जीवनशैली


जाडोमा किन बढी हुन्छ हृदयाघात? (भिडिओ)


नेपालखबर
पुस ६ , काठमाडौँ

तीन वटा नसाले मुटुबाट शरीरको चारैतिर रक्तप्रवाह गराई मुटुको मांसपेशीलाई तन्दुरुस्त राख्ने काम गर्छ। मुटुलाई लगातार अक्सिजन र ग्लुकोजको आवश्यकता पर्छ। त्यो काम रगत प्रवाहले गर्दछ।

रक्तप्रवाह गर्ने नसामा अचानक अवरोध आए मुटुको रक्तसञ्चार रोकिन्छ। जसका कारण हृदयाघात हुन्छ। मुटुमा रक्तसञ्चार रोकिएर हुने हृदयाघात चिसो मौसममा बढी देखिने गरेको छ।

चिसोयाममा मुटुले शरीरको भित्री क्रियाकलापलाई नै परिवर्तन गर्छ। त्यसले मुटुमा भार पर्ने गर्छ। र, मुटु छिटोछिटो धड्किने गर्छ। चिसोमा मुटुले क्रियाकलाप परिवर्तन गर्नुको कारण हो, शरीरका बाहिरी तहका रगतका नलीहरू खुम्चिँदै जानु।

बाहिरी तापक्रम चिसो हुँदै गएपछि, हाम्रो शरीरले तापक्रम मिलाउन खोज्छ, जसलाई चिकित्सकीय भाषामा ‘थर्मोजेनेसिस’ भनिन्छ।

यो क्रियाकलाप शरीर आफैँले गर्छ। त्यो समयमा शरीरले विभिन्न रसायन, हर्मोन उत्पादन गर्न थाल्छ। जसले जोखिम उच्च हुँदै जान्छ।

सो समयमा शरीरलाई तातो राख्न मद्यपान, धूमपान गर्ने र शारीरिक व्यायाम नगर्ने, नुनको सेवन बढी गर्ने गर्दा मुटुमा असर पर्न थाल्छ।

जोखिमका तत्व र मौसमका कारण मुटुको काममा भार बढी हुन्छ। स्वस्थ व्यक्तिलाई त्यसले कुनै असर नगरे पनि मुटु कमजोर भएका वा मुटुमा समस्या भएका व्यक्तिमा भने असर गर्ने गरेको छ।

यस्तै दीर्घकालीन रोग भएका व्यक्तिले पनि चाप सहन सक्दैनन्। र, हृदयाघात हुन्छ।

हृदयाघात मुटुको मांसपेशी मर्ने वा खराब हुने अवस्था हो। 

मुटुलाई रगत पुर्‍याउने तीन वटा रक्तनलीमध्ये कुनै एउटामा अवरोध आयो भने मांसपेशीमा रगत पुग्दैन र मर्न थाल्छ। मुटुको नसा मर्दै गयो भने मुटु चल्न बन्द हुन्छ, जसलाई कार्डियाक अरेस्ट भनिन्छ। यसो भएमा बिरामीको तत्काल मृत्यु समेत हुन्छ।

हृदयाघातका कारण रक्तप्रवाह रोकिएको मुटुको मांसपेशीले यस्तो अवस्था २० मिनेटसम्म थेग्छ, तर लगातार १२ घण्टाभन्दा बढी समयसम्म रगत पुगेन भने मांसपेशी पूर्ण रूपमा काम नगर्ने हुन्छ। त्यसपछि मुटु नै काम गर्न नसक्ने अवस्था आउँछ।

हृदयाघात भएपछि जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ। यसमा एक घण्टाको समयलाई ‘गोल्डेन आवर’ भनिन्छ। समय जति बित्दै जान्छ, मुटुका मांसपेशी त्यति नै मर्दै जाने र खतरा बढ्दै जाने हुँदा हृदयाघातमा समय निकै महत्वपूर्ण मानिन्छ।

हृदयाघात भएका व्यक्तिको मुटुको नसा ‘एन्जियोप्लास्टी’ गरेर बन्द भएको नसा खोलिन्छ। तार लगाएर नसामा ‘स्टेन्ट’ हालेर खोलिन्छ।

बन्द भएको नसालाई खोलेर बिरामीलाई बचाउन सकिने १२ घण्टाको समयलाई चिकित्सकहरू ‘विन्डो पिरियड’ भन्छन्। जतिसक्दो छिटो नसा खोलेर मुटुमा रक्तसञ्चार सुचारु गर्न सकियो भने मुटुको मांसपेशी स्वस्थ बन्ने सम्भावनो हुन्छ।

चिसोयाममा हृदयाघातको जोखिम दीर्घरोगको समस्या भएका व्यक्तिहरूमा बढी हुने गरेको छ। चिसोयाममा जोखिमका तत्वहरू बढ्ने हुँदा मुटुको समस्या बढ्ने गरेको चिकित्सक बताउँछन्।

उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल बढे पनि मुटुमा असर गर्छ। दीर्घरोगको समस्या भएका व्यक्तिले अन्य समयभन्दा चिसोयाममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ।

चिसोयाममा चिसो बढी हुने स्थानमा जाँदा, हाइकिङ, ट्रेकिङ गर्दा ध्यान दिनु पर्ने चिकित्सक बताउँछन्। जाडो महिनामा ‘हाइ अल्टिच्युड’मा जाँदा चिसोले छालाको बाहिरी तहका रगतका नलीहरू खुम्चाउँछ र त्यसले मुटुमा चाप पर्छ। यस्तो स्थानमा जाँदा तयारी गरेर जान चिकित्सक सुझाव दिन्छन्।

चिसो समयमा बिरामीहरूले मात्र होइन, स्वस्थ मानिसले पनि खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। शारीरिक सक्रियता बढाउने, हरियो सागपात, फलफूल, गेडागुडी र झोलिलो पदार्थ अत्यन्तै धेरै खानुपर्छ। धूमपान, मद्यपान नगर्ने र स्वस्थ जीवनयापन गर्न चिकित्सक सुझाव दिन्छन्।

चिसो मौसममा हृदयाघातको जोखिम किन हुन्छ? बिरामीको कसरी उपचार हुन्छ? चिसोमा मुटुरोगीले स्वास्थ्यको कसरी ख्याल राख्ने? यिनै विषयमा मुटुरोग विशेषज्ञ डा. सहदेव ढुंगानाको भिडिओ ब्रिफिङ : 


 

पुस ५, २०८२ शनिबार ८:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad