबीच, प्रदेश र जिल्ला तहमा भएका भेलाहरूले कांग्रेसभित्र लोकतान्त्रिक अभ्यास बलियो पार्ने, सदस्यता प्रणाली पुनःसंरचना गर्ने र नेतृत्व चयनमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने प्रस्ताव अघि सारेका छन्।
आसन्न १५औँ महाधिवेशन पार्टीको सिद्धान्त, संगठन र नीति–दिशा निर्धारणका हिसाबले ऐतिहासिक मोडको रूपमा उभिएको छ जहाँ कांग्रेसले बीपीको आदर्शलाई नयाँ समयका आर्थिक, सामाजिक र राजनीतिक वास्तविकतासँग सन्तुलनमा ल्याउने चुनौतीको सामना गर्दैछ।
बीपी कोइरालाको समाजवाद ऐतिहासिक सन्दर्भमा महत्त्वपूर्ण भए पनि आधुनिक नेपालमा प्रत्यक्ष रूपमा लागु गर्न सकिने अवस्था छैन। बीपीको लोकतान्त्रिक समाजवाद कृषि–प्रधान, सामुदायिक विश्वास र नैतिक आधारमा आधारित समाजमा जन्मिएको थियो, जहाँ ८० प्रतिशतभन्दा बढी जनता किसान थिए र श्रमदान, सहकार्य र सामूहिकता समाजलाई बाँध्ने मुख्य शक्ति थियो।
तर, अहिले नेपाल भूमण्डलीकरण, प्रविधि र बजार–प्रधान अर्थतन्त्रमा प्रवेश गरिसकेको छ। ‘समय नै पैसा हो’ भन्ने संस्कार, व्यक्तिगत लाभमा केन्द्रित गतिविधि र द्रव्यप्रधान प्रवृत्तिले पुरानो विश्वास र नैतिकताको आधार कमजोर बनाएको छ। यस्तो अवस्थामा बीपीले कल्पना गरेको राज्य–केन्द्रित समाजवाद मात्र लागु गर्दा आर्थिक गतिशीलता, रोजगारी सिर्जना र नवप्रवर्तनमा बाधा पर्न सक्छ।
त्यसैले, नेपाली कांग्रेसले अब बीपीको आदर्श– समान अवसर, सामाजिक न्याय र जनतामा विश्वास जोगाउँदै व्यावहारिक रूपमा स्वतन्त्र पुँजीवाद र निजी क्षेत्रको सहभागितामार्फत देशलाई आर्थिक रूपान्तरणतर्फ अघि बढाउनु पर्छ। सरकारले निजी उद्योग, सहकारी संस्था, उद्यमी र लगानीकर्तालाई कानुनी सुरक्षा, सहज दर्ता प्रक्रिया तथा सहजीकरण प्रदान गर्नुपर्छ, जसले युवा वर्गलाई रोजगारी र नवप्रवर्तनका अवसर दिन्छ।
चीनको सन् १९७८ पछि आर्थिक उदारीकरण र खुला बजार नीतिले करोडौँ मानिसलाई गरिबीबाट माथि उठाउन सफल भयो। लागुपदार्थले कुलित सिंगापुरलाई लिक्वान उ ले २५ वर्षमा विश्वकै सम्पन्न देश बनाउन सफल भए। नेपालमा पनि यस्तै दृष्टिकोण अपनाएर कांग्रेसले बीपीको आदर्श र वर्तमान आर्थिक–सामाजिक वास्तविकताबीच सन्तुलन कायम गर्दै देशलाई आत्मनिर्भर र समृद्ध राष्ट्रको बाटोमा लैजान सक्छ।
आज नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी गर्दैगर्दा पार्टीको नेतृत्व, सिद्धान्त र विधानमा आवश्यक सुधार तथा संशोधनको बहस तीव्र रूपमा चलिरहेको छ। कांग्रेसले सधैँ मास-बेस पार्टीको रूपमा आफ्नो पहिचान बनाएको छ, जसको अर्थ हो सिधा आमसदस्यको सहभागिता, निर्णय र नेतृत्व चयन प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुनु।
पछिल्लो समय नेतृत्व चयन प्रक्रिया केवल महाधिवेशन प्रतिनिधि, सहकर्मी वा गुटीय कार्यकर्तामा सीमित हुँदै गएको देखिन्छ, जसले आम सदस्यको अधिकार, सक्रिय सहभागिता र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ।
नेतृत्व चयनको यस्तो क्याडर‑केन्द्रित प्रणाली दीर्घकालीन रूपमा दलका लागि न्यायसंगत र प्रभावकारी हुँदैन। किनभने, यसले सदस्य र जनताको विश्वास घटाउँछ र पार्टीलाई गुटबन्दी तथा व्यक्तिगत स्वार्थमा फसाउँछ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा, यूकेको लेबर पार्टीमा आमसदस्यले पार्टी अध्यक्ष र मुख्य नेता प्रत्यक्ष मतमार्फत चयन गर्ने प्रणाली अपनाइएको छ, जसले नेतृत्वलाई जवाफदेही, सहभागी र जनमैत्री बनाएको छ। त्यस्तै, भारतको कांग्रेस पार्टीमा प्रादेशिक र राष्ट्रियस्तरमा सदस्य सहभागिता बढाएर निर्णय प्रक्रियामा पारदर्शिता कायम गरिएको छ।
यी अभ्यासले प्रमाणित गर्छन् कि मास-बेस पार्टी भन्नुको अर्थ केवल नाममा नभई, सबै सक्रिय र साधारण सदस्यलाई प्रत्यक्ष अधिकार प्रदान गरी नेतृत्व चयन, नीति निर्माण र पार्टी सञ्चालनमा प्रत्यक्ष सहभागी बनाउनु हो। यसरी लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाएर पार्टीको सिद्धान्त, मूल्य र जनविश्वास कायम राख्न सकिन्छ। जसले पार्टीलाई मात्र होइन, देशको लोकतन्त्रलाई पनि मजबुत बनाउँछ।
यसरी चयन भएको नेतृत्वले केवल महाधिवेशन प्रतिनिधिप्रति मात्र बफादार नभई सम्पूर्ण सदस्यको प्रतिनिधित्व गर्ने हुनाले आम सदस्यलाई हामीले बनाएको नेतृत्व भनेर विश्वस्त हुने अवस्था आउँछ। नेतृत्व र आमसदस्यबीच सिधा सम्पर्क हुने हुँदा पार्टी बलियो र लोकतन्त्र अझ मजबुत हुन्छ। नेतृत्व बढी जिम्मेवारी र जवाफदेही हुन्छ।
भोलिको कांग्रेस र युवा नेतृत्व
भोलिको कांग्रेसले केवल इतिहासको स्मरण गर्ने होइन, भविष्य निर्माण गर्ने दृष्टि लिनु पर्छ। पार्टीको मूल दर्शन लोकतान्त्रिक समाजवाद हो। यसलाई समयसापेक्ष बनाउने काम आवश्यक छ। चीनले जस्तै आफ्ना दर्शन र परम्परागत ज्ञानलाई आधुनिक नीतिमा जोड्दै ‘कन्फ्युसियस सिद्धान्त’ शिक्षामा समावेश गरेको छ। त्यसरी नै नेपाली कांग्रेसले वेद, उपनिषद्, चाणक्यसूत्र र पूर्वीय जीवन दर्शनलाई राज्यको सामाजिक नीतिमा उतार्नुपर्छ।
पश्चिमा समाज भौतिकवादी छ, जो हरेक पल नयाँ निर्माण र नवप्रवर्तनमा समय व्यतीत गर्छ। तर जीवनको अन्तरिक सुख भने छैन। डिप्रेसन र सम्बन्ध विच्छेद अहिलेको प्रमुख समस्या बनेको छ। उनीहरूले आफूभित्र आफूलाई खोज्न सकेका छैनन्, बेचैन छन्। भौतिक संसारमा आफूलाई अग्र स्थानमा उभ्याउने ध्याउन्नमा आन्तरिक शान्ति महसुस गर्न सकेका छैनन्।
पश्चिमी दर्शनले ‘मंगलमा जीवन खोज्दैछ’ तर पूर्वीय दर्शनले ‘जीवनमा मंगल खोज्ने’ दृष्टिकोण दिन्छ। अबको कांग्रेसले आफ्नो नीतिमा दुवै दर्शनलाई समेटेर शैक्षिक पाठ्यसामग्री बनाउन जरुरी छ, जसरी ओशोले ‘जोरबा द बुद्ध’को अवधारणा दिए– जीवनमा आत्म–सन्तुलन र भौतिक यथार्थबीचको समन्वय हो भनेर। अबको हाम्रो समाज जोरबा द बुद्धको शैलीमा अगाडि बढ्न जरुरी छ र कांग्रेसले यस्तो समाजको परिकल्पना गर्दै नीतिगत निर्णय गरेर अगाडि बढ्नु पर्छ।
पश्चिमी दर्शनका महान् दार्शनिक अल्बर्ट आइन्स्टाइनको भनाइ छ- इनर पिस इज द फाउन्डेसन अफ आउटर पर्सपेरिटी। त्यसैले अब नेपाली कांग्रेसले बनाउने सामाजिक नीति भौतिक विकास मात्र होइन, आत्मिक सन्तुलनमा पनि आधारित हुनु पर्छ।
नेपालको अर्थ–राजनीतिक सोच अब उदार समाजवाद र व्यावहारिक पुँजीवादबीचको सन्तुलनमा टेकिनु अपरिहार्य छ। बीपी कोइरालाले राजनीतिक चेतनालाई आर्थिक चेतनासँग जोड्ने प्रयास गरेका थिए। आज प्रविधि र बजारको युगमा त्यसलाई पुनःपरिभाषित गर्ने समय आएको छ।
सन् १९७८ मा देङ सियाओपिङले चीनमा ‘बिरालो कालो होस् वा सेतो, मुसा समाए पुग्छ’ भन्ने नीति लागु गरे, जसले चीनको आर्थिक रूपान्तरणको आधार तयार गर्यो। त्यसैगरी, नेपाली कांग्रेसले पनि यथार्थवादी दृष्टिकोण अपनाउँदै निजी क्षेत्रलाई प्रोत्साहन, राज्यलाई दक्ष नियामक र नागरिकलाई अवसरदायी वातावरण प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्छ।
आजको विश्वमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पुँजीवाद नयाँ स्वरुप र शक्ति बनेका छन्। पछिल्लो समयमा संसारभरका प्रख्यात अर्थशास्त्री, प्रविधिविद् र राजनीतिक चिन्तकहरू यस निष्कर्षमा पुगेका छन् कि एआई अब पुँजीवादको नयाँ स्वरूपका रूपमा विकसित भइरहेको छ। विगतमा पुँजी उत्पादनका साधन ‘भूमि, श्रम र पुँजी’ मा निहित थियो तर आजको युगमा पुँजीको केन्द्र ‘डेटा’ बनेको छ।
विज्ञहरू भन्छन्, ‘जो देशले डेटा नियन्त्रण गर्छ, उसले भविष्यको राजनीतिक र आर्थिक नक्सा कोर्छ।’ यही कारण चीन, अमेरिका र युरोपका देशबीच अहिले ‘डेटा वर्चस्वको मौन प्रतिस्पर्धा’ चलिरहेको छ। ‘डेटा नै नयाँ तेल’ बनेको युगमा नेपाली कांग्रेसले डिजिटल सार्वभौमिकताको नीति अवलम्बन गर्दै राष्ट्रिय डेटा केन्द्र स्थापना गर्नुपर्छ। यसले प्रविधि क्षेत्रमा युवाका लागि अवसर र सुरक्षाको दुवै सुनिश्चितता दिनेछ, जसबाट राष्ट्रको आर्थिक क्षमता र नवप्रवर्तनशीलता सुदृढ हुनेछ।
नेपालको उत्पादन प्रणाली र कृषि नीतिमा पनि अब गहिरो रूपान्तरण आवश्यक छ। बीपी कोइरालाको ‘हरेक नेपालीको घरमा गोरु, छानो र बारी होस्’ भन्ने दृष्टिकोणलाई आधुनिक प्रविधिमा आधारित सहकारी प्रणालीसँग जोडिनु पर्छ। इजरायलमा जम्मा तीन प्रतिशत जनसंख्या कृषिमा संलग्न भए पनि उनीहरूले विश्वस्तरको उत्पादन र निर्यात गर्न सकेका छन्। त्यसरी नै नेपालले पनि स्मार्ट एग्रीकल्चर, ड्रोन टेक्नोलोजी र सामुदायिक सहकारी मोडल अपनाउनु पर्छ।
ग्रामीण भूभागमा मानव बस्ती रित्तिँदै गइरहेका छन्, धेरै ठाउँ खाली र खण्डहर बनेका छन्। त्यसैले गाउँमै प्रविधिसहितको आधुनिक कृषि प्रणाली लागु गर्न अत्यावश्यक छ। स्वास्थ्य सामग्रीको उत्पादन र औषधि उद्योगहरू ग्रामीण क्षेत्रमा स्थापना गर्नु पर्छ। प्रविधि कम्पनीहरूलाई पनि गाउँकेन्द्रित बनाइनु पर्छ।
ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याइनु पर्छ। उत्पादन केन्द्रहरूलाई प्राविधिक हबका रूपमा विकास गर्नु नै आर्थिक आत्मनिर्भरता र ग्रामीण पुनर्जागरणको स्थायी बाटो हो। स्वास्थ्य र शिक्षामा लगानी गर्नु भनेको राष्ट्रको भविष्यमा लगानी गर्नु हो। जसरी हिजो स्वास्थ्यमन्त्री रहँदा हालका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेका थिए, त्यसलाई अझ सशक्त र व्यापक रूपमा विस्तार गर्दै लैजानु आवश्यक छ।
नेपाली कांग्रेसले सम्पूर्ण नागरिकका लागि अनिवार्य स्वास्थ्य बिमा र ग्रामीण स्वास्थ्य पूर्वाधार विकासको नीति लागु गर्नु पर्छ। बीपी कोइरालाको मानवकेन्द्रित समाजवादको सार नै हो, ‘राज्यले नागरिकलाई सुरक्षित र सम्मानजनक जीवनको आधार दिनु पर्छ।’ त्यसका लागि स्वास्थ्य संस्था र प्रविधि कम्पनीलाई गाउँतिर विस्तार गरी ‘कर्म–उत्पादन–सेवा’को सन्तुलित प्रणाली निर्माण गर्नु पर्छ।
शिक्षामा प्रविधि, अनुसन्धान र व्यावहारिक सिपमा जोड दिइनु पर्छ ताकि युवाहरू देशमै अवसर खोज्न सकुन्। गाउँ आज हेला भएको जस्तो देखिए पनि भोलिको सबैभन्दा ठूलो उत्पादनशील क्षेत्र बन्न सक्छ। गाउँको प्राकृतिक सुन्दरता र शान्त वातावरणले सिर्जनशीलता र आत्मिक सन्तुलन प्रदान गर्छ, जसले देशको दिगो आर्थिक विकास र सामाजिक सामञ्जस्य दुवै सुनिश्चित गर्छ।
नेपालको विदेश नीतिमा अब ‘स्वतन्त्रता, सन्तुलन र आत्मसम्मान’ मुख्य आधार बन्नु पर्छ। बीपी कोइरालाको ‘शान्त, स्वाधिन र सन्तुलित’ नीति आज पनि सान्दर्भिक छ। नेपालले भारत र चीनबीच सन्तुलन राख्दै, विश्वसामु लोकतान्त्रिक र आत्मनिर्भर छवि प्रस्तुत गर्नु पर्छ। अब सहयोग माग्ने होइन, समान हैसियतमा सहकार्य गर्ने राष्ट्र बन्ने हो। विदेश नीति अब वैचारिकभन्दा पनि व्यावहारिक हुनु पर्छ जसले नेपाली नागरिक, श्रम र प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा सशक्त बनाउन सकोस्।
अन्ततः भोलिको नेपाली कांग्रेसको सफलता युवा पुस्तामा निर्भर छ, जसमा ऊर्जा, प्रविधि बुझ्ने क्षमता र नयाँ समाजको दृष्टि समाहित छ। जसरी जोनएफ केनेडीले भनेका थिए, ‘आस्क नट ह्वाट योर कन्ट्री क्यान डु फर यु आस्क ह्वाट यु क्यान डु फर योर कन्ट्री।’ यस्तै भावना युवामा जगाउन कांग्रेसले विशेष पहल गर्नु पर्छ। अब समय आएको छ– पार्टीले वृद्धकेन्द्रित राजनीति (जेरोन्टोक्रेसी) बाट सहनेतृत्वको संरचनातर्फ अघि बढोस्, जहाँ अनुभव र युवाको ऊर्जा एकसाथ चल्नेछ।
युवालाई नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वमा प्रत्यक्ष स्थान दिनु कांग्रेसको पुनर्जागरणको पूर्वसर्त हो। भोलिको नेपाली कांग्रेस त्यतिबेला मात्र सफल हुनेछ जब उसले बीपीको समाजवाद, देङ सियाओपिङको व्यावहारिकता, आइन्स्टाइनको आत्म–शान्ति र ओशोको जीवन–दर्शनबीच सन्तुलन कायम गर्न सक्नेछ।
यस दृष्टिकोणले भविष्यको नेपाल लोकतान्त्रिक मूल्यमा आधारित, प्रविधिमा आधारित, आत्मनिर्भर र मानवकेन्द्रित राष्ट्र बन्नेछ, जहाँ कांग्रेसको राजनीति केवल सत्ता प्राप्तिमा सीमित नहुने र सन्तुलन, विचार एवं सेवामा आधारित हुने सुनिश्चित हुनेछ। तब मात्रै आम जनताले सुशासनको प्रत्याभूति गर्दै गर्व गर्न सक्ने देश र पार्टी बन्नेछ।
(पपुलर बेलवासे नेपाली जनसम्पर्क समिति, डेनमार्कका प्रवक्ता हुन्)
Shares

प्रतिक्रिया