एक महिनाअघि सार्वजनिक भएको ‘झलिको’ गीत निकै लोकप्रिय बन्यो। प्रेमभाव प्रकट गर्ने गीतलाई टिकटकदेखि युट्युबसम्म अत्यधिक रुचाइयो। गीतका हरेक हरफमा ३० लाख बढी टिकटक बने। युट्युबमा पनि गीतलाई डेढ करोड बढी पटक हेरिएको छ। यो लोभलाग्दो सफलतासँगै गायक अर्जुन सापकोटा पनि सांगीतिक करिअरको उचाइमा छन्।
हुन त यसअघि पनि अर्जुनका गीतहरू नचलेका होइनन्। उनका वनकी चरी, फुल्यो गुराँस, डाँडैको टुनी, पछ्यौरी लिसियो, पानी, बस्यौ अलक्कै, दु:ख साटम्ला लगायतका गीतहरू हिट छन्। केही गीतले त युट्युबमा करौडौं भ्युज समेत पाइसकेका छन्।
तर, ‘झलिको’ गीत चलेपछि आफूले दर्शकबाट नसोचेको माया र प्रतिक्रिया पाएको सुनाउँछन् अर्जुन।
‘यो जस्तोसुकै जनराको स्रोताले पनि सुन्ने गीत बन्यो। यस गीतमार्फत म पनि धेरै दर्शकमाझ पुगेँ जस्तो लाग्छ। उहाँहरूले पनि अर्जुन सापकोटाबाट रिप्लाइ आउँछ होला त भनेर टिकटक बनाउनुहुन्छ। मैले सकेसम्म सबैको रि-पोस्ट र कमेन्ट गर्ने गरेको छु। गीत चलेपछि मलाई अलि बढी नै खोज्नुभएको छ। गीतसँगसँगै आर्टिस्टले बढी ध्यान तानेको गीत यही हो,’ उनले भने।
यस गीतको चर्चासँगै आफ्नो सांगीतिक करिअर शिखरमा पुगेको उनको विश्वास छ। आफ्ना अरु गीतको तुलनामा यो गीत उनलाई उत्कृष्ट लाग्छ।
भन्छन्, ‘मेरो जहिले पनि आफूसँग प्रतिस्पर्धा हुन्छ। आफैँसँग तुलना गर्दा यो गीतले मलाई माथि लगेकै हो। मैले अरुसँग किन तुलना गर्दिनँ भने मेरो आफ्नैपन र फ्लेबर छ। पहिलेभन्दा यो बेला धेरै माया पाएको हो।’
‘झलिको’ गीत निकै चर्चामा आउनु। र, मेलामहोत्सव सुरु हुनु। जसले यतिखेर अर्जुनलाई कार्यक्रममा जान भ्याइन्भ्याइ छ। गीतको सफलतासँगै उनलाई कहिल्यै नबोलाउने कार्यक्रममा समेत निम्तो आइरहेको छ। जहाँ पुगेर अर्जुन प्रस्तुतिसँगै दर्शकलाई धन्यवाद दिइरहेका छन्। तिनै चर्चित गायक तथा संगीतकार अर्जुन सापकोटासँग गरिएको स्टेजकेन्द्रित कुराकानी:

अहिले मेला/महोत्सवको सिजन, त्यसमाथि झलिको गीत निकै चर्चामा छ। कार्यक्रममा पुग्न त भ्याइनभ्याइ होला है?
हो नि! यो मेलामहोत्सवको सिजनमा पनि भयो। ठ्याक्कैअघि झलिको गीत पनि निस्किनु, जसलाई दर्शकहरूले निकै रुचाउनुभएको छ। जुन परफेक्ट टाइमजस्तै लागिरहेको छ। मंसिर लागेसँगै पश्चिमतिरका १०/१२ कार्यक्रममा पुगिसकेको छु। पुस महिनाभरि कार्यक्रमहरू तय भइसकेका छन्।
विदेशमा नेपाली नयाँ वर्षको अवसरमा युरोप टुरको योजना भइरहेको छ। जापानमा पनि कार्यक्रम तय भएको थियो। तर, अहिले त्यो कार्यक्रम सारेर नेपालकै प्रोगामहरू गरिरहेको छु। किनकि अहिले नेपालमा मेलामहोत्सवको बेला भयो। झलिको चलेको छ। धेरै दर्शकमाझ पुग्नुपर्छ जस्तो लागिरहेको छ।
स्टेजमा चढ्दा सुरूमा कुन गीत गाउनुहुन्छ?
मैले सुरुमा स्टेज चढ्ने बित्तिकै अडियन्सहरूले मन पराउनुभएको गीतहरूको टुक्रा गाउँदै सुन्नुभएको छ कि नाइँ भन्छु। तर, ट्रयाकमा प्रस्तुति दिँदा चाहिँ म बस्यौ अलक्कैबाट नै सुरु गर्छु। किनकि यस गीतले छुट्टै भाइब सिर्जना गर्छ। जोवन यसै ढल्किजान्छ, बाँचुन्जेल रमाइलो गर्नुपर्छ। उमेर भन्ने चिज ढल्किएर गइहाल्छ, रमाइलो गरौँ भन्ने भाव छ। उहाँहरूबीच जीवनको विम्बको रूपमा यो गीत गाइरहेको हुन्छु। त्यसपछि दु:ख साट्मला गाउँछु। र, अहिले सबैले मन पराउनुभएको झलिको गीत गाउँछु।
स्टेजमा गइसकेपछि कति घण्टा प्रस्तुति दिनुहुन्छ?
आयोजकले त्यो दिनको मुख्य आकर्षण भनेर राख्नुहुन्छ। जसकारण आशा पनि धेरै हुन्छ। सकेसम्म दर्शकको चाहनाअनुसार गीत गाउँछु। कहिले एकडेढ घण्टा त कहिले त दुई घण्टा पनि गाइएको छ। सबै चिज माहोल हेरेर गाइन्छ। कहीँ समयको तोकिएको हुन्छ। त्यसैअनुसार मिलाएर गाउँछु।
कतिवटा गीत गाउनुहुन्छ?
सबै गीतहरू त गाउन भ्याइँदैन। त्यस्तै सातआठ वटा गाउँछु। कतिपय गीतहरू सुन्ने मात्रै हुन्छन्। त्यसैले माहोल बनाउन रमाइलो गीत गाउनुपर्ने हुन्छ। दर्शकहरूको डिमान्ड बुझेर गाउँछु। कहिलेकाहीँ एकै गीत तीनचारपटक गाउनुपर्छ।

नछुट्ने गीतहरू कुन-कुन हुन्?
बस्यौ अलक्कै, दु:ख साट्मला र पछ्यौरी लिसियो। यी तीनवटा चाहिँ मैले कतै पनि छुटाएको छैन। पछिल्लो समय झलिको पनि थपिएको छ।
अब यो त छुटाउनै भएन नि। अरु गीतहरूमा एउटा मात्रै टुक्रामा टिकटक बन्थे। यो गीतको प्रत्येक लाइन हिट छन्। सबैले मन पराउनु भएको छ।
प्रस्तुति दिँदा दर्शकले कुन गीतमा बढी वान्स मोर भन्नुहुन्छ?
अहिले त झलिको गीतमा नै वान्स मोर बढी आइरहेको हुन्छ। पहिले बस्यौ अलक्कै र पानी परेको गीतमा पनि दर्शकले वान्स मोर भन्नुहुन्थ्यो। तीनचार पटकसम्म गाएको छु। दर्शकहरूको मागलाई बुझ्दै कहिलेकाहीँ धेरैपटक गाउनैपर्छ।
स्टेजमा चढेपछि सबैभन्दा कुन कुरा रमाइलो लाग्छ?
अस्ति भर्खेरै मात्रै म नवलपुरको एउटा प्रोगाममा पुगेँ। त्यहाँ मलाई १०३ वर्षको बुवाले आशीर्वाद दिनुभयो। मेरो कार्यक्रममा सानो बच्चादेखि वृद्धवृद्धा पनि हेर्न आउनुहुन्छ। मैले सबै उमेर समुदायको कमाएको रहेछु भन्ने लाग्छ। स्टेजमा चढ्दा त्यो चिजले भावुक हुन्छु।
मेरो सबै उमेर समूहका फ्यानहरू हुन्छन्। बुढादेखि बच्चासम्म आउँदा आफू पनि सम्हालिएर र सभ्य भएर प्रस्तुति दिनुपर्छ। सबैले सँगसँगै गीत गाइदिनुहुन्छ। जसले अझै बढी मजा दिन्छ।
कार्यक्रमको लागि धेरै ठाउँ पुग्नुभएको छ। फ्यानसँगको केही यादगार पल छ?
हुन त धेरैजना फ्यानहरूले यादगार पल बनाइदिनुभएको छ। तर, बिर्सनै नसक्ने भनेको अघिल्लो वर्ष महोत्सवको हो। गोरखाको महोत्सवमा ४ वर्षको बच्चाले स्टेजमै आएर केक काट्नुभयो। केकमा बिग फ्यान अर्जुन दाइ भनेर लेखिएको थियो। मैले महसुस गरेको नौलो चिज थियो। उहाँ भाइलाई मेरा सबै गीत कण्ठ थिए।
त्यसपछि दाङमा पनि त्यस्तै भयो। साना भाइहरूले त्यो किसिमको माया गर्नुहुन्छ। त्यो चाहिँ मैले बिर्सनै नसक्ने चिज हो। जुन चिजले कहिले खुसी त कहिले भावुक बनाउँछ। त्यस्तै, पछ्यौरी लिसियो गाउँदा पनि दर्शकहरूले पछ्यौरी दिनुहुन्थ्यो। मैले पनि गीत गाउँदा घाटीमा झुन्डाएर फोटो खिचाउँथे। पछि फर्काइदिन्थे। यी कुरा पनि याद आउँछन्।
अनि युवती फ्यानहरू कत्तिको हुनुहुन्छ नि?
युवती फ्यानहरूले अथाह माया गर्नुहुन्छ। तर, उहाँहरू नजिक पर्नेबित्तिकै काँप्नुहुन्छ, डराउनुहुन्छ। कतिपयले त फेसबुकमा मेरो अनि मसँगको प्रोफाइल तस्बिर राख्नुहुन्छ। उहाँहरूले अलि बढी नै माया गर्नुहुन्छ। ब्याकस्टेजमा अँगालो हालेर छोड्दै नछोड्ने गर्नुहुन्छ। मैले सकेसम्म कम्फर्टेबल बनाउन खोजिरहेको हुन्छु। त्यो माया पनि हो। आफूलाई मन पर्ने गायकलाई प्रत्यक्ष भेट्दा खुसी हुनु स्वाभाविक हो।
मेला महोत्सवमा जाँदा दर्शकहरूका कारण कत्तिको दु:ख पाउनुभएको छ?
त्यस्तो फ्यानबाट दु:ख त भएको छैन। दर्शकहरू टाढाटाढाबाट प्रोगाममा आउनुहुन्छ। उहाँहरूको फोटो खिचाउने चाहना हुन्छ। तर, हामीसँग समय हुँदैन। गाउने बित्तिकै आयोजकले लगेर गइहाल्नुहुन्छ। सुरक्षाका कुरा पनि हुन्छन्।
यति टाढाबाट आएको, हजुरसँग फोटो पनि खिच्न पाइएन भनेर फेसबुक र टिकटकमा कमेन्ट गर्नुहुन्छ। त्यो पढ्दा नमज्जा लाग्छ। सकेसम्म हेलो भन्न पाए हुन्थ्यो र सबैलाई टाइम दिन पाए हुन्थ्यो जस्तो लाग्छ।

तपाईंले आयोजकबाट नमिठो अनुभव भोग्नुपरेको छ?
अहिले त खासै छैन। तर, पैसाको कुरामा सबै ठाउँमा गाह्रै हुन्छ। हामी त विश्वासले गएका हुन्छौँ। कतिपयले काठमाडौँ पुग्दासम्म पैसा हाल्दिन्छु भन्नुहुन्छ। पछि मलतब नै नगर्ने र पैसा नै नदिने जस्तो समस्या धेरै भोगियो। कतिले त अहिलेसम्म पैसा दिन बाँकी छ।
गत वर्षको कुरा हो। कार्यक्रम सकेपछि म निस्किहाल्नुपर्ने थियो। सुरुमा उहाँले आधा पैसा दिनुभयो। बाँकी पैसा ल्याएर एकैछिनमा आउँछु भनेर जानुभयो। तर, पैसा ल्याउन गएको मान्छे फर्किनु भएन। म कुरेको कुर्यै भएँ। एक घण्टाभन्दा बढी भइसक्यो। फोन लगाउँदा उठाउनुहुन्न। त्यसपछि चाहिँ म निस्केँ। पछि थाहा भयो त्यो मान्छे सबैसँग उस्तै रहेछ भन्ने। यो उद्योगमा त्यो लेबलसम्मको घात गर्ने मान्छे पनि छन्।
अझै प्रोफेसनल हुन सकेको छैन। एउटै कार्यक्रमलाई चारजना मान्छेले कल गर्नुहुन्छ। कम्तीमा एउटालाई जिम्मा दिएर गर्दा सहज हुन्छ नि। चार जनासँग कुरा गर्नुपर्छ। कतिपय ठाउँमा राम्रो छ। उहाँहरूले टिकट पठाइदिनुहुन्छ। लिन आउनेदेखि बस्ने व्यवस्था पनि राम्रो हुन्छ। अनि फर्किँदा पुर्याउनुहुन्छ।
नेपाल र विदेशमध्ये तपाईं कताको कार्यक्रममा बढी रमाइलो मान्नुहुन्छ?
विदेशमा जाँदा अलिकति भावनात्मक भइन्छ। जसकारण अलग लाग्छ। किनभने त्यहाँ नेपाली आमाबुवा, दाजुभाइ र दिदीबहिनी हुनुहुन्छ नि। उहाँहरू देशबाट टाढा हुनुहुन्छ। उहाँहरूमाझ नेपालीपन आभास गराउन पाए वा नेपालीपन झल्काउन पाए हुन्थ्यो भन्ने लाग्छ। बाहिर जाँदा अलि बहकिन्छ। यहाँ त आफ्नै आँगनमै नाचेजस्तै लाग्छ। परदेशिएकासँग भेट्दा भावुक भइन्छ।
Shares

प्रतिक्रिया