अन्तर्वार्ता


कुलमानसँग हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ : विद्या श्रेष्ठ

‘जनतामाथि डोजर आतंक मच्चाउने व्यक्तिको पार्टीमा बस्न सकिनँ’
कुलमानसँग हेटौँडामा डोजर नचलाउन पटक–पटक अनुरोध गरेँ, नमानेपछि उज्यालो पार्टी छाडेँ : विद्या श्रेष्ठ

विद्या श्रेष्ठ।


सुनिता विष्ट
मंसिर २०, २०८२ शनिबार १८:१६, काठमाडौँ

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। हेटौँडा बजार विस्तार कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले साथ नदिएको भन्दै श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी हुन्। मन्त्री घिसिङकै अगुवाइमा उज्यालो पार्टी बनको हो। 

जनताको निजी निवास भत्काएर मानव अधिकार कुण्ठित गरिरहेको श्रेष्ठको भनाइ छ। सरकारले हटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि आक्रोशित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गरेकी हुन्। उनै श्रेष्ठसँग नेपालखबरले गरेको कुराकानी :

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेको केही दिनमै राजीनामा दिनपर्ने गरी के आइपर्‍यो?
म लामो समयदेखि सडक विस्तारपीडितको पक्षमा लड्दै आएको मान्छे हुँ। पार्टीमा बसेर सडक विस्तारको विपक्षमा बोल्न मलाई नैतिकताले दिएन। नैतिकताकै आधारमा मैले राजीनामा दिएको हुँ। जनतामाथि डोजर आतंक मच्चाउने व्यक्तिको पार्टीमा केन्द्रीय सदस्य बनेर म बस्न सकिनँ। 

हेटौँडामा डोजर चलिरहेकै छ। लामो समयदेखि राज्य आतंकविरुद्ध आवाज उठाउँदै आएको मैले आफ्ना नेताकै मुख हेरेर चुप बस्न सकिनँ। मनव अधिकार सुनिश्चितासहितको सुशासन हो। मानव बस्तीमै डोजर चलाउन निर्देशन दिने सरकारको पार्टीमा बस्नुको औचित्य छैन भनेर बाहिरिएको घोषणा गरेकी हुँ। 

सामाजिक सञ्जालबाटै राजीनामाको घोषणा गरिरहँदा पार्टीका नेता कुलमान घिसिङसँगै तपाईंको विवाद भएको भन्ने चर्चा छ। साच्चै, कुलमानसँग विवाद भएको हो?
मैले उहाँलाई यो सडक विस्तार रोक्नका लागि पटक-पटक अनुरोध गरेको थिएँ। यसमा सहजीकरण गरिदिनोस् भनेको थिएँ। सरकारमै रहनुभएका उहाँलाई हामीले अनुरोध गरिरहँदा पनि हाम्रो मागलाई वास्ता गर्नुभएन। जुन दलमा रहेको मैले मेरै नेतालाई आग्रह गर्दा त नमान्ने भएपछि मेरो सिद्धान्त र उहाँको सिद्धान्त नमिलेको महसूस गरेँ। 

त्यसैले नैतिकताकै आधारमा राजीनामा दिने घोषणा गरेकी हुँ। अरु केही विवाद भएको छैन। मन नमिलेपछि जो कोहीले पनि बाटो त अवश्य बदल्छ। 

राजीनामाको घोषणा गर्नुपूर्व कुलमान घिसिङसँग संवाद गर्नुभएन?
धेरै चरणमा संवाद, छलफल गरेका थियौं। उहाँसँग मात्रै नभएर मकवानपुरका सीडीओेसँग पनि कुरा गरेका थियौं। तर सीडीओसाबले ‘हामी कसैको पनि कुरा मान्दैनौं, हेटौँडामा डोजर चल्छ, माथिबाटै आदेश आएको छ’ भन्नुभयो। 

आदेश दिने कोही नभएर मेरै नेता हुन् भन्ने थाहा भइहाल्यो। त्यसपछि आग्रह गरिहरन मन लागेन। 

तपाईं त काठमाडौँको स्थानीय बासिन्दा हो, तर पनि हेटौँडा बजार जोगाउन किन पार्टी नै छोड्नुभयो?
हो, म काठमाडौँकै बासिन्दा हो। यहाँ पनि म सडक विस्तारको पीडित होइन। हेटौँडामा पनि मेरा आफन्त कोही हुनुुहुन्न। तर, जुनवेला बाबुराम भट्टराई नेतृत्वको सरकारले बालाजु बाइपासको सडक भत्काएको थियो। त्यतिवेला त्यहाँका पीडित आमाबुवाहरू रुँदै हामीसँगै आन्दोलनमा होमिनु भएको थियो। कति वृद्धवृद्धा आमाबुवाको आन्दोलनमा हिड्दाहिड्दै बिरामी भएर बित्नुभएको पनि थियो। 

त्यही वेलामा वीरगन्ज सडक विस्तारको चर्चा पनि थियो। यसरी सडक फराकिलो बनाउने नाममा नागरिकलाई घरवारविहीन हुन दिन हुन्न भनेर हामीले अभियान नै चलाएका थियौं। त्यो समयदेखि नै म जहाँ सडक विस्तार हुन्छ, त्यहाँको नागरिकको पक्षमा उभिने गरेकी छु। म हेटौँडाको नागरिक त होइन, तर हेटौँडाका नागरिकको पीडाले म यतिवेला पनि रोइरहेकी छु। 

हेटौँडामा बिहानैबाट डोजर चलेको छ। काठमाडौँबाटै विरोध गरिरहनु भएको छ। हेटौँडा आउन हुन्न?
म हिजो दिउँसो नै हेटौँडा जाने मनस्थितीमा थिएँ। तर, हिजो दिउँसो ३ बजे सर्वोच्च अदालतले सडक विस्तारमा ‘स्टे अर्डर’ जारी गर्‍यो। सर्वोच्चको आदेश मानेर म हेटौँडा आइनँ। सर्वोच्चमाथि मैले विश्वास गरेँ। मेरा पार्टीका शीर्ष नेतामाथि मैले विश्वास गरेँ। तर, रातारात हेटौँडाको माहोल बेग्लै भइसकेको रहेछ। 

आज बिहानको झिसमिसेमै डोजर चलेको भिडिओहरू सामाजिक सञ्जालमा देखेँ। सडक विस्तारको विरुद्धमा स्टाटस लेखेकै आधारमा प्रहरीले मलाई फोन गरेर ‘हेटौँडा आउँदै हुनुुहुन्छ रे, आउनुभयो भने पक्राउ पर्नुहुन्छ’ भन्नुभयो। अहिले 

आज माइतीघर मण्डलमै बसेर विरोध जनाए। माइतीघर मण्डलमा समेत बस्न दिएन। प्रहरीको ‘थ्रेड’कै कारण हेटौँडामा आउन सकिनँ। तर, हेटौँडाका पीडित नागरिकसँग निरन्तर छलफलमै छु। 

उज्यालो पार्टीबाट त अलग हुनुभयो। अब तपाईंको आगामी राजनीतिक यात्रा के हुन्छ?
म अहिले राजनीतिमा लाग्ने मोडमा छैन। धेरैले मलाई राजनीति गर्न आउँदैन भन्ने पनि गर्छन्। तर म नागरिकलाई आँशुमा डुबाएर स्वार्थको राजनीतिमा रमाउने मान्छे होइन। म भावनात्मक भएको कारण मानव अधिकारको रक्षा नै मेरा लागि राजनीति हो। अहिले यो बाहेक केही सोचेकी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad