जीवनशैली


चिसोमा यस्ता बालबालिकालाई बढी जोखिम, कसरी जोगाउने? (भिडिओ)


नेपालखबर
पुस १२ , काठमाडौँ

देशभर चिसो बढ्दै गएको छ। चिसोका कारण दैनिक जनजीवन असहज त भएकै छ, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न थालेको छ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा रुघाखोकी, ज्वरो, झाडापखाला, निमोनिया र ब्रोंकोलाइटिसजस्ता रोगको जोखिम बढ्दै गएको चिकित्सकहरू बताउँछन्। 

बालरोग विशेषज्ञ डा आन्ना शर्माका अनुसार चिसो मौसममा भाइरस बढी सक्रिय हुने र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले बालबालिका बढी प्रभावित हुने गरेका छन्।

उनका अनुसार बालबालिकाको रोगसँग लड्ने क्षमता वयस्कको तुलनामा कम हुने भएकाले उनीहरूमा भाइरसजन्य रोग सजिलै लाग्ने गर्छ। परिवारका सदस्य र विद्यालयमार्फत बालबालिकामा संक्रमण सर्ने गरेको डा शर्माको भनाइ छ।

‘बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुने हुँदा अन्यबाट उनीहरूमा भाइरस सजिलै सर्छ। उनीहरूलाई भाइरस सार्ने हामी नै हौँ। त्यसैले साना बालबालिका भएका घरका परिवारका सदस्य अझ बढी सचेत हुन आवश्यक छ,’ डा शर्माले भनिन्।

चिसो मौसममा देखिने भाइरसजन्य संक्रमणको प्रत्यक्ष असर बालबालिकाको श्वासप्रश्वास प्रणालीमा देखिने डा शर्मा बताउँछिन्।
 
विशेषगरी समयभन्दा अगाडि जन्मिएका बालबालिकाको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने गरेको उनको भनाइ छ। त्यस्ता बालबालिकामा ब्रोंकोलाइटिसको समस्या बढी देखिने गरेको उनले बताइन्।

डा शर्माका अनुसार पाँच वर्षमुनि श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका केही बालबालिका पूर्ण रूपमा निको हुन्छन्। तर आमाबुवालाई दीर्घकालीन दमको समस्या देखिएको छ भने उनीहरूको सन्तानमा दम देखिन सक्छ। 

उनका अनुसार एलर्जी हुने, बारम्बार रुघाखोकी लागिरहने तथा छिटो–छिटो श्वास फेर्ने समस्या ६ वर्षको उमेरसम्म पनि निको नभएका बालबालिकामा भने यस्तो समस्या पछि दोहोरिन सक्छ।

सास फेर्न गाह्रो हुने, अक्सिजनको मात्रा कम भएर स्वाँ–स्वाँ गर्ने, अत्यधिक ज्वरो आउने, खान मन नगर्ने, पिसाब कम गर्ने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिए ढिला नगरी चिकित्सकको सम्पर्कमा जान उनले सुझाव दिइन्। 

श्वासप्रश्वासको समस्या बढ्दै गए बालबालिकामा निमोनिया र ब्रोंकाइटिसजस्ता समस्या देखिन सक्ने र यस्तो अवस्थामा अस्पतालमै भर्ना गरेर उपचार गर्न उनी सुझाव दिन्छिन्। 

शरीरमा अक्सिजनको मात्रा कम हुँदा बालबालिकाले छिटो–छिटो श्वास फेर्ने र श्वास फेर्दा घ्यार–घ्यार गर्ने लक्षण देखिने बित्तिकै अस्पताल जान उनी आग्रह गर्छिन्। 

‘यस्ता अवस्थामा अस्पतालमा भर्ना गरेर अक्सिजन दिएर उपचार गर्नुपर्ने हुन्छ। यद्यपि, कतिपय बालबालिकामा समस्या जटिल नहुन पनि सक्छ,’ डा शर्माले बताइन्। 

सामान्य रुघाखोकी लागेको अवस्थामा घरमै साधारण बाफ लगाउँदा नाक खुल्ने र केही राहत हुने डा शर्माको सुझाव छ। साथै बालबालिकालाई तातो, झोलिलो खानेकुरा, फलफूल खुवाउने र जाडो महिनामा रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन ‘सी’ युक्त खानेकुरामा ध्यान दिनुपर्ने उनले बताइन्। 

सुन्तलालगायत भिटामिन ‘सी’ युक्त फलफूल उपयोगी हुने उनको भनाइ छ।

सन्तुलित भोजन गराउने, तातो न्यानो कपडा लगाइदिने तर पसिना आउने गरी धेरै कपडा नलगाउने, ज्वरो नघटेमा वा समस्या बढेमा तुरुन्त अस्पताल लैजान उनको सुझाव छ।

पाँच वर्षमुनिका बालबालिकालाई भाइरसजन्य रोगबाट जोगाउन वर्षमा एक पटक इन्फ्लुएन्जा खोप लगाउन पनि डा शर्मा आग्रह गर्छिन्। 

इन्फ्लुएन्जा खोपले रोग पूर्ण रूपमा रोक्न नसके पनि जटिल अवस्था हुन नदिने र फ्लुबाट हुने जोखिम कम गर्न मद्दत गर्ने गरेको छ। 

चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने, कस्तो खाना खुवाउने र कस्तो अवस्थामा अस्पताल लैजाने भन्ने विषयमा बालरोग विशेषज्ञ डा आन्ना​ शर्माको भिडिओ ब्रिफिङ :

पुस १२, २०८२ शनिबार ८:९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad