कर्पोरेट


'फ्लाइट सेफ्टी' माथि गम्भीर चुनौती, बुद्ध एयरको ढोका खोल्ने पक्राउ

'फ्लाइट सेफ्टी' माथि गम्भीर चुनौती, बुद्ध एयरको ढोका खोल्ने पक्राउ

नेपालखबर
पुस ३०, २०८२ बुधबार २०:२९, काठमाडौँ

त्यो बुद्ध एयरको भैरहवा–काठमाडौं उडान नं.८५२ थियो। नाइन एन–एमडी कल साइन नम्बरको एटीआर ५२–५०० जहाजभित्र यात्रु भरि  थिए। मुख्य ढोका बन्द भइसकेको थियो। उड्नका लागि जहाज धावनमार्गतर्फ जान लागेको थियो। त्यही बेला एक यात्रुले आपत्कालीन ढोकाको ह्यान्डल तादिए। उड्न तयार रहेको बुद्ध एयरको ढोका खुल्यो।

सुमन गाैतमले ढोका खोलेका हुन्।

उड्न लागको जहाजको ढोका खुल्दा के हुन्छ?

जहाज उड्नका लागि हुनुपर्ने सन्तुलन बिग्रिन्छ। उड्दा भित्रको हावाको प्रेसर सन्तुलनमा राख्न ढोकाहरु पूर्ण रुपमा सिल गरिएको हुनुपर्छ। एक पटक आपतकालीन ढोका खोलिएपछि त्यसको सिल बिग्रने सम्भावना रहन्छ। सुमनले आपत्कालीन ढोका खालिसक्दा त्यसको सुरक्षा पिन प्रयोग भइसकेको थियो। त्यसलाई पुन पहिलाकै अवस्थामा फर्काउन बुद्ध एयरले काठमाडौंबाट इरोनटिकल इन्जिनियरको टोली भैरहवा पठायो। उनीहरुले चेकजाँच गरी ‘सेफ्टी क्लियरेन्स’ पाएपछि मात्र जहाज काठमाडौं फर्कियो थियो।

वैदेशिक रोजगारीमा जान हिँडेका थिए सुमन

सुमन गौतमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाइरहेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले प्राविधिक र इन्जिनियरिङको पक्षबाट अनुसन्धान अघि ढबाएको छ।

‘आपतकालीन ढोका खोल्ने व्यक्ति प्रहरी कस्टडीमा छन्। घटना कसरी भयो र के कारवाही गर्ने भनेर हामी छलफलमै छौँ’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक श्यामकिशोर साहले नेपालखबरसँग भने, ‘कानुनअनुसार यो ठूलो अपराध हो। ठूलो कारवाही हुन सक्छ। बुद्ध एयरको ५–६ लाख रुपैयाँको क्षति पुगेको छ। अनुसन्धान सकिएपछि निर्णय हुन्छ।’ गैरसैनिक हवाई उडान ऐन २०१५ का अनुसार हवाई सुरक्षामा बाधा पुर्‍याउने व्यक्तिलाई कसुरको प्रकृति हेरी १ देखि ३ वर्षसम्म कैद वा जरिवाना हुनसक्ने प्रावधान छ।

जहाजको आपतकालीन ढोका खोल्ने सुमन गौतम गुल्मीका हुन्। उनले वैदेशिक रोजगारीमा विदेश उड्न काठमाडौं गइरहेको बताएका छन्। ‘बयानबाट वैदेशिक रोजगारीमा विदेश जान लागेको भन्ने देखियो। ढोका खोल्ने काम लापरवाही हो अथवा अन्जानमा भएको भनेर सोधपुछ भइरहेको छं’,नेपालखबरसँग उनले भने।

श्रृङ्खलाबद्ध लापरवाही

बुद्ध एयरको जहाजमा यात्रुले लापरवाही गरेको यो पहिलो घटना होइन। यसअघि जनकपुर र पोखरामा यस्तै प्रकृतिका घटना हुँदा बुद्धले १ लाख रुपैयाँ जरिवाना तिराएर यात्रुलाई छोडेको थियो। 

जरिवानाको रकम सामाजिक संस्थालाई दान दिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुल जहाजमा यात्रुको लापरवाहीका घटना बढ्दै गएकाले 'फ्लाइट सेफ्टी'को विषयमा समीक्षा भइरहेको बताउँछन्। ‘एक जनाले गर्दा धेरै ज्यान जोखिममा पर्ने हुँदा यो निकै सम्वेदनशील कुरा हो। यस्ता घटना बढ्दै गएका छन्’, भुलले नेपालखबरसँग भने, ‘फ्लाइट सेफ्टीलाई गम्भीरतापूर्वक लिएका छौँ। फेरि यस्ता घटनाहरुसँग देशको नाम पनि जोडिन्छ।’

विदेशमा यात्रुहरूले झुक्किएर वा मानसिक तनावका कारण यस्ता ढोका खोलेका घटना सार्वजनिक हुने गरेका छन्। गत वर्ष दक्षिण कोरियामा उडिरहेको जहाजकै ढोका एक यात्रुले खोलिदिँदा ठूलो आतंक मच्चिएको थियो। सामान्यतया यस्ता घटनामा यात्रुले 'झुक्किएर' वा 'कौतुहलता'ले गर्दा ढोका खोलेको बताउने गरेका छन् तर कानुनी रूपमा यसलाई उडान सुरक्षामाथिको गम्भीर लापरवाही मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad