कर्पोरेट


नेपालीको कम्पनीले २ खर्ब ५६ अर्ब लगानी गर्‍यो, अब भारतमा खोल्दैछ आईपीओ

नेपालीको कम्पनीले २ खर्ब ५६ अर्ब लगानी गर्‍यो, अब भारतमा खोल्दैछ आईपीओ

दीपेश कार्की


नेपालखबर
मंसिर २९, २०८२ सोमबार ७:३५, काठमाडौँ

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तीन दिन अगाडि एउटा समाचार प्रकाशित गर्‍यो। रोयटर्सका १ सय ६५ देशका मिडिया तथा कम्पनीहरु ग्राहक छन्। उसले वितरण गर्ने सामाग्री दैनिक १ अर्ब मान्छेले हेर्छन्, पढ्छन्।

विश्वभरि नेटवर्क भएको यही समाचार संस्थाले डिसेम्बर ११ मा आफ्ना ग्राहकलाई पठाएको एउटा समाचार नेपाली युवा सहसंस्थापक रहेको कम्पनीसँग सम्बन्धित थियो। सगरमाथा चढेर कीर्तिमान बनाएर होइन, फाइनान्स टेक्नोलोजी (फिनटेक) बाट आर्थिक उन्नति गरेपछि समाचार बनेको थियो। खासमा त्यो एउटा बिजेस खबर थियो।

टेक्नोलोजीले सजिलो बनायो, सापटी लिन र दिन
करिअरको खोजीमा रहेका एक जना नेपाली युवाले भारतीय साथी भविन पटेलसँग मिलेर मुम्बइमा लेनदेन क्लब (पीटूपी) लेन्डिङ प्लेटफर्म स्थापना गरे। अहिलेसम्म त्यो कम्पनीमार्फत २ खर्ब ५५ अर्ब नेपाली रूपैयाँभन्दा बढी पैसा लगानी भइसकेको छ। यसपछि कार्की र पटेलको पिटूपी कम्पनी 'लेनदेन'ले आइपीओ जारी गर्न गइरहेको हो। बेंग्लुरू र मुम्बइ दुई ठाउँका आफ्ना संवादातामार्फत् रोयटर्सले त्यही खबर लेखेको हो।

हो, भारतकै सबैभन्दा ठूलो पियर टू पियर (पीटूपी) 'लेन्डिङ' कम्पनी 'लेनदेन'ले पुँजी बढाउन सर्वसाधारण समक्ष कम्पनीको सेयर (आइपीओ) बिक्री गर्ने तयारी गरिरहेको हो। पियर टू पियर लेन्डिङ कम्पनीले व्यक्तिगत ऋणदातालाई बैंक र अन्य वित्तिय संस्थाहरुलाई बाइपास गरेर सिधै ऋणीसँग जोड्ने गर्ने काम गर्छन्। यो कामलाइ टेक्नोलोजी प्रयोग गरी थप व्यवस्थित र तीब्र बजारीकरणमा 'लेनदेन' सफल भएको हो। 

अनि त्यो कम्पनीका दुई सहसंस्थापक मध्ये एक जना नेपाली युवा दीपेश कार्की हुन्।

दीपेश कार्की

अनलाइनखबरका अनुसार दीपेश बिराटनगरमा जन्मेहुर्केका हुन्। कक्षा १२ सम्मको अध्यययन उनले बिराटनगरबाटै पूरा गरे। भारतको प्रतिष्ठित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)मा अध्ययन गरेका उनले भविन पटेलसँग सहकार्य गर्दै सन् २०१५ मा मुम्बइमा पीटूपी कम्पनी लेनदेन क्लब स्थापना गरेका थिए।

यसको काम मुम्बइ भए पनि टेक्नोलोजी सम्बन्धी धेरै काम बेंग्लुरूबाट चल्छन्। लेनदेन टेक्नोलोजी आधारित कम्पनी हो र त्यसको मास्टर माइन्ड दीपेश हुन्। फिनटेक समुदायबीच उनको पहिचान नै 'लेनदेन'को टेक्नोलोजी आर्किटेक्टको रूपमा स्थापित छ। अर्का सहसंस्थापक भविन पटेल कम्पनीको सीइओ हुन्। रोयटर्सका अनुसार अहिले यो कम्पनीले १ अर्ब ४० करोड जनसंख्या भएको भारतमा हुने पीटूपी कारोबारको ९५ प्रतिशत बजार हिस्सा लिएको छ। 

‘हामी आईपीओ जारी गर्ने तयारीको चरणमा छौँ। आगामी १८ देखि ३६ महिनाभित्र यसलाई लक्ष्यमा पुर्‍याउन सक्छौँ’, पटेलले ११ डिसेम्बरमा रोयटर्ससँग भनेका छन्।

कम्पनीले आइपीओमा जानुअघि दुई वटा आन्तरिक लक्ष्यहरु तय गरेको छ। पहिलो ११ दशमलव १ मिलियन अमेरिकी डलरभन्दा माथिको वार्षिक नाफा हाँसिल गर्ने। दोस्रो, सूचीकृत अरु कम्पनीहरुसँग मिल्दोजुल्दो अकाउन्ट अभ्यासहरुको पुनःसंरचना गर्ने। ‘धेरै आन्तरिक काम गर्नुपर्नेछ। हामीले यसलाई विगत तीन महिनादेखि नै गर्न थालिसकेका छौँ’, पटेलले भनेका भनेका छन्।

२ खर्ब ५६ अर्ब रूपैयाँ लगानी
भारतको व्यापारिक राजधानी पनि भनिने मुम्बईमा रहेको यो कम्पनीले आर्थिक वर्ष २०२४ मा २ अर्ब ४० करोड भारतीय रुपैयाँको राजस्व तिरेको थियो। लगभग ३ सय ४० मिलियिन रुपैयाँ नाफा कमाएको थियो। चालू आर्थिक वर्षमा यसले ३.२ अर्ब रुपैयाँदेखि ३.५ अर्ब रुपैयाँसम्मको राजस्व र ५०० मिलियन रुपैयाँदेखि ६०० मिलियन रुपैयाँबीचको नाफा अपेक्षा गरेको वेबसाइटमा उल्लेख छ।

लेनदेन क्लब'का सहसंस्थापक दीपेश हाल टेक्नोलोजी प्रमुखका साथै उत्पादक प्रमुख पनि हुन्। लेनदेन सुरू गर्नुअघि उनी आइडिए बिजनेस सोलुसन र न्यूगेन सफ्टवेयर टेक्नोलोजीसँग काम गरेका थिए। बिजनेस र प्रोफेसनलहरूबीच लोकप्रिय सामाजिक सञ्जाल  लिंकडिनको उनको प्रोफायलअनुसार 'लेनदेन'को मातृ कम्पनीमा उनको भूमिका सोलुसन आर्किटेक्ट, बिजेनस डेभलपमेन्ट र प्रतिभावान व्यक्ति छनोटमा छ।

सापटी लिने-दिने जोडिन्छन् एउटै प्लेटफर्ममा
लेनदेन' प्लेटफार्मले पैसा आवश्यक हुने र पैसा सापटी दिनसक्ने दुवै पक्षलाई एकैठाउँमा जोडेको छ। पैसा दिन सक्ने ऋणदाता लेनदेनको प्लेटपफर्ममा जोडिन्छ र आफूले सक्ने जति ऋण दिन पाउँछ। त्यस्तै ऋणी पनि यो प्लाटफर्ममा जोडिन्छ र आफूलाई आवश्यक परेको पैसा निश्चित अवधिका लागि तोकिएको ब्याजदरमा लिन्छ। लेनदेन क्लबले आफ्नो प्लाटफर्ममा जोडिने ऋणदाता तथा ऋणी दुवैको क्रेडिट हिस्ट्री भने हेर्छ। मानिसको खर्चको मूल्यांकन गर्छ र योग्यता पुगेका ऋणदाता तथा ऋणीलाई मात्रै आफ्नो प्रणालीमा आबद्ध गराउँछ।

दीपेशले बताएअनुसार अनुसार 'लेनदेन'मार्फत १६ हजार करोड भारु (२ खर्ब ५६ अर्ब नेपाली रुपैयाँ) लगानी भइसकेको छ। यो भनेको करिब २ अर्ब अमेरिकी डलर बराबर हो। अब यो कम्पनीको मूल्यांकन ५० देखि ६० करोड अमेरिकी डलर (अर्थात् करिब ७० अर्बदेखि ८० अर्ब नेपाली रुपैयाँ बराबर) पुगेको छ।

विश्वकै ठूलो बजार मानिएको भारतमा पैसा जरूरी पर्ने र पैसा सापटी दिने दुवैलाई एउटै प्लेटफर्ममा जोड्ने काममा सफल भएपछि 'लेनदेन' अहिले उत्कृष्ट टेक्नोलोजीसहित भारत बाहिर फैलिन खोजिरहेछ। दीपेशका अनुसार फिलिपिन्स, भियतनाम, इन्डोनेसियासहितका देशहरूमा लेनदेन क्लबजस्ता पीटूपी काम गर्ने कम्पनीको ठूलो सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad