इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वका तानाशाही र अहंकारी शासकहरूसँग तुलना गरेका छन्।
खामेनीले सामाजिक सञ्जालमार्फत ट्रम्पको कडा आलोचना गरेका हुन्।
जसमा उनले भनेका छन्, ‘विश्वका विषयमा घमण्डका साथ निर्णय गर्ने अमेरिकी राष्ट्रपतिले बुझ्नुपर्छ- संसारका तानाशाही र अहंकारी शासक जस्तै: फिरउन, निमरुद, मोहम्मद रेजा पहलवी र यस्तै अन्य शासकको पतन तब भयो, जब तिनको अहंकार चरम सीमामा पुग्यो। उन (ट्रम्प) को पनि पतन हुनेछ।’
खामेनीले दाबी गरेका छन्, ‘आज इरान क्रान्तिअघि भन्दा धेरै सुसज्जित र हतियारयुक्त छ। हाम्रो आध्यात्मिक शक्ति र परम्परागत हतियार पुरानो समयसँग तुलना गर्न सकिन्न। इरानबारे अमेरिकाको बुझाइ पहिलेजस्तै हो भने त्यो गलत छ।’
खामेनीले लाखौँ सम्मानित मानिसहरूको बलिदानबाट बनेको इरान विनाशकारीहरूको सामना गर्न पछि नहट्ने चेतावनी पनि दिएका छन्।
उनले भनेका छन्, ‘१२ दिनको युद्धमा हाम्रो देशका हजारभन्दा बढी नागरिक सहिद भए। अमेरिकाका राष्ट्रपतिले भने- यो आदेश मैले दिएको थिएँ। त्यसैले उनी आफैँले स्वीकार गरेको कुरा के हो भने इरानीहरूको रगत उनको हातमा लागेको छ। अब उनी इरान राष्ट्रको साथमा उभिएको भन्दै छन्।’
यस क्रममा खामेनीले भेनेजुएला प्रकरणमा पनि ट्रम्पलाई निसाना बनाएका छन्।
उनले लेखेका छन्, ‘तपाईं देख्न सक्नुहुन्छ- उनले ल्याटिन अमेरिकाको एउटा देशलाई कसरी घेरेका छन् र त्यहाँ कस्तो कदम चालेका छन्? उनलाई लाज पनि नमानीकन भन्दै छन- यो तेलका लागि थियो...।’
इरानमा जारी विरोध प्रदर्शनबारे ट्रम्पले टिप्पणी गरेयता खामेनी उनीप्रति आक्रोशित भएका हुन्।
बढ्दो महँगी र बिग्रिँदो आर्थिक अवस्थाविरुद्ध इरानका नागरिक २ हप्तादेखि सडक आन्दोलनमा उत्रिएका छन्। त्यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा कम्तीमा ४० जनाको ज्यान गइसकेको छ।
यस विषयमा ट्रम्पले शान्तिपूर्ण आन्दोलन गरिरहेका इरानी नागरिक मारिने क्रम नरोकिए अमेरिका उद्धार गर्न आउने चेतावनी दिएका थिए।
यसपछि खामेनीले इरानमा ‘ट्रम्पलाई खुसी पार्न बदमासहरूको समूह’ले विरोध प्रदर्शन गरिरहेको टिप्पणी गरेका थिए। यसबीच ट्रम्पले इरानको दोस्रो ठुलो सहर मसहद प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको दाबी पनि गरेका छन्।
Shares

प्रतिक्रिया