भदौ २२ गते। ठ्याक्कै त्यही दिन उनी सरुवा भएर चितवन पुगेका थिए। उनको हातमा सरुवाको चिठ्ठी थियो र मनमा एउटा अर्को जिल्लालाई शान्त र सुरक्षित राख्ने अठोट। औपचारिक पदस्थापन भइसकेको थिएन तर भदौ २३ मा चितवनका युवा सडकमा ओर्लिएका थिए। भोलिपल्ट भदौ २४ । प्रशासकको औपचारिक कार्यभार सम्हालेकै थिएनन्। तर गणेश अर्यालको आँखैअगाडि भरतपुरका भौतिक संरचनाहरू दन्किरहेका थिए। सुरक्षाकर्मीको नेतृत्व, दमकलको साइरन र सर्वसाधारणको भागाभागबीच नयाँ सीडीओ अर्याल निरीह बनेका थिए।
केही घण्टामा करोडौँको क्षति भयो, भौतिक संरचना खरानी भए। एक प्रशासकका लागि आफ्नो क्षेत्रभित्र एउटा इँटा मात्रै खस्नु पनि असफलताको सानो अंश हो भने, त्यहाँ त सरकारी कार्यालय जोगिएनन्। नागरिकको जिउधन बचाउनु पर्ने पहिलो दायित्वमै उनले 'अग्निपरीक्षा' सामना गर्नुपर्यो।
हो, परिस्थितिले उनलाई अर्कै ढङ्गले चितवनमा स्वागत गरेको थियो। 'जेनजी' आन्दोलनको रापले देशभरको माहोल तात्तिएको बेला भदौ २४ गते भरतपुरको व्यापारिक केन्द्र भाटभटेनी सुपर स्टोरमाथि पनि आक्रोशको आगो झोसियो। भर्खरै ओर्लिएका सीडीओ गणेश अर्यालले जिल्लाको वस्तुस्थिति बुझ्न नपाउँदै एउटा बीभत्स दृश्यको साक्षी बन्नुपर्यो— सरकारी संरचना र भाटभटेनी सुपर स्टोरमा दन्किरहेको आगो।
भाटभटेनीका देशैभरि ३३ वटा शाखामध्ये जेनजी आन्दोलनमा १२ वटा जलेर पूर्ण नष्ट भएका थिए। भरतपुरको भाटभटेनी ती मध्ये एउटा थियो। जलेको संरचनालाई पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याउन भाटभटेनीलाई सात महिना तीन दिन लाग्यो। शुक्रबार बिहान भरतपुर फेरि एकपटक बौरिएको छ। आगोले खाएको त्यही भाटभटेनी नयाँ स्वरूपमा ठडिएको छ।
सीडीओको त्यो एसएमएस
व्यवस्थापनले सानो पूजा गरेर पुनः सञ्चालनको तयारी गर्यो। व्यवस्थापनका प्रतिनिधि विनोद भण्डारीले सीडीओ अर्याललाई अघिल्लो दिन नै शुक्रबार बिहानको कार्यक्रमका लागि विशेष निमन्त्रणा पठाए। सबैले अपेक्षा गरेका थिए— उनी आउनेछन् रिबन काटेर खुसी साट्नेछन्।
तर त्यसो भएन।
आँखैअगाडि भौतिक संरचना खरानी भइरहँदा, नागरिकको जिउधन जोगाउने शपथ खाएका प्रशासकका लागि त्यो दृश्य कति पीडादायी हुन्छ? यसको जवाफ सात महिनापछि शुक्रबार बिहान अर्यालले पठाएको एउटा 'एसएमएस'ले दिएको छ। निमन्त्रणा कार्ड पठाउने विनोद भण्डारीलाई एउटा भावुक सन्देश फर्काए, जसले अहिले चितवनमा धेरैको मन छोएको छ।
अर्यालले एसएमएसमा लेखे, ‘भाइ ! निम्ताका लागि धेरै धेरै धन्यवाद तर मेरो विवेकले मलाई बारम्बार भनिरहेको छ— आफ्नो जिम्मेवारीमा हुँदा भाटभटेनी बचाउन सकिनँ। अहिले तपाईंहरू उठ्नुभयो, खुसीको पलको साक्षी बन्ने नैतिक हक मसित छैन।’
यो सन्देश केवल एक एसएमएस मात्रै थिएन, यो त एउटा राष्ट्रसेवकको आफ्नो कर्तव्यप्रतिको चरम इमान्दारिता र ‘ग्लानी’ को दस्तावेज थियो।
जिम्मेवारीले कसेको मनको गाँठो
आइतबार नेपालखबरसँग करिब १३ मिनेटको कुराकानीमा अर्यालले आफ्नो मनको गाँठो फुकाए। ती दिनको छटपटी र अहिलेको ग्लानीलाई शब्दमा उतार्न कोसिस गरे। 'म सरुवा भएर आउँदा आउँदै त्यो घटना भयो। जिम्मेवारीबाट उम्किन त पाइँदैन तर त्यत्रो संरचना आगजनी हुँदा जोगाउन नसक्दा भित्रैदेखि ग्लानी हुँदो रहेछ,' उनले भने।
अर्याललाई लागेको थियो— यो संरचना ठडिन कम्तिमा दुई–तीन वर्ष लाग्ला तर सातै महिनामा भाटभटेनी फेरि हाँसेको देख्दा उनी दंग पनि छन्। भन्छन्, 'म यहीँ हुँदाहुँदै उहाँहरूले पुनः निर्माण सकेर सञ्चालनमा ल्याउनुभयो, यो ठूलो कुरा हो। तर, त्यहाँ गएर खुसी साट्ने मभित्रको नैतिक साहस जुट्न सकेन।'
उनले पठाएको त्यो भावुक सन्देशको सामाजिक सञ्जालमा चर्चा भइरहेको थाहा पाएपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले उनलाई फोन गरे। सीडीओको इमोसन र कर्तव्यबोधले गुरुङलाई पनि भावुक बनायो। शुक्रबार अपराह्न अर्याल र गुरुङबीच भेटघाट भयो। एउटा प्रशासक जो कानुनको रक्षक मात्र होइन, मानवीय भावनाको कति नजिक हुन्छ भन्ने उदाहरण अर्यालको कदमले देखाएको छ। उनलाई लाग्छ— जहाँ आफूले सुरक्षा दिन सकिएन, त्यहाँ उत्सव मनाउन जानुले आफ्नो जिम्मेवारीप्रति न्याय गर्दैन।
सहरमा भाटभटेनी त फर्कियो, तर त्यो रातको आगोले एउटा प्रशासकको मनमा लगाइदिएको 'ग्लानीको डाम' भने अझै निको भएको छैन। चितवनको प्रशासनले सायद धेरै सीडीओ देख्यो, तर आफ्नो कार्यकालको पहिलो दिनको 'असफलता'लाई सात महिनासम्म मुटुमा गाँठो पारेर बस्ने र खुसीको पलमा समेत त्यसको नैतिक मूल्य खोज्ने प्रशासक विरलै भेटिन्छन्।
Shares

प्रतिक्रिया