रुसले बिहीबार बिहान युक्रेनभर लामो दूरीका क्षेप्यास्त्र र ड्रोनमार्फत व्यापक आक्रमण गर्दा रुसले प्रहार गरेको एउटा क्षेप्यास्त्र पोल्यान्डमा खसेको छ। तर, क्षेप्यास्त्रबाट कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ।
बिहीबार बिहान युक्रेनी सीमाबाट करिब ९० किलोमिटर टाढा पर्ने पूर्वी गाउँ तार्नावा-कोलोनिया नजिकैको खेतमा एउटा अज्ञात वस्तु खसेर करिब १० मिटर चौडाइको खाडल बनेपछि पोल्यान्डले कडा आपत्ति जनाएको छ। साथै आफ्नो हवाई क्षेत्रको उल्लंघनबारे अनुसन्धान सुरु गरेको छ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले खसेको वस्तुको संकेतहरूले यो रुसी ‘केएच-१०१’ क्षेप्यास्त्र भएको हुनसक्ने बताएका छन्।
पूर्वी पोल्यान्डको लुब्लिनमा आज आयोजित सरकारको आकस्मिक बैठकपछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री टस्कले ‘हामी क्षेप्यास्त्रको प्रकार र यसलाई कसले प्रहार गरेको हो भन्नेबारे शतप्रतिशत निश्चित हुन चाहन्छौँ,’ भनेका छन्।
साथै, उनले यदि उक्त क्षेप्यास्त्र आफ्नो उडान मार्गमा अघि बढेको भए पोलिस सेना त्यसलाई खसाल्न तयारी अवस्थामा रहेको भनेका छन्।
रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा तेह्र जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन्।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठुलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै रुसले यो आक्रमण गरेको थियो।
Shares

प्रतिक्रिया