इरानको राजधानी तेहरानस्थित तेल डिपोमा आक्रमण हुँदा भीषण आगलागी भएको छ र बाक्लो धुवाँले सहरलाई ढाकेको छ।
यसैबिच इरानी सञ्चारमाध्यमले भने अयातोल्लाह अली खामेनीको स्थानमा नयाँ सर्वोच्च नेता चयनको निर्णय लगभग अन्तिम चरणमा पुगेको जनाएका छन्।
बीबीसी फारसीले मेहर समाचार एजेन्सीलाई उद्धृत गर्दै इरानको विशेषज्ञ सभाका सदस्य अहमद अलामोलहोदाले चुनाव गरेर नयाँ सर्वोच्च नेता चयन भइसकेको उल्लेख गरेको छ।
अलामोलहोदाले भनेका छन्, ‘अब सबै कुरा विशेषज्ञ सभाको सचिवालयका प्रमुख होसेनी बुसेहरीको जिम्मामा छ, जसले यो निर्णय सार्वजनिक रूपमा घोषणा गर्नेछन्।’
इरानको सरकार समर्थित मेहर समाचार एजेन्सीले सार्वजनिक भिडिओमा एक वरिष्ठ धर्मगुरुले इरानको विशेषज्ञ सभाले दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको स्थान कसले लिने भन्नेबारे लगभग निर्णय गरिसकेको बताएको देखिन्छ।
खामेनी गत शनिबार अमेरिकी-इजरायली आक्रमणमा मारिएका थिए।
एजेन्सीका अनुसार अयातोल्लाह मोहम्मद मेहदी मिरबाघेरीले भनेका छन्, ‘बहुमतको निर्णय भएको छ, तर केही प्रक्रियागत बाधा समाधान हुन बाँकी छन्। सभा चाँडै नै बस्ने अपेक्षा गरिएको छ।’
यद्यपि अहिलेसम्म नयाँ सर्वोच्च नेताको नाम सार्वजनिक गरिएको छैन। तर रोयटर्सले दुई इरानी स्रोतलाई उद्धृत गर्दै अली खामेनीका छोरा मोज्तबा खामेनीलाई प्रमुख दाबेदार मानेको छ। तर यो दाबी प्रमाणित गर्न गाह्रो छ।
उता इजरायली सेनाले भने कुनै पनि उत्तराधिकारी र उत्तराधिकारी नियुक्त गर्ने प्रयास गर्नेहरूलाई पछ्याइने धम्की दिएको छ।
इजरायली सेनाले विशेषज्ञ सभाका सदस्यहरूलाई चेतावनी दिएको छ, ‘हामी तिमीहरू र कुनै पनि उत्तराधिकारीलाई निसाना बनाउनेछौँ।’
Shares

प्रतिक्रिया