कारोबार


स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ: अर्थमन्त्री खनाल

स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ: अर्थमन्त्री खनाल

नेपालखबर
माघ २८, २०८२ बुधबार १८:६, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भूवनबहादुर सुनारले राखेको प्रश्नको जवाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिए।

उनले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनःसञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताए।

उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न समेत उल्लेख्य बजेट आवश्यक परेको उल्लेख गरे। चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजन हुँदा कतिपय आयोजनाको दायित्व सिर्जना भई भुक्तानी गर्न नसकिएको अवस्था रहेकाले पनि कतिपय योजनाको बजेट स्थगन गर्न परेको उनको भनाई छ।

उनले तयारी नै नभएका, खरिद प्रक्रियामा नगेका, साना तथा टुक्रे आयोजना जसले तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका आयोजनालाई स्थगन मात्रै गरिएको उनले स्पष्ट पारे।

डिजाईन तथा स्टिमेट पूरा भइसकेका, टेण्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको उनले बताए।

उनकाअनुसार सोही व्यवस्थाअनुसार हाल धेरै आयोजनाको रकम फुकुवा भई कार्यान्वयन शुरु हुने क्रममा रहेका छन् भने केही आयोजना शुरु भइसकेका छन्।

उनले भने, ‘यदी केही गरि ती आयोजनाहरू पनि डिजाईन स्टमेट सकिएर, टेण्डरमा जाने क्रममा छन्, अथवा टेण्डरमा गईसकेका छन्, वा ती क्रमागत हुन् अथवा उपभोक्ता समितिसँग सम्झौता गरेर प्रारम्भ हुने क्रममा छन् भने तिनिहरूलाई क्रमैसँग मन्त्रालयबाट फुकुवा गर्ने भनिएको थियो, त्यही अनुसार अहिले धेरै आयोजनाहरूको रकम फुकुवा भएर आयोजना शुरु हुने क्रममा रहेका छन् भने केही शुरु भइसकेका छन्।’

अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गरेर आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गरिएको उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad