नेपाल। दक्षिण एशियाको ३ करोड जनसंख्या भएको मुलुक। यहाँ ठ्याक्कै तीन वटा राइड सेयरिङ कम्पनीले राम्रो व्यापार गरिरहेका छन्– पठाओ, इन्ड्राइभ र याङ्गो। यो व्यवसायका लागि नेपालमा दर्ता भएका कम्पनी अरु धेरै छन्।
कानुन बनेकै थिएन। बाइक चालकहरुले विषय बुझेकै थिएनन्। अमेरिका, भारत आउजाउ गर्नेहरुले एक दुई जनाले थाहा पाएका थिए तर अधिकांश नेपाली यात्रा साझेदार सेवाबारे बेखबर थिए। हो, ठिक त्यही बेला सन् २०१७ मा नेपालमा टुटलले यात्रा साझेदार व्यवसाय थालेको थियो। नेपालीले रियल टाइम ट्र्याकिङ गर्दै कसैको मोटरसाइकल चढ्न थालेका थिए।
केही वर्षमै राइड सेयरिङ सेवा युवाको जीवनशैली बन्यो। अर्थतन्त्र र रोजगारीका हिसाबले उद्योग, व्यवसायमा एउटा नयाँ क्षेत्र थपिनु उल्लासकै विषय हो। टुटलले प्राविधिक, कानुनी र व्यवसायिक झमेला व्यहोर्यो, पछि बन्द भयो। तर यात्रा साझेदार व्यवसाय रोकिएन, बरु झन फैलियो।
नेपाली फेरि एउटा अर्को यात्रा साझेदारलाई स्वागत गर्लान् ?
खुला बजार अर्थतन्त्रमा प्रतिस्पर्धा थप हुनु ग्राहकलाई छनोट बढ्नु हो। सेवा गुणस्तरीय बनाउन र मूल्य निर्धारण गर्न कम्पनीहरुलाई दवाब बढ्नु पनि हो। अहिलेको तयारी निष्कर्षमा पुग्दा छिटै पठाओ, इन्ड्राइभ र याङ्गोले नयाँ प्रतिस्पर्धी पाउनेछन्।
नेपालीले विश्वप्रसिद्ध अमेरिकी यात्रा साझेदार कम्पनी उबरसँग जोडिएका राइडर वा गाडी चढ्न पाउनेछन्।
राइड सेयरिङ व्यवसाय मोबाइल एपबाट चल्छ। सरकारले यसलाई सूचना प्रविधि अर्थात् आइटी उद्योग अन्तर्गत राखेको छ। यो व्यवसायमा २ करोड रुपैयाँ भए पनि विदेशी लगानी स्वीकार्य हुन्छ। यसअघि यो सीमा ५ करोड थियो।
‘हामीले पनि उबर नेपाल आउन लागेको सुनेका छौँ। सरकारले नेपालमा सूचना प्रविधि सम्बन्धी लगानीका लागि सहज वातावरण बनाएको छ’, विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक प्रशान्त बोहोरा भन्छन्।
यसका कार, बाइक सेयरिङ सेवा अन्तर्गत पाँच फरक-फरक श्रेणीका सेवाहरू छन्- उबर एक्स, उबर मोटो, उबर एक्सएल, उबर प्रिमियर तथा उबर अटो। ग्राहकलाई ग्रोसरी, औषधि र रेष्टुराँको खाना डेलिभरी गर्ने अर्को सेवा पनि चर्चित छ। पार्सल लजिष्टिक, उबेर रेन्टल, रजिर्भब र कार्गोको ढुवानी सेवा यसले प्रदान गर्छ। भारत र अमेरिकामा महिलाहरुका लागि महिलाले नै सवारी साधन चलाउने फिचर पनि प्रयोगमा छन्।

सरकारले नीति परिवर्तन गर्ने तयारी भने गरिरहेछ। देशको अर्थतन्त्र बलियो पार्न, नागरिकको प्रतिव्यक्ति आय बढाउन एउटा मात्रै व्यवसायको क्षेत्र थप हुनु पनि आर्थिक उन्नतिको अंश हो भने यहाँ त विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी आउन लागिरहेछ। राइड सेयरिङको ‘गोल्ड स्टान्डर्ड’ सेवा प्रवाह गर्ने कम्पनी भित्रिन लागिरहेछ।
कानुन निर्माण नभएसम्म यो व्यवसाय व्यवस्थित पार्न अन्तरिम मापदण्ड बनाउने सरकारको तयारी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मापदण्डको मस्यौदा तयार पारिसकेको छ। सर्वोच्च अदालतले यसअघि नै राइड सेयरिङ व्यवसायलाई नियमन गर्न कानुन बनाउन आदेश दिएको थियो।
नेपालीहरुले सायद धेरै किसिमका राइड सेयरिङ एप प्रयोग गरे तर विश्वका १५ हजार सहरमा सेवा दिइरहेको उबर विशेष हुनेछ।
Shares

प्रतिक्रिया