के तपाईंलाई कुनै एउटा कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, पढेको कुरा सम्झन नसक्ने, एकाग्र भएर काम गर्न नसक्ने समस्या देखिन थालेको छ?
अझ दिनभर छटपटाउँदै मोबाइलमा कहिले फेसबुक र कहिले इन्स्टाग्राम र टिकटक त कहिले ह्वाट्सएप स्क्रोल गरिराख्नुपर्ने हुन्छ? यस्तो लक्षण देखिएको छ भने तपाईंलाई ‘पपकर्न ब्रेन सिन्ड्रोम’ भएको हुनसक्छ।
सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिलाई सताउने यो समस्याले मस्तिष्कलाई असर गर्नुका साथै सोच्ने र बुझ्ने क्षमतालाई नै असर गर्छ।
इन्टरनेटको बढ्दो प्रयोगसँगै मानिसमा बेचैनी, एकग्रताको कमी देखिन थालेपछि वैज्ञानिकहरुले यो पदावाली प्रयोग गर्न थालेका हुन्। सन् २०११ देखि डिजिटल माध्यमहरूबाट उत्पन्न मस्तिष्कको अत्यधिक उत्तेजना र ध्यान भंग हुने अवस्था बुझाउन यो शब्दको प्रयोग हुँदै आएको छ।

मोबाइलमा बढी समय बिताउने व्यक्तिको ध्यान पपकर्नका दानाझैँ चाँडो–चाँडो उफ्रँदै–उफ्रँदै जाने समस्या हुन्छ। यो पदावलीले सोही अवस्थालाई बुझाउँछ।
मोबाइल धेरै हेरेका कारण ध्यान केन्द्रित गर्नै नसक्ने, बेचैनी हुने, तनाव, निद्रा नलाग्ने समस्या बढेको चिकित्सकहरु बताउँछन्। यस्तो समस्या हुँदा मस्तिष्क एउटा कुरा देखेलगत्तै दोस्रो र तेस्रो कुरा हेर्न दौडिन्छ।
यो सिन्ड्रोमका कारण मस्तिष्कलाई हरेक समय केही नयाँ चाहिन्छ। जसका कारण मस्तिष्क पटकपटक नयाँ कुरामा जान खोज्छ। एउटै स्थानमा एकाग्र भएर बस्न सक्दैन।
कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, कुनै पनि काम गर्दा दबाब महसुस हुने, सिक्न र सम्झिन नसक्ने, नयाँ योजना बनाउन नसक्ने लक्षण देखिन्छ। यस्तै सिन्ड्रोमका कारण अरूको कुरा सुन्न समेत समस्या हुन्छ।
पपकर्न ब्रेन सिन्ड्रोममा मस्तिष्क बच्चाको जस्तै हुन्छ। जसरी बालबालिकालाई हरेक दिन नयाँ गतिविधि चाहिन्छ, त्यसैगरी पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित व्यक्तिलाई हरेक पल केही न केही नयाँ चाहिन्छ। यस्तो अवस्थामा मन अस्थिर हुन्छ र व्यक्तिमा ध्यान केन्द्रित हुँदैन।
चिकित्सकहरुका अनुसार पपकर्न सिन्ड्रोम कुनै शारीरिक रोग नभए पनि यसले स्मरण क्षमतालाई कमजोर बनाउँछ।
यसको असर युवा मात्र होइन, वृद्धवृद्धा, किशोरकिशोरी र बालबालिकामा समेत देखिएको छ। अनुसन्धान अनुसार जब मानिसको कुनै पनि कुरामा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ, उसलाई पपकर्न सिन्ड्रोम भएको मान्न सकिन्छ।
मोबाइलको अत्यधिक प्रयोगले ४७ सेकेन्डपछि मानिसको दिमागले अरू केही हेर्न वा अरुको सुन्न चाहने बन्दै गएको अध्ययनहरुले देखाएको छ।

वीर अस्पतालका न्युरो शल्यचिकित्सक डा राजीव झाका अनुसार पपकर्न ब्रेन सिन्ड्रोमबाट पीडित मानिसहरू कुनै पनि काममा ध्यान दिन सक्दैनन्। मन बेचैन रहने, पढेको याद नहुने, एक घण्टाभित्र आफूले गरेको क्रियाकलाप सम्झन नसक्ने समस्या देखिन्छ। यसले व्यक्तिको भावनालाई पनि असर गर्छ। सिन्ड्रोमको असर बढ्दै गए बिस्तारै सिकाइ र स्मरण शक्तिमा नकारात्मक असर पर्छ।
पपकर्न सिन्ड्रोममा मस्तिष्क ‘मल्टिटास्किङ’मा अभ्यस्त हुने एउटा कुरामा केन्द्रित हुन नसक्ने लत लाग्न थाल्छ।
पपकर्न सिन्ड्रोम विश्वभर चिन्ताको विषय बनेको छ। यसको असर बालबालिकामा समेत देखिन थालेको छ। जसका कारण अस्टे«लिया र फ्रान्स लगायतका देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउन थालेका छन्। बालबालिका र किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य जोखिमसँग सामाजिक सञ्जालको प्रयोग जोडिँदै गएको निष्कर्षलाई आधार बनाउँदै सरकारहरुले यस्ता कदम चालेका हुन्।
न्युरो शल्यचिकित्सक डा झाका अनुसार यो सिन्ड्रोमबाट बच्न मानिसले पहिले सामाजिक सञ्जालमा कति समय बिताउने भन्ने निर्णय गर्नुपर्छ। यसबारे समयतालिका नै बनाउनुपर्छ।
पपकर्न ब्रेन सिन्ड्रोमले मानव मस्तिष्कलाई कसरी असर गरिरहेको छ भन्ने विषयमा वीर अस्पतालका न्युरो शल्यचिकित्सक डा राजीव झाको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया