कला


‘भट्टी टेल्स’ले भन्छ : वैवाहिक सम्बन्धलाई मलजल नगर्दा आउने समस्याको कथा

‘भट्टी टेल्स’ले भन्छ : वैवाहिक सम्बन्धलाई मलजल नगर्दा आउने समस्याको कथा

लक्ष्मी बलायर
माघ १, २०८२ बिहिबार ८:३३, काठमाडौँ

स्टेजमा प्रकाश परेसँगै देखिन्छ एक भट्टी पसल। छेउमै राखिएको छ क्यारम बोर्ड। जहाँ कोही रक्सीको नशामा डुबिरहेका छन्, कोही भने क्यारम बोर्डमा रमाइरहेका छन्। उनीहरूको होहल्ला र सिल्ली गफले माहोल तातेको छ।

भट्टीकी साहुनी हुन्छिन् दिलपना अर्थात वेदना राई। काठमाडौंमा जीवन धान्न मुस्किल छ। दिलपनाका श्रीमान माधव (सुदाम सिके) सेक्युरिटी गार्डको काम गर्छन्। उनी रक्सी बेचेर आर्थिक जोहो गरिरहेकी छिन्।

भट्टीमा थरीथरीका मान्छेहरु ठोक्किइरहन्छन्। बाहिरबाट हेर्दा उनीहरु जँड्याहा होलान्। तर, उनीहरुका पनि आफ्नै कथा र व्यथा छन्। नाटक ‘भट्टी टेल्स’ मा मुख्य पात्र वेदना र सुदामसहित तिनै बेवास्ता गरिएका पात्रहरुका कथाहरु समेटिएका छन्।

माधव र दिलपनाले प्रेम विवाह गरेका हुन्छन्। बाहिरबाट माधव र दिलपनाको सम्बन्ध राम्रै छ। उनीहरुबीच अथाह प्रेम छ र एकअर्काप्रति इमान्दार पनि छन्। तर, माधवलाई भने विगतले कुराले खाइरहेको छ। न उनी आफू खुसी छन्, न श्रीमतीलाई खुसी राख्न सकेका छन्।

विगतकै कारण उनी बच्चा पनि चाँहदैनन्, छुट्टै ओछ्यान लगाएर सुत्छन्। घरमै भट्टी भए पनि बाहिरै रक्सी खाएर आउँछन्। कहिले त कति दिनसम्म हराउँछन्।

यता दिलपनालाई भने बच्चाको रहर हुन्छ। तर, श्रीमानको निर्णयमा साथ दिन बाध्य हुन्छिन्। उनी केवल समय र केयर चाहन्छिन्। त्यो पनि माधवले नदिँदा दिलपनाको मनमा हैरानी सुरू हुन्छ। जसले उनीहरुको सम्बन्धमै चिसोपना छाउँछ। यो चिसोले उनीहरूलाई कहाँ पुर्‍याउँछ? त्यो थाहा पाउन भने अस्कर कलेजको साधना घरमा चलिरहेको नाटक हेर्न पुग्नुपर्छ।  

यस नाटकमा एक दम्पतीको जीवनमा आउने उतारचढाव र जटिल सम्बन्धको कथालाई समेटिएको छ। जसलाई मञ्चमा सशक्त र प्रभावकारी रुपमा प्रस्तुत गरिएको छ। वैवाहिक सम्बन्धलाई समयमै मलजल र मर्मत गर्न नसक्दा आउने परिणाम नाटकमा देखाइएको छ।

नाटकले कल्पनाभन्दा पनि समाजकै व्यक्तिहरुको कथा भन्छ। जो कमजोरी, र अपूरा चाहनासहित बाँचिरहेका छन्। नाटकमा कसैलाई सही वा गलत भनिएको छैन। बरु परिस्थितिले सबैलाई अलग बाटोमा हिँड्न बाध्य बनाएको प्रसंग छ।

त्यस्तै, लेखक तथा निर्देशक जेम्स ढकालले उनीहरुसँग ठोक्किने पात्रहरुको कथालाई पनि सँगसँगै लगेका छन्। ती फरकफरक पात्रहरुको उपस्थितिले नाटकलाई निकै रोचक बनाएको छ।

अझ नाटकको अन्त्यले दर्शकहरुलाई चकित बनाउँछ। नाटकमा कमजोर भनिएको पात्र नै अन्तिममा हिरो बन्छ। समाजले बेवास्ता गरेको पात्रलाई केन्द्रमा राख्नु नाटकको सुन्दर पक्ष हो।

नाटक सुस्त गतिमा अघि बढ्ने हुँदा कुनैबेला अल्छी समेत लाग्न सक्छ। तर, पछि त्यो सुस्तताले नै नाटकको गहिराइ बुझाउन सघाउँछ। कमेडी र सस्पेन्स भरिएको नाटकले सम्बन्धको आयामबारे चित्रण गर्छ।

नाटकमा बिम्बहरुको प्रयोग राम्रो छ। नाटकको सुरुवातदेखि अन्त्यसम्मै जुरे (बंगुर) आउँछ। जुन लिम्बू समुदायकी दिलपनासँगै भावनात्मक रुपमा नजिक हुन्छ। जोसँग उनी मनको बह पोख्छिन्। नाटकमा जुरेको क्रियाकलापमार्फत दिलपनाको मनोदशालाई सांकेतिक रुपमा चित्रण गरिएको छ।

महिलालाई बलियो रुपमा चित्रण गर्नु नाटकको अर्को सबल पक्ष हो। उनलाई सुरुदेखि नै आत्मनिर्भर र आत्मविश्वासी महिलाको रुपमा देखाइएको छ। जो बिना डर एक्लै भट्टी हाँकिरहेकी छिन्। कसैले जिस्क्याउँदा पनि उनी आत्मरक्षा गर्न र आवाज उठाउन सक्छिन्। र, आफूखुसी निर्णय लिन समेत पछि पर्दिनन्। अन्तिममा उनले गरेको निर्णयले कसैलाई प्रेम गर्नु भनेको दासी बन्नु होइन् भन्ने दर्साउँछ। श्रीमानले जस्तो गरे पनि नारीले सहेर बस्नुपर्छ भन्ने मान्यताप्रति नाटकले व्यङ्ग्य गर्छ। त्यस्तै, एक नारीले कस्तो प्रेमी वा श्रीमान चाहन्छिन् भन्ने कुरा पनि नाटकभित्र छ।

अस्कर कलेजका १४ औँ ब्याचका विद्यार्थी ढकालले यसअघि ढाकर नाटक निर्देशन गरिसकेका छन्। साथै उनले प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन्। यस नाटकमा सुदाम र वेदनासहित रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्राञ्जल पाण्डे, सुदीप एटी, थार्चेन लामाको अभिनय छ। नाटक माघ ३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad