कारोबार


वैशाख ७ देखि सर्किट ब्रेकरमा नयाँ व्यवस्था, अब १५ प्रतिशत घटबढमा सर्किट लाग्ने

वैशाख ७ देखि सर्किट ब्रेकरमा नयाँ व्यवस्था, अब १५ प्रतिशत घटबढमा सर्किट लाग्ने

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १६:४०, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारमा प्रचलित सर्किट ब्रेकरको व्यवस्था परिवर्तन गरेको छ। 

धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली यही वैशाख ७ गतेदेखि कार्यान्वयन गर्न लागिएको हो। ३ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले ७ गतेदेखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने जनाएको छ। 

यसअनुसार निरन्तर कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबार बन्द हुनेछ। त्यस्तै निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा सोपश्चात् सो दिनको कारोबार बन्द हुनेछ। 

यसअघि निरन्तर कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटी वा बढी भएमा २० मिनेटको लागि कारोबार रोकिन्थ्यो। त्यस्तै निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र नेप्से ५ प्रतिशतले घटी वा बढी भएमा ४० मिनेटका लागि र निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से ६ प्रतिशतले घटी वा बढी भएमा सोपछि सो दिनको पूरै कारोबार बन्द हुने गरेको थियो। 

त्यस्तै कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्र मूल्यमा १५ प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार नहुने व्यवस्था समेत गरिएको छ। यसअघि कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १० प्रतिशतभन्दा बढी वा घटी हुने गरी सो दिन कारोबार नहुने व्यवस्था थियो। 

धितोपत्र कारोबार सञ्चालन विनियमावलीले सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा धितोपत्र बोर्डलाई जानकारी दिई नेप्सेले समय समयमा हेरफेर गर्न सक्ने अधिकार प्रदान गरेको छ। त्यही आधारमा नेप्सेले यो व्यवस्था संशोधन गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad