कारोबार


अन्तर्राष्ट्रिय ब्रान्ड ‘रोयल टुलिप चितवन’को नेतृत्वमा कृष्णप्रसाद तिमल्सिना

अन्तर्राष्ट्रिय ब्रान्ड ‘रोयल टुलिप चितवन’को नेतृत्वमा कृष्णप्रसाद तिमल्सिना

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १८:२, काठमाडौँ

सौराहामा सञ्चालित पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ले महाप्रबन्धकमा ३० वर्षको अन्तर्राष्ट्रिय अनुभव बटुलेका कृष्णप्रसाद तिमल्सिनालाई नियुक्त गरेको छ।

केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित यस प्रिमियम रिसोर्टले बिहीबारदेखि तिमल्सिनालाई महाप्रबन्धकको जिम्मेवारी सुम्पेको हो।

गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको यस अन्तर्राष्ट्रिय ब्राण्डको होटलले पहिलो पटक नेपाली जिएम नियुक्त गरेको छ।

तिमल्सिनासँग नेपाल तथा चीनका प्रतिष्ठित अन्तर्राष्ट्रिय चेन होटल तथा रिसोर्टहरूको नेतृत्वदायी पदमा रही काम गरेको विशिष्ट अनुभव रहेको छ। उनले पोखराको माउन्टेन ग्लोरीलगायत विभिन्न अन्तर्राष्ट्रिय होटल चेनमा उच्च पदमा कार्य गरिसकेका छन। 

यस रिसोर्टमा उच्च प्रतिस्पर्धाबाट छानिएका विभिन्न तहका कर्मचारीहरू आफ्नो पेशामा दक्ष र व्यावसायिक छन्। सबै कर्मचारीहरूले आवश्यक तालिम लिइसकेका छन्। र पाहुनाहरूको आतिथ्यता र सेवामा समर्पित हुन तयार छन्।

‘होटल निर्माणका क्रममा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गरिएको थियो। त्यसैगरी, जनशक्ति पनि स्वदेशी नै उपयोग गर्ने नीति अनुरुप अन्तर्राष्ट्रिय अनुभव बटुलेका तिमल्सिनालाई नियुक्त गरेको हो,’ केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले भने, ‘फ्रान्सको प्रख्यात लुभ्र होटल्स ग्रुपसँग सहकार्य गरेर चितवनमा खुलेको होटलमा प्रायजसो जनशक्ति नेपाली नै छन् । प्राविधिक जनशक्ति ब्राण्डसँग समन्वय र परामर्शमा लिइएको हो।’

रोयल टुलिप फ्रान्सको लुभ्र होटल्स ग्रुपअन्तर्गतको प्रिमियम ब्राण्ड हो, जसले विश्वभर ७० भन्दा बढी देशमा १ हजार ७५६ भन्दा बढी होटल सञ्चालन गरिरहेको छ। युरोप, एसिया, अफ्रिका र मध्यपूर्वमा आफ्नो उपस्थिति जमाइसकेको यो ब्राण्डले लक्जरी आवास र उत्कृष्ट सेवाका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेको छ।

रोयल टुलिप ब्राण्डले विशेष गरी आफ्ना पाहुनालाई स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय मापदण्डको सुन्दर समन्वय प्रदान गर्ने रणनीति अपनाउँदै आएको छ। यही मोडलअनुसार नेपालमा पनि स्थानीय संस्कृति र विश्वस्तरीय सुविधाको अद्भुत मेलमिलाप गराइएको छ।

कोभिड–१९ महामारीको सुरुवात २०७७ साल मंसिर (सन् २०२० अन्त्यतिर)मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले भव्य समारोहबीच यस शिलान्यास गरेका थिए। अत्यन्त चुनौतीपूर्ण समयमा पनि यो परियोजना अगाडि बढ्नु नेपाली पर्यटन क्षेत्रको दृढता र सम्भावनाको प्रमाण हो। चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित ४ एकड भन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा सुन्दर ढंगले डिजाइन गरिएका आवासहरू रहेका छन्। विशेष पुल भिला, वाटर भिला र मचान सुइटहरूले मनमोहक दृश्य र विलासी सुविधा प्रदान गर्दछन्।

रिसोर्टका प्रमुख आकर्षण

१) अन्तर्राष्ट्रिय मापदण्डको स्पा र वेलनेस सेन्टर
२) आधुनिक फिटनेस सेन्टर
३) रमणीय पौडी पोखरी
४) फरेस्ट फ्लेम रेस्टुरेन्ट
५) मचान लाउन्ज
६) जीवन्त तनाबी स्पोट्र्स बार
७) शिशुकुञ्ज (बच्चाका लागि खेल्ने स्थान)
८) बोटिङ तथा फिसिङ सहित सुविधायुक्त पानी पोखरी घर
९) झण्डै डेढ किलोमिटरको वाकिङ ट्रेल तथा हेलिप्याड

आदिम कालदेखि चितवन क्षेत्रमा बसोबास गर्दै आएका माझी र थारु समुदायको सम्पन्न संस्कृतिलाई जीवन्त राख्न ‘माझीघर’ निर्माण गरिएको छ, जसले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली संस्कृतिको प्रामाणिक अनुभव प्रदान गर्नेछ।

रोयल टुलिप चितवनले विश्वस्तरीय गुणस्तर र उत्कृष्ट आतिथ्यता प्रदान गर्दै स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने मूल उद्देश्य राखेको छ। यसले विदेशी मुद्रा आर्जनमा वृद्धि ल्याउने मात्र नभइ स्थानीय रोजगारी सृजना, क्षमता विकास र सांस्कृतिक संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad