कला


बर्लिनाले ट्यालेन्टमा नेपालका ४ फिल्मकर्मी छनोट

बर्लिनाले ट्यालेन्टमा नेपालका ४ फिल्मकर्मी छनोट

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १९:२४, काठमाडौँ

बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट ४ फिल्मकर्मी छनोट भएका छन्।

बर्लिनाले ट्यालेन्टका लागि १२० देशबाट तीन हजार ४३८ आवेदन परेका थिए। त्यसमध्ये छानिएका दुई सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमा गेलु शेर्पा र रीना मोक्तान छनोट भएका हुन्। 

फेस्टिभलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०२६ को ट्यालेन्टलाई यहाँहरू माझ प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। ट्यालेन्टको यो समूहमा आफ्नो काममार्फत परिवर्तनको संवाहक बनिरहेका त्यस्ता फरक आवाजहरू समेटेका छौँ, जसमा अवार्ड विजेतादेखि थुप्रै प्रतिभा अटाएका छन्।’

आउँदो फ्रेब्रुअरी १२ देखि जर्मनीको बर्लिनमा आयोजना हुने फेस्टिभल अन्तर्गतको प्लेटफर्ममा फिल्म क्षेत्रका विभिन्न १५ क्षेत्र प्रतिनिधित्त्व गर्ने प्रतिभालाई छानिएको विज्ञप्तिमा उल्लेख छ। प्लेटफर्मले सम्बन्धित विधामा वर्कशप, अन्तरक्रिया र नेटवर्किङ गराउनेछ। गत वर्ष सुशान्त श्रेष्ठ र सुशन प्रजापति छनोट भएका थिए। 

यो वर्ष ‘प्रड्युङ’तर्फ रामकृष्ण पोख्रेल छनोट भएका हुन्। उनको आइसफल प्रोडक्सनले थुप्रै विदेशी फिल्म, नेपाली लघु फिल्म, फिचर फिल्म निर्माण गरिसकेको छ। 

जानकी कडायत भने कस्ट्युम डिजाइनतर्फ छनोट भएकी हुन्। उनी १५ वर्षदेखि कस्ट्युम डिजाइनरको रुपमा फिल्ममा काम गर्दै आएकी छन्। 

निमा गेलु शेर्पा भने यो प्लेटफर्ममा दोस्रो पटक छानिएका हुन्। यसअघि निर्देशन (२०२३) मा छनोट भएका थिए। यसपटक आफ्नो निर्माणाधिन डकुमेन्ट्रीमार्फत ‘डक स्टेशन’मा छनोट भएका हुन्।

पत्रकार रीना मोक्तान ‘क्रिटिक’तर्फ छनोट भएकी हुन्। उनी ६ वर्षदेखि कान्तिपुरमा फिल्म, थिएटर र संगीतमा कलम चलाउँदै आएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad