आर्थिक सुस्तताको प्रत्यक्ष असर परेको रियल स्टेट क्षेत्र गएको दुई वर्षदेखि चलायमान बन्नसकेको छैन। यसले गर्दा यो क्षेत्रमा जाने कर्जा निरन्तर खस्किँदै गइरहेको छ।
व्यावसायिक घर कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जा घटिरहँदा व्यक्तिगततर्फ भने सुस्तताले कुनै प्रभाव नपारेको पाइएका छ।
मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले वितरण गरेको कर्जाको अवस्था हेर्ने हो भने पनि व्यक्तिगत घरकर्जा ६.५ प्रतिशतले बढेको देखिन्छ। जब कि व्यावसायिक तर्फको घरजग्गा कर्जा ०.५ प्रतिशतले घटेको हो।
चालू आर्थिक वर्षको असार मसान्तदेखि मंसिर मसान्तसम्म नेपालीहरुले २ करोडसम्मको आवासीय घरकर्जा शीर्षकमा २७ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगेका हुन्। व्यापारिक प्रयोजनका लागि भने यो अवधिमा कर्जा प्रवाह भने १ अर्ब ४४ करोडले ऋणात्मक देखिएको छ।
यो भनेको असारसम्म रियलस्टेट कर्जा शीर्षकमा कुल २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँको कर्जा गएको थियो भने मंसिरमा यस्तो कर्जा घटेर २ खर्ब ७४ अर्ब ५१ करोडमा सीमित भएको हो।
यो अवधिमा रियलस्टेट कर्जा खस्किँदा पनि व्यक्तिगत घरकर्जामा भने कुनै असर नगरेको देखिएको हो।
Shares

प्रतिक्रिया